जिब्रोमा च्वास्स बस्ने लाफिङ
मोमो र चाउमिनपछि अहिले अर्को तिब्बती स्वाद नेपाली जिब्रोमा बस्दैछ – लाफिङकाठमाडौं – ओल्टाइ–पल्टाइ मेन्यु हेरे पनि अर्डर गर्ने बेलामा चाहिँ नेपालीहरूले मोमो वा चाउमिनबाहेक अर्थोक अर्डर गर्दैनन् रे!
तर, नेपालीहरूले आफैलाई गर्ने यो व्यंग्य अलि पुरानो भइसकेको छ। किनकि, अचेल उनीहरूको मेन्युमा मोमो र चाउमिनसँगै लाफिङ पनि थपिएको छ।
हो, लाफिङ। जिब्रोमा च्वास्स बस्ने यो चिसो नुडल्सको क्रेज अहिले काठमाडौंमा तीव्र रुपमा फैलिँदैछ। खासगरी युवायुवतीहरू लाफिङ भनेपछि हुरुक्कै हुन्छन्।
काठमाडौंको बौद्धस्थित हिमालय टेस्टी लाफिङ सेन्टरमा जिब्रो फड्कार्दै लाफिङ खाइरहेकी पेमा हेङ्छेग भन्छिन्, ‘खाइसकेपछि पनि लाफिङको स्वाद जिब्रोमा बसिरहन्छ र अझै खाउँखाउँ लाग्छ।’
लाफिङ खासमा चिसो नुडल्स हो। आफैमा यसको कुनै स्वाद हुँदैन। तर, लसुन र टिमुर घोलिएको हल्का अमिलो–पिरो अचारमा डुबाइएपछि लाफिङको स्वादै बेग्लै! जिब्रोमा च्वास्स बसिरहने!

तिब्बती टेस्ट
सन् १९५० मा चीनले तिब्बत कब्जा गरेपछि बेइजिङको शासन स्वीकार नगर्ने तिब्बतीहरूले पुर्ख्याैली थलो छाडे। हिमालय पर्वतश्रृंखलाका विभिन्न साँघुरो खोंच र गल्छी हुँदै नेपाल छिरे। कोही यतै बसे। कोही भारतको धर्मशाला पुगे।
तिब्बतीहरू आफूमात्रै नेपाल आएनन्, आफूसँगै केही तिब्बती परिकारका रेसिपिहरू पनि ल्याए। तीमध्ये सबैभन्दा लोकप्रिय भयो – मोमो । अचेल मोमोबिनाको मेन्यु नै अधूरो हुन्छ।
तिब्बतीहरूले नै ल्याएको अर्को परिकार पनि मोमोजस्तै लोकप्रिय भयो – चाउमिन। हुन त चाउमिन तिब्बती नभई चिनियाँ परिकार हो। तिब्बतीहरूले पनि चिनियाँबाटै चाउमिन बनाउन–खान सिकेका हुन्। तर, नेपालमा चाउमिनलाई लोकप्रियता दिलाउने श्रेय चाहिँ तिब्बतीहरूलाई नै जान्छ।
तिब्बतबाट नेपाल भित्रिएका मोमो र चाउमिनको मौलिक स्वाद कस्तो थियो भन्ने चाहिँ धेरै नेपालीलाई थाहा छैन। किनकि, अधिकांश नेपाली रेष्टुरेण्टहरूले नेपाली पाराकै मोमो र चाउमिन बेच्छन्।

मोमो र चाउमिनपछि अहिले अर्को तिब्बती स्वाद नेपाली जिब्रोमा बस्दैछ – लाफिङ। यो अमिलो–पिरो नुडल्स मोमो र चाउमिन जत्तिकै लोकप्रिय बन्ला कि नबन्ला भन्न सकिँदैन। तर, पछिल्लो एक दशकमै लाफिङ युवा पुस्तामाझ निकै लोकप्रिय भइसकेको छ।
चाउमिन जस्तै लाफिङ पनि तिब्बतको मौलिक परिकार नभई चीनको निर्यात भएको मानिन्छ। चीनबाट तिब्बत हुँदै लाफिङ नेपाल छिरेको हो। चिनियाँ शब्द लिङ र फेन मिलेर लाफिङ बनेको हो। लिङ अर्थात् लाच्या, जसको अर्थ हुन्छ – पिरो। फेन भनेको चाहिँ विशेष प्रकारको नुडल्स हो।
लाफिङको केन्द्र – बौद्ध
काठमाडौंको बौद्ध स्तूपावरपर तिब्बती मूलका नेपालीहरूको बाक्लो बसोबास छ। तिब्बती शरणार्थीहरू पनि प्रायः यतै बस्छन्। यसैले, बौद्ध क्षेत्रमा धेरै लाफिङ पसलहरू खुलेका छन्।
नेपालमा सुरुमा कसले लाफिङ बेच्न थाल्यो भन्ने यकिन छैन । तर, बौद्धको हिमालय टेस्टी लाफिङ सेन्टर काठमाडौंकै पुरानो लाफिङ रेष्टुरेण्टमध्ये एक हो। यो लाफिङ रेष्टुरेण्टकी सञ्चालिका छोइङ ह्योल्मो पहिले एउटा सानो पसलमा चिया–नास्ता बेच्थिन्। लाफिङबारे उनलाई थाहै थिएन।

ग्यास बालेर भित्ता कालो पारेको भन्दै घरबेटीले सधैं छोइङसँग किचकिच गर्थे। ग्यास नबाली चिया कसरी बनाउने ! नास्ता कहाँ पकाउने ! बौद्ध क्षेत्रमा पसल गर्ने अर्को ठाउँ भेट्नु पनि साह्रै गाह्रो थियो।
एक दिन उनले थाहा पाइन् – आफ्ना श्रीमानका तिब्बती साथीहरू बौद्धमा लाफिङ बेच्दा रहेछन्। त्यस बेलासम्म लाफिङ खासै लोकप्रिय भइसकेको थिएन। प्रायः तिब्बती र शेर्पाहरूले मात्रै लाफिङ खान्थे।
छोइङले पनि सन् २००९ मा लाफिङ बेच्ने निधो गरिन्। उनले अरुबाटै लाफिङ किनेर ल्याउँथिन्। लसुन–टिमुरको अचार भने आफै बनाउँथिन्। बिस्तारै उनको पसलमा लाफिङ खानेहरूको भीड बढ्न थाल्यो। स्कूल–कलेज जाने विद्यार्थीहरू बेलुकीपख उनकै पसलमा झुम्मिन थाले।
बिस्तारै उनले चिया–नास्ताको सट्टा लाफिङ मात्रै बेच्न थालिन्। उनी भन्छिन्, ‘त्यसबेला लाफिङ मात्रै बेच्ने रेष्टुरेण्टहरू थिएनन्। अहिले त धेरै खुलिसकेका छन्।’
लाफिङ बिक्री बढेपछि उनले २ जना कामदार पनि राखेकी छिन्। उनी अचेल लाफिङ आफैं बनाउँछिन्। पहिलेजस्तो अन्तबाट किनेर ल्याउँदिनन्। उनको रेष्टुरेण्टमा सधैं ताजा लाफिङ पाइन्छ।
उनी भन्छिन्, ‘कतिले बासी लाफिङ पनि बेच्छन्। बासी लाफिङको स्वादै खल्लो हुन्छ। बासी लाफिङको स्वाद चाखेर बिच्केका ग्राहकले फेरि कहिल्यै ताजा लाफिङ पनि नखालान् कि भन्ने मलाई चिन्ता छ।’
लाफिङ बनाउने तरिका
लाफिङ पहेँलो र सेतो गरी २ थरीका हुन्छन्। चनाबाट बनेको लाफिङ सेतो हुन्छ। मैदाको चाहिँ पहेँलो । कसैकसैले आलुको पिठोबाट पनि लाफिङ बनाउँछन्। तर त्यसको स्वाद चनाको पिठोको जस्तो मिठो हुँदैन। लाफिङ बनाउन चना वा मैदाको पिठो मुछेर एकरात राखिन्छ र भोलिपल्ट त्यसलाई मोमो पकाएजस्तै स्टिम गरिन्छ।
लाफिङ सुख्खा पनि हुन्छ। झोलमा मिसाइएको पनि। रोटी जस्तो गोलाकार लाफिङलाई रोल गरी बढीमा ८ पिससम्म काटिन्छ। त्यो रोलभित्र टोफु वा मसौराका स–साना टुक्रा हालिन्छन्।
सानो कचौरामा पानी हालेर त्यसमा नुन, रातो खुर्सानीको पेस्ट, भेनेगर, सोया सस, लसुन र टिमुर मिसाइन्छ। यसरी तयार हुने अमिलो–पिरो अचारमा लाफिङलाई मज्जाले डुबाइन्छ।
जसरी मोमो र चाउमिनको नेपालीकरण भयो, त्यसरी नै लाफिङको पनि नेपालीकरण भइरहेको छ। नेपाली जिब्रो अनुसार कसैले लाफिङमा चाउचाउ र चिप्स पनि हाल्न थालेका छन्, जसले लाफिङलाई झन् तिक्खर र टेस्टी बनाउँछ।
हिमालय टेस्टी लाफिङ सेन्टरकी छोइङ ह्योल्मो भन्छ्नि, ‘कसैले त लाफिङमा मासु पनि मिसाउँछन् रे, म चाहिँ मासु मिसाएर लाफिङको मौलिक स्वाद बिगार्न चाहन्न।’












