Kathmandu Press

प्रेम, यौन र उपभोक्तावाद

महिला र पुरुषबीच सम्बन्ध हुनु नै प्रेम होइन । प्रेम त एक अवधारणा हो, जुन खास युगमा खास प्रकारको हुन्छ । 

प्रेम, यौन र उपभोक्तावाद
रिवाज राई

महिला र पुरुषबीच सम्बन्ध हुनु नै प्रेम होइन । प्रेम त एक अवधारणा हो, जुन खास युगमा खास प्रकारको हुन्छ । 

सामन्तवादी युगमा प्रेम हुन्थेन, विवाह हुन्थ्यो । त्यो व्यवस्थामा मूलतः दुई प्रकारका विवाह हुन्थे – मागी विवाह र लुटी विवाह ।

महिलालाई बन्धनमा पारेर, श्रीमानप्रति जबर्जस्ती अनुराग एवं समर्पणको भाव पैदा गराएर र बच्चा जन्माउँन लाएर समाजलाई अघि बढाउँने व्यवस्था थियो, त्यो । त्यहाँ जोडी छनोट र सम्बन्ध विच्छेदको अधिकार थिएन । त्यहाँ समानतामा आधारित सम्बन्ध पनि थिएन । जोडीहरू धर्म, जात र रङको बन्धनमा हुन्थे । 

Hardik ivf

सामन्तवादभन्दा भिन्न छ – औद्योगिक पूँजीवाद । औद्योगिक पूँजीवादी समाजमा चार अवधारणाको विकास भयो । पहिलो – जोडी छान्ने अधिकार । दोस्रो – समानतामा आधारित सम्बन्ध । तेस्रो – छुट्टिने स्वतन्त्रता । र, चौथो –  सामन्तवादकालीन जातीयलगायत विभिन्न बन्धनबाट मुक्त सम्बन्ध । 

तर, औद्योगिक पूँजीवादकालको प्रेम अहिले एउटा यस्तो उपभोक्तावादी सम्बन्धमा परिणत हुँदैछ, जहाँ एकले अर्कालाई उपभोग मात्रै गर्छन् । अहिलेको प्रेम उपभोगको सिद्धान्तमा आधारित छ । जसरी पुरानो मोबाइल फोन फेरेर नयाँ किनिन्छ, त्यसरी नै प्रेम पनि फेरिन्छ । यसैले, अहिले प्रेम विघटनको प्रक्रियामा छ । प्रेमको विघटन समाजको पनि विघटन हो ।

भिडियोमा हेर्नुहोस्

पूँजीवादकै पनि विभिन्न चरण छन् । शुरुमा मर्कन्टाइल पूँजीवाद थियो । घर–घरै सामान पुर्‍याएर सेवा गरिन्थ्यो । त्यसपछि औद्योगिक पूँजीवाद आयो, जसले एक ठाउँमा उद्योग स्थापना गथ्र्यो र त्यहाँ गाउँ–गाउँबाट आएका मजदुरहरूले श्रम गर्थे । त्यसपछि साम्राज्यवादी पूँजीवाद आयो, जसमा एक देशले अर्को देशलाई उपनिवेश बनाउने क्रम सुरु भयो । अहिले हामी पूँजीवादको चौथो चरणमा छौँ, जसअन्तर्गत बहुराष्ट्रिय कम्पनीको नाउँमा विश्वभरिका पूँजीवादीहरू एक ठाउँमा आउँदैछन् । 

अहिलेको पूँजीवादमा समान पुरानो नहुँदै, काम नलाग्ने नहुँदै अर्को फेर्ने गरिन्छ । एउटा समान किन्न गयो, सात वटा किन्ने गरिन्छ । बजारले रुचिहरू निर्माण गरेर मानिसलाई उपभोक्तावादी बनाएको छ । अहिलेको पूँजीवादमा हाम्रो उत्पादन धेरै टिक्छ भनेर कसले विज्ञापन गर्दैन । अहिले समान बनाउँदा नै बिग्रिने मिति तोकेर बजारमा पठाइन्छ । यो बजारमा ‘यूज एण्ड थ्रो’को  सिद्धान्त लागु हुन्छ । र, यो उपभोक्तावाद प्रेमको सम्बन्धमा पनि लागु हुन्छ । प्रेममा पनि एकले अर्कालाई ‘यूज एण्ड थ्रो’ गर्न थालिएको छ । 

पूँजीवादका साँस्कृतिक उत्पादनहरूले प्रेम एकै अवधिमा एकभन्दा बढीसँग हुन्छ भन्ने भान पारिरहेका छन् । तर, प्रेम एक अवधिमा एक जनासँग मात्रै हुन्छ । किनकि, प्रेमको विकासको पनि एउटा छुट्टै प्रक्रिया हुन्छ, जसलाई विभिन्न संयोगहरूले प्रभावित पार्छन् । सामन्तवादी युगमा केटीले माथिबाट फालिदिएको माला जसको घाँटीमा पर्‍यो, उसैसँग उनको विवाह हुन्थ्यो । नेपालकै अछाम जिल्लामा पनि यस्तो चलन थियो । अर्थात्, प्रेमका लागि मिलन हुनुपर्यो। एउटै लयमा काम गर्ने संयोग जुर्नु पर्‍यो । त्यसपछि पुरुष र महिला एक अर्काप्रति आकर्षित हुन थाल्छन् । एक अर्कालाई बुझ्न थाल्छन् । प्रेम क्रमिक रुपमा विकास हुने कुरा हो । 

प्रेम एउटा प्रक्रिया भएकोले यसको एउटा अवधि हुन्छ । जसरी प्रेम एक प्रक्रिया हो, त्यसरी नै बिछोड पनि एक प्रक्रिया हो । प्रेम फक्रिन जसरी समय लाग्छ, त्यसरी नै बिछोड हुन पनि समय चाहिन्छ । यसर्थ, एक अवधिमा प्रेम एक जनासँग मात्रै हुन्छ । धेरै जनासँग एकैचोटि प्रेम हुँदैन । 

प्रेमको केन्द्रीय तत्व हो, यौन । प्रेमका विभिन्न रुप हुन्छन् । तर, यौन जोडिएको प्रेममा यौन नै केन्द्रमा हुन्छ । तर, यौनबिनाको प्रेम पनि सम्भव छ । जस्तै, मीराको जस्तो एकतर्फी आदर्श प्रेम । तर, त्यो भावुकतामा अडिएको प्रेम आम मानिसको हकमा लागु हुँदैन । आखिर एउटा आम मान्छेले एकतर्फी प्रेम गरेर जिन्दगी किन सिध्याउँछ ? जीवनको लक्ष्य प्रेम होइन । जीवनभित्र प्रेम हुन्छ । 

यौनसहित वा यौनरहित प्रेमबिना पनि जीवन सम्भव छ । जसरी यौनबिनाको प्रेम सम्भव छ, त्यसरी नै प्रेमबिनाको यौन पनि सम्भव छ । प्रेमपूर्ण जीवन बाँच्नेहरूमा स्फूर्ति हुन्छ । उनीहरू अलि बढी उज्यालो हुन्छन् । सक्रिय हुन्छन् । तर, प्रेमबिना पनि जिन्दगी चल्छ । 

पाँचौ शताब्दीतिर इङ्ल्याण्डका केही युवायुवतीहरुले फेब्रुअरी १४ का दिन फूल साटासाट गरेर भ्यालेन्टाइन डे मनाउँन थाले । जहाँ–जहाँ ब्रिटिश साम्राज्यवाद फैलियो, त्यहाँ–त्यहाँ बेलायतीहरूले भ्यालेन्टाइन सँस्कृति निर्यात गरे । इसाईहरूले भ्यालेन्टाइन डेलाई प्रणय पर्वको रुपमा मनाउँछन् भने त्यो उनीहरुको अधिकार हो । तर, यो अरुका लागि चाहिँ पर्व बन्न सक्दैन । किनकि, प्रेम कुनै निश्चित दिनमा मात्रै अभिव्यक्त हुने भाव होइन । हरेक फूल आफ्नै याममा फुल्छ । तर, सबै फूलहरु एकै दिन फुल्न सक्दैनन् । 

एक व्यक्तिको मुटुमा अर्को व्यक्तिका लागि संयोगवस र निश्चित प्रक्रियाअनुरुप प्रेम पलाउँछ । त्यस्तो प्रेम अर्को  व्यक्तिको हृदयमा पनि पलाउँनै पर्छ भन्ने हुँदैन । एउटाले अभिव्यक्त गरेको प्रेम अर्कोले स्वीकारेपछि मात्रै त्यसले पूर्णता पाउँछ । भ्यालेन्टाइन डेमा मैले प्रेम गर्नैपर्छ भन्नु औपचारिकतावाद हो । त्यो दिन मैले प्रस्ताव गर्नैपर्छ भन्नु प्रेमको प्राकृतिक प्रक्रिया होइन । भ्यालेन्टाइन डे इसाई मिसन भएकोले र इसाईहरूकै सँस्कृति भएकोले यो उनीहरूका लागि स्वभाविक होला, तर त्यो विज्ञानसम्मत छैन । 

जुन बेलादेखि नेपालको सत्ता (खासगरी राणाकालदेखि)ले बेलायती सत्ताको गुलामी गर्न थाल्यो, त्यसबेलादेखि त्यहाँको यहाँ आयात हुन थाल्यो । त्यस बेलादेखि नै हाम्रो सँस्कृतिमाथि विदेशी सँस्कृतिको आक्रमण सुरु भएको हो । हाम्रा दलाल सत्ताधारीहरूले नै विदेशी सँस्कृतिलाई हाम्रो सँस्कृति मिच्ने मौका दिए । यहाँसम्म कि, हाम्रा विश्वविद्यालयका पाठ्यक्रमहरू पनि विदेशी सँस्कृतिबाट प्रभावित हुन थालेका छन् । व्यापारीका लागि त भ्यालेन्टाइन डे व्यापार गर्ने मौका भइहाल्यो । 

भ्यालेन्टाइन डे मनाउँन चाहने नेपाली युवालाई रोक्न–छेक्न सकिँदैन । त्यो उनीहरूको अधिकार हो । तर, कसैको अधिकारको सम्मान गर्नुको अर्थ गलत कुराको आलोचना गर्न पाइँदैन भन्नु त होइन । यसैले, यो सँस्कृतिको आलोचना र युवामा साँस्कृतिक चेतको विकास आवश्यक छ । 

प्रकाशित मिति: ०७:१४ बजे, बिहीबार, फागुन २, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्