नेकपाले राजधानीमा जनयुद्ध दिवस नमनाउने
काठमाडौं, माघ २८ : नेकपाले २३औं ‘जनयुद्ध दिवस’ केन्द्रमा नमनाउने भएको छ । संघीय राजधानी
काठमाडौं, माघ २८ : नेकपाले २३औं ‘जनयुद्ध दिवस’ केन्द्रमा नमनाउने भएको छ । संघीय राजधानी काठमाडौं उपत्यकामा ठूलो कार्यक्रम नगरी प्रादेशिक स्तरमा मनाउने निर्णय गरेको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेल बसेर सोमबार बिहान मात्र ‘शहीदको सम्झना र सम्मानस्वरुप सातै प्रदेशमा’ मनाउने निर्णय गरेका हुन् ।
नेकपा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले दिएको जानकारीअनुसार, तत्कालीन नेकपा माओवादीले सशस्त्र संघर्ष घोषणा गरेको दिन फागुन १ गतेलाई सातै प्रदेशमा कार्यक्रम गरी मनाउन नेतासमेत तोकेको छ । “विगतको जनआन्दोलन र जनयुद्धको क्रममा शहादत प्राप्त गर्नुहुने अग्रज शहीदको सम्झना र सम्मानस्वरुप सातै प्रदेशमा मनाउने निर्णय भएको छ” श्रेष्ठले काठमाडौंप्रेससँग भने, “दुई जना अध्यक्ष र महासचिव बसेर उक्त भाषा तय गर्नुभएको हो ।”
श्रेष्ठका अनुसार, प्रदेश १ को कार्यक्रममा मुख्यमन्त्री शेरधन राई र नेता देवेन्द्र दाहाललाई तोकेको छ भने प्रदेश २ को मुख्य जिम्मा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डललाई दिइएको छ ।
त्यस्तै, प्रदेश ३ को जिम्मा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई दिइएको छ भने गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र किरण गुरूङलाई तोकिएको छ । प्रदेश ५ मा मुख्यमन्त्री शंकर पोखरेललाई जिम्मा दिइएको छ भने कर्णालीमा स्थायी कमिटी सदस्यहरू युवराज ज्ञवाली, यामलाल कँडेल र जनार्दन शर्मालाई खटाएको छ । त्यस्तै प्रदेश ७ मा स्थायी कमिटी सदस्य भीम रावललाई तोकेको छ ।
सातै प्रदेशमा आ–आफ्नै ढंगले सिजनात्मक हिसाबले विगतको जनआन्दोलन र जनयुद्धका शहीदलाई स्मरण गरी फागुन १ लाई सम्झने पनि उनले बताए । “काठमाडौंमा नेकपाका कार्यकर्ताहरू अटाउने ठूलो ठाउँ नै छैन । रंगशाला, सैनिक मञ्च, खुल्लामञ्च पनि सानो हुन्छ,” श्रेष्ठले भने, “त्यसैले काठमाडौं, ललितपुर, भक्तपुरमा स–साना कार्यक्रम गरेर शहीदको स्मरण गरिन्छ । घर–घरमै शहीदको स्मरण गर्ने ढंगले मनाउने छौं ।”
२०५२ फागुन १ गते वर्तमान नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहालको मुख्य नेतृत्वमा ‘सशस्त्र जनयुद्ध’ घोषणा भएको थियो । १० वर्ष लामो सशस्त्र द्वन्द्वमा करिब १७ हजार नेपालीको ज्यान गएको थियो । जसमध्ये राज्यपक्षबाट १४ हजार र माओवादीतर्फबाट करिब तीन हजार मारिएको तथ्यांक छ । २०६३ मंसीर ५ गते शान्ति–सम्झौताबाट द्वन्द्व अन्त्य भएको घोषणा गरिएको थियो ।
विगतमा साविकको नेकपा माओवादी केन्द्रले काठमाडौंमा आमसभा र जुलुश गरी जनयुद्ध दिवश मनाउने गरेको थियो । एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण गरी नेकपा बनेपछिको यो पहिलो ‘जनयुद्ध दिवश’ हो ।
माओवादीले सशस्त्र ‘जनयुद्ध’ गर्दाको विद्रोही माओवादी र त्यतिबेला सरकार चलाएको एमालेबीच एकतासँगै जनयुद्ध दिवशलाई ‘जनआन्दोलन र जनयुद्धका शहीदलाई स्मरण गर्ने दिन’ का रूपमा मनाउने निर्णय भएको छ । जिल्ला स्तरमा भने ‘२३औ महान जनयुद्ध दिवश’ भनेर नै कार्यक्रम गर्ने तयारी रहेको झापाका सांसद् एलपी साँवाले जानकारी दिए ।
पूर्वमाओवादीलाई ‘जनयुद्ध दिवश’ सामान्य लागे पनि साविकका एमाले नेताहरूलाई भने ‘जनयुद्ध दिवश’ भन्न अप्ठेरो मानेर कुराकानी गर्ने गरेका छन् ।