Kathmandu Press

नेकपाभित्र सल्कँदैछ भुसको आगो 

काठमाडौं, चैत २६ :  साङ्गठनिक एकीकरणको तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको द्वन्द्व सतहमा शान्तजस्तो देखिए पनि भित्रभित्रै....

नेकपाभित्र सल्कँदैछ भुसको आगो 
स्केच: रवि श्रेष्ठ

काठमाडौं, चैत २६ :  साङ्गठनिक एकीकरणको तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको द्वन्द्व सतहमा शान्तजस्तो देखिए पनि भित्रभित्रै भुसको आगोजस्तै सल्किरहेको छ। सो पार्टीका दुबै अध्यक्षले सार्वजनिक रूपमा नेकपा स्थापना दिवस पारेर बैशाख ९ गते एकीकरण पूरा भएको घोषणा गर्ने बताइरहे पनि आन्तरिक विवाद तीव्र भएको हो।

पार्टीका दुबै अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालबीच पटक–पटकको छलफलपछि साविक एमाले र माओवादी केन्द्रबीचको भागवण्डा मिलेको छ। त्यसपछि दुबै अध्यक्षहरूले अन्य नेताहरूसँग छलफल थालेका छन्।  दुबैै अध्यक्षले साविकको एमालेका उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरिसकेका छन्। गौतमनिकट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार, भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई भनेका थिए, ‘तपाईंबारे चिन्तित छु, तपाईंले मिलाइदिनुपर्‍यो।’

प्रधानमन्त्री ओलीले ‘तपाईंका मान्छे कसलाई के गरिदिनुपर्‍यो’ भन्ने ढंगले प्रस्ताव गरेपछि गौतमले जवाफ दिएका थिए,‘व्यक्तिगत रूपमा मेरो लागि व्यवस्थापन गर्नु आवश्यक छैन। पार्टी विधिअनुसार चल्नुपर्छ। मापदण्ड तयार पारौँ। त्यो अनुसार साङ्गठनिक एकताका बाँकी काम पूरा गरौँ।’ ओलीले गौतमलाई आग्रह गर्दा दाहाल भने मौन बसेको ती केन्द्रीय सदस्यको दाबी छ।

Hardik ivf

अध्यक्ष पुष्पकमल दाहालले दुई अध्यक्ष र पूर्व प्रधानमन्त्री वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति गरी साङ्गठनिक एकता टुङ्गो लगाउने प्रस्ताव गरेका थिए। तर, अर्का अध्यक्ष ओलीले भने साविक  एमाले महासचिव ईश्वर पोखरेलसँग पनि सहमति खोज्नुपर्ने बताएको अर्का एक केन्द्रीय नेताले बताए। त्यसैमुताविक हिजो सोमबार वरिष्ठ नेता नेपाल र पोखरेलसँग छलफल गर्ने कार्यक्रम तय थियो। वरिष्ठ नेता नेपाल बिरामी परेकाले छलफलमा नगएको पनि उनले जानकारी दिए। 

साङ्गठनिक एकताबारे साविकको एमाले वरिष्ठ नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भने वास्ता गरिएको छैन। गत वर्ष जेठ ३ गते पार्टी एकताको घोषणा गर्दा उपचारका लागि चीनमा रहेका बेला नेपाललाई उनीभन्दा वरिष्ठ बनाइएको थियो। नेपालले विधि र वरिष्ठताको कुरा गर्दा अध्यक्ष ओलीले उनलाई ‘त्यसो भए त जेएनजीलाई तेस्रो मर्यादा दिनुप¥यो नि त’ भन्दै व्यङ्ग्यसमेत गर्ने गरेका छन्।

एक नेताले दिएको जानकारीअनुसार, दुई अध्यक्षले वरिष्ठ नेता नेपालसँग छलफल गरी टुंगो लगाउनेबारे कुराकानीका क्रममा पोखरेलसँग पनि बेग्दै छलफल गर्न ओलीले प्रस्ताव गरेपछि ‘सिङ्गै सचिवालय बसेर प्रस्ताव टुङ्गो लगाए भैहाल्यो नि’ भन्ने कुरा पनि आएको छ। सचिवालयले तयार पारेको प्रस्तावलाई पार्टी स्थायी कमिटीले पारित गरेपछि मात्र एकीकरण टुङ्गो लाग्ने प्रक्रियामा यसअघि नै सहमति भएको छ।

साविक एमालेका पाँच लाख र माओवादी केन्द्रका तीन लाख गरी करिब आठ लाख सदस्य भएको दाबी गरिने नेकपा विगत एक वर्षदेखि नौ जना नेता रहेको केन्द्रीय सचिवालयमा सीमित बन्दै गएको छ। पार्टीको करिब साढे चार सय जना सदस्य रहेको जम्बो केन्द्रीय कमिटी त छ। तर, जिम्मेवारी तोकिएको छैन। एकीकृत प्रदेश कमिटी गठन गर्दा विवाद भएको छ। प्रदेश नम्बर १ र ३ का प्रदेश कमिटीले यसै महिना सपथग्रहण त गरे तर छुटेका भनिएका नेतालाई त्यसमा समेटिएको छैन।  

पार्टीको स्थायी कमिटी गत एक वर्षमा तीन पटक बसेको छ। संसदीय दलको बैठक आक्कलझुक्कल डाकिए पनि दुई अध्यक्षले भाषण गर्ने र बाँकी सदस्यहरूले ताली बजाएर सकिने गरेको छ। कोही पनि सांसद्ले त्यहाँ बोल्न पाएका छैनन्। पार्टीको पोलिटब्युरोको गठन नै भएको छैन। केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन छैन। केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिष्ट मञ्चको गठन नै भएको छैन। राष्ट्रिय परिषद्मा सदस्यहरूको मनोनयन भएको छैन। काठमाडौं उपत्यकामा बन्ने प्रदेश स्तरीय विशेष कमिटीको गठन भएको छैन।

जिल्लासहित मातहत कमिटीहरूको एकीकरण अझै हुन सकेको छैन। जनवर्गीय सङ्गठनहरूको एकीकरण बाँकी छ। प्रवासका सङ्गठनहरूको एकीकरण र सम्पर्क कमिटी एवं मञ्चहरूको एकीकरणलगायत साङ्गठनिक एकीकरणका काम बाँकी छ। उक्त सबै बाँकी काम गर्न गत पुसमा बसेको स्थायी कमिटीमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको दबाबपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा गठन गरिएको रामबहादुर थापा बादल संयोजक रहेको कार्यदल बनाइए पनि कामै गर्न नदिई संयोजकले कार्यदल विघटन भएको घोषणा गरेका थिए। बादल कार्यदलभन्दा अघि गठन भएका विभिन्न कार्यदलले जिल्ला नेतृत्वसहितको सिफारिस त्यसै थन्किएको छ।

नाम लेख्न डराउने उपत्यकाका एक केन्द्रीय सदस्यले भने, ‘नेकपा स्थापना दिवस (बैशाख ९) मा साङ्गठनिक एकता टुङ्ग्याएको घोषणा गर्ने त दुबै अध्यक्षले भाषण गर्दै आउनुभएको छ तर खै, जेठ ३ गते पार्टी एकता दिवससम्ममा चाहिँ टुङ्गो लाग्छ कि!’ अहिले अध्यक्ष प्रचण्ड सङ्गठनमा आफ्नो हिस्सा सुरक्षित गरेर बसेका छन्। पार्टी संगठनमा अध्यक्ष ओली जत्तिकै उपस्थितिको दाबी गर्दै आएको माधवकुमार नेपाल पक्ष भने निकै ‘आक्रामक’ देखिएको छ। यो पक्षले संस्थापनले पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै आएको छ। ओली पक्षका एक केन्द्रीय सदस्यले भने,‘चुनाव ओलीले जित्ने अनि नेपालले समान हिस्सेदारी खोज्न मिल्छ?’ 

तर, नेपाल पक्षको तर्क बेग्लै छ। ‘केन्द्रीय अध्यक्ष जितेको ओलीले नै हो । हामी मान्छौँ तर ४७ जिल्ला अध्यक्ष हाम्रो पक्षले जितेको छ। जितेका जिल्ला अध्यक्षलाई पाखा लगाएर हारेका मान्छेलाई जिल्ला नेतृत्वमा ल्याउन हामी दिन्नौँ। यस्तो हामी मान्दैनौँ’, नेपाल पक्षका केन्द्रीय सदस्यले भने। यो विवाद यति चर्को छ कि यसले एकतालाई निकै पछि धकेल्न पनि सक्ने ओली पक्षका ती केन्द्रीय सदस्यले बताए। 

प्रकाशित मिति: १६:१५ बजे, मंगलबार, चैत २६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्