भोकभोकै बादी
तत्काल जीविकोपार्जनको भरपर्दो विकल्प नदिने हो भने बादी समुदायलाई भोकै मार्ने ‘अपराधी’ का रुपमा सरकारलाई दोष लाग्नसक्छ ।दैलेख सदरमुकाम नारायण नगरपालिका–१० बाट ठ्याक्कै तलतिर भिरालो पाखो छ । त्यही पाखामा जस्तापाताले छाएको एउटा बस्ती छ, जहाँ ४० घरधुरी दलित परिवार बस्छन् । तीमध्ये ३५ घर बादी समुदायको छ ।
तिनैमध्येको एक हो, धनकला बादी (५९) को परिवार । १ छोरा बुहारीसहित पाँच जनाको यो परिवारसँग न ढुक्कले निदाउन सक्ने घर छ, न कमाइखाने जमिन । छाक टार्न छोराबुहारीको कमाइले मात्र पुग्दैन, त्यसैले यो उमेरमा पनि उनी सकीनसकी काम खोज्न निस्कन्छिन् ।
जीविकोपार्जनको भरपर्दो विकल्प नदिने हो भने बादी समुदायलाई भोकै मार्ने ‘अपराधी’ का रुपमा सरकारलाई दोष लाग्नसक्छ ।
तर, दिन पहिलेजस्तो कहाँ छ र !
धनकलासँग झल्झली सम्झना मात्र छ । सानोछँदा बा र त्यसपछि श्रीमानसँग गाउँ, बस्ती गाउँदै, नाँच्दै हिडेको, कमाइ गरेको र त्यसैले घर चलाएको ।
‘पहिले नाँच्थ्यौ, गाउथ्यौं, गाउँ गाउँ पुग्थ्यौं । मिठो खान र राम्रो लगाउन पाइन्थ्यो । अब नाँच्ने, गाउँने सबै बन्द भयो, त्यसैले समस्या पर्यो’, धनकला भन्छिन् ।
८ वर्षकै उमेरदेखि नाँचगान थालेकी धनकला बाआमासँग कर्णालीका जुम्ला, कालिकोटसँगै सेती अञ्चलको अछामसम्म पुगिन् । ‘नाँच्दै गाउँदै हिँडदा कहाँ बस्ने, के खाने ठेगान नै हुँदैनथ्यो, तर, अहिले जस्तो के खाउँ, लाउँ भन्ने चिन्ता पनि थिएन’, उनी सम्झन्छिन् ।
धनकला अहिले घर नजिकै आइपुगेको सडकका गाडीबाट सामान झारे बापत कहिले दिनको २ सय कमाउँछिन्, कहिले ३ सय । गिट्टी फोड्ने र बालुवा बोक्ने काम पनि गर्छिन । तर, सधैं यी काम पनि पाइँदैन ।
यही बस्तीकै डिलसरा बादी ( ४० ) ले पनि नाच्न छोडेको धेरै भइसक्यो । तर, सम्झना भने हराएको छैन । ‘बाले सारंगी बजाउने आमाले गीत गाउँने अनि म नाँच्ने, कम्ती रमाइलो थिएन । हाम्रो नाँचगान हेर्न पूरै गाउँ झुम्मिन्थ्यो,’ उनी भन्छिन् ।
नाच्ने, गाउँने काम छाडेदेखि मन परेको लुगा पनि लगाउन नपाएको उनको अनुभव छ । मिठोमसिनो पेटभभरि खान पाउनु त परैको कुरा ।
डिलसराका अनुसार, अहिले नाँचगान बादीकै भन्ने मात्र भएन । नयाँ नयाँ कलाकार जन्मिए, सबैले टिभी हेर्न थाले । ‘जमाना फेरियो, अब हामीले नाचेको कस्लाई पो मन पर्छ र ?,’ उनी भन्छिन् ।
धनकला र डिलसरा जस्तै गुनासो छ, भविसराको पनि । ‘नाचेर गाएर पेट पाल्ने चलन नै हराइसक्यो । तर, अरु काम गरेर खान हातमा सिप छैन । कमाइ खाने जग्गा छैन, हाम्रो जस्तो आपत् कस्लाई पनि होला र ?,’ उनको दुःखेसो छ ।
बाध्यताको यौनकर्म
२०६८ सालको जनगणना अनुसार, नेपालमा बादीको जनसंख्या ३८ हजार ६ सय ३ रहेको छ । तर, वादी समुदायका अगुवा भने, यो संख्या ९० हजारको हाराहारीमा रहेको दावी गर्छन् ।
दलितभित्र पनि अति पिछडिएको अल्पसंख्यक बादी समुदायको परम्परागत पेशा भनेकै घुमिघुमि नाचगान गर्ने, बाद्यवादनका सामग्री (मादल, ढोल र तबला आदि) निर्माण गर्ने, सुल्पा, चिलिम र टरिया बनाउने हो । पहिले अहिले जस्तो कलाकारहरु थिएनन्, प्रविधिको विकास पनि भइसकेको थिएन । वादी समुदाय नै थिए, जसले टाढा टाढासम्म पुगी नाँचगान गर्थे, अभिनय गर्थे । हरेक शुभकार्य, चाँडपर्वमा मनोरञ्जनका लागि बादी समुदायलाई पनि बोलाइन्थ्यो । यसो गरे वापत् वादीहरुलाई अन्न, पैसा, लुगाफाटा दिने परम्परा थियो ।
बादी अगुवा अर्जुन वादी आधुनिकतामा पहुँच नभएकै कारण आफ्नो समुदायका पेशा संकटमा परेको बताउँछन् । उनी भन्छन्, ‘पेशा पनि छैन, जमिन पनि छैन । त्यसैले पेट पाल्न धौ धौ परेको छ,’ उनी भन्छन् ।
नाँचगान पेशाबाट जीवन चलाउन नसकिएकै कारण बादी समुदायका कतिपय महिला खुलेआम यौनकर्ममा लागेका थिए । उनीहरु आफ्नै र कतिपयका लागि बादी समुदायको प्रमुख पेशा भन्नु नै ‘यौनकर्म’ बनेको पनि थियो । तर, सरकारले २०६५ पुस २३ गते बादी समुदायलाई ‘यौन शोषण मुक्त समुदाय’ घोषणा गर्यो । र, बादी समुदायको सम्मानजनक पुनस्र्थापनाका लागि २०६९ बैशाख १५ गते ‘बादी समुदाय उत्थान विकास समिती’ समेत गठन गर्यो । तर, समितिले आफ्ना दुःख सम्बोधन नगरेको बादी समुदायले भनाइ छ ।
परम्परागत पेशा पुनर्स्थापना गर्छु
बादी समुदायको परम्परागत पेशालाई पुनर्स्थापना गर्नुपर्छ । यसो गर्न सके मात्र बेरोजगार, भूमिहीन बादी समुदाय आत्मनिर्भर हुनसक्छन् । तर, यसो गर्न सजिलो भने छैन । त्यसैले पनि समितिले बादी समुदायको बसोबास बढी रहेको प्रदेश नम्बर ५, ६ र ७ मा आयआर्जनका लागि विभिन्न कार्यक्रम गरेको छ ।
समिति गठन भएको ७ वर्षको अवधिमा शिक्षा क्षेत्रमा पहुँच नभएका बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्दै समुदायमा चेतनामूलक कार्यक्रम गरियो भने उच्च शिक्षा हासिल गरिरहेका ३६ जना बादी समुदायका बिद्यार्थिहरुलाई छात्रवृत्ति सहयोग गरियो । यस्तै, करिब ३ सय जनालाई तालिम दिएर आत्मनिर्भर बनाइयो ।
यौन व्यवसायमा लागेका बादी महिलाहरूलाई लक्षित गर्दै ४० जना महिलालाई सीप सिकाएर एक लाख रकम अनुदान पनि दिएको छ । उनीहरु अहिले बाख्रा पालन, कुखुरापालन, लगायत विभिन्न व्यावसाय गरिरहेका छन् ।
यस्तै बादी समुदायका बेरोजगार युवाहरुलाई समूह बनाएर अटो रिक्सा वितरण गरेको छ । निजामती कर्मचारी नभएकाले यो समुदायका व्यक्ति पनि संलग्न हुन भन्दै लोकसेवा तयारी कक्षा सञ्चालन गरेको दुइ आर्थिक वर्षमा ५० जना युवालाई लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ ।