Kathmandu Press

सरकार भन्छ – पहिले मुटु बिगार, अनिमात्रै उपचार !

सामान्य उपचार र रोकथामको भरमै बाथ मुटु रोगबाट जोगिन सकिन्छ । यो रोग लागेमा २० रुपैयाँमै किन्न सकिने पेन्सिलिन सूईले मात्रै पनि निको हुन्छ । तर, यति सस्तो उपचार विधितर्फ सरकारको ध्यानै गएको छैन । बरु, सरकार बाथ मुटु रोगबाट बिग्रिएका भल्भ फेर्ने खर्च व्यहोर्न तयार छ ।
सरकार भन्छ – पहिले मुटु बिगार, अनिमात्रै उपचार !
रिवाज राई

काठमाडौं, माघ १० : रगत छादिरहेकी १४ वर्षीया किशोरी देखेपछि मुटु विशेषज्ञ डा.प्रकाश राज रेग्मी झस्किए । काठमाडौंमा ‘लडाइ लगभग जितियो’ भनेर फुरुङ्ग भएका उनी जाजरकोट अस्पतालको दृश्य देख्दा भने झसङ्ग भए । उनलाई लाग्यो, ‘लडाइ जित्न त बाँकी नै रहेछ ।’

स्वास्थ्य शिविरका लागि पाँच महिनाअघि जाजरकोट सदरमुकाम खलङ्गा पुगेपछि मात्रै उनलाई तीन दशकदेखिको लडाइ पूरा नभएको थाहा भयो । बाथ मुटु रोगसँगको लडाइ काठमाडौं लगायतका शहरमा जितिए पनि गाउँमा भने बाँकी नै रहेको महसुस गरे ।

 

Hardik ivf

डा.रेग्मीलगायतका मुटु विशेषज्ञहरूले सन् १९८८ मा नेपाल हृदयरोग निवारण प्रतिष्ठान (नेपाल हार्ट फाउन्डेसन) को स्थापना गरेका थिए । प्रतिष्ठानको मुख्य उद्देश्य थियो, बालबालिकालाई बाथ मुटु रोगबाट बचाउने ।तीन दशकमा प्रतिष्ठानले बाथ मुटुरोग नियन्त्रण गर्न आवश्यक नीति–निर्माणको पक्षमा वकालत  गर्यो। जनचेतनामूलक अभियानहरू सञ्चालन गर्यो। रोकथाम र उपचारका कार्यक्रमहरू पनि सञ्चालन भए ।

बाथ मुटु रोगसम्बन्धी प्रतिष्ठान स्थापना भएको दश वर्षपछि सन् १९९० मा एक अध्ययन गरिएको थियो । त्यो अध्ययनले ५ देखि १६ वर्ष उमेरका प्रत्येक एक हजार स्कूले बालबालिकामध्ये दुई जनामा वाथ मुटु रोग देखायो । सन् २०१३ मा गरिएको अर्को अध्ययनले प्रत्येक एक हजार स्कूले बालबालिकामध्ये ०.८ जनामा मात्रै बाथ मुटु रोग देखायो ।

त्यही अध्ययन सार्वजनिक भएपछि हो, डा. रेग्मीलाई बाथ मुटु रोगविरुद्धको लडाइँ लगभग सकिएजस्तो लागेको । तर, केही महिना अघि जाजरकोटको खलङ्गामा रगत छाँदिरहेकी किशोरी भेटेपछि भने उनी झस्किए । उनलाई लाग्यो, ‘बाथ मुटु रोगविरुद्धको लडाइँले काठमाडौंजस्ता शहरमा मात्रै सफलता पाइरहेको रहेछ, दुर्गम गाउँमा त अझै पनि धेरै बालबालिका ज्यान गुमाउँदै रहेछन् ।’

किन छादिन् किशोरीले रगत ?

ती किशोरीलाई सात वर्षकै उमेरमा घाँटी दुख्न थालेको रहेछ । उनी नुनिलो र मन तातो पानीले मुख कुल्ला गर्थिन् । केही दिन घाँटी दुख्न छाड्थ्यो । तर, फेरि व्यथा बल्झिन्थ्यो ।

केही वर्षपछि हात–खुट्टाका जोर्नीहरू दुख्न र सुन्निन थाले । गाउँकै एक वैद्यले जडीबुटीको लेप लगाइ दिए । जसले केही दिन दुखाई कम गथ्र्यो । तर, फेरि उही व्यथा बल्झिन्थ्यो ।

चैत, २०७४ मा उनले रगत बान्ता गरिन् । त्यसपछि उनलाई जाजरकोट जिल्ला अस्पताल ल्याइयो । चिकित्सकले क्षयरोग भएको अनुमान गरे । एक्स–रे गराए । क्षयरोग देखिएन् । त्यसपछि सामान्य औषधि दिएर घर पठाए ।

घरमा झन् सकस हुँदै गयो । र उनलाई तीन महिनापछि फेरि अस्पताल ल्याइयो, गत जेठमा । त्यही बेला डा. रेग्मीको नजर उनमा प¥यो । डा. रेग्मीले उनको एक्स–रे रिपोर्ट हेर्ने बित्तिकै थाहा पाए, यो त बाथ मुटु रोग हो ।

डा.रेग्मीले तत्काल काठमाडौं लैजान सल्लाह दिए । उनको काठमाडौंमा मुटुको भल्भ फेरियो । अहिले उनी गाउँ फर्किएकी छन् ।  ‘‘मेरो सम्पर्कमा नआएकी भए सायद उनी बाँच्ने थिइनन्,’’ डा.रेग्मी भन्छन, ‘‘उनी के रोग लागेर मरिन् भन्ने पनि उनको परिवार, जाजरकोटका वैद्य र डाक्टरलाई पनि थाहा हुदैन्थ्यो ।’’

एक हजारले ज्यान गुमाउँदै

जाजरकोटकी किशोरी त बाँचिन्, तर देशका कयौं बालबालिका थाहै नपाएर बाथ मुटु रोगले ज्यान गुमाइरहेका छन् । नेपालमा ५ देखि १६ वर्ष उमेरका करिब एक हजार बालबालिकाको बाथ मुटु रोगका कारण प्रत्येक वर्ष मृत्यु भइरहेको डा. रेग्मी बताउँछन् ।

डा.रेग्मी र प्रतिष्ठानले बिभिन्न समयमा गरेको अध्ययनले यसरी थाहै नपाएर ज्यान गुमाउने अधिकांस बालबालिका दुर्गम जिल्लाका र गरिब छन् । जाजरकोटमा डा. रेग्मीले गरेको एक अध्ययनअनुसार, एक हजार बालबालिकामध्ये सात जना बाथ मुटु रोगबाट पीडित छन् । त्यस्तै, काठमाडौंमा पनि एक हजार बालबालिकामध्ये एकदेखि दुईजनामा बाथ मुटु रोग पाइएको छ ।

२० रुपैयाँमै निको हुने

सामान्य उपचार र रोकथामको भरमै बाथ मुटु रोगबाट जोगिन सकिन्छ । यो रोग लागेमा २० रुपैयाँमै किन्न सकिने पेन्सिलिन सूईले मात्रै पनि निको हुन्छ । तर, यति सस्तो उपचार विधितर्फ सरकारको ध्यानै गएको छैन । बरु, सरकार बाथ मुटु रोगबाट बिग्रिएका भल्भ फेर्ने खर्च व्यहोर्न तयार छ ।

सरकारले सन् १९९८ मा बाथ मुटु रोगबाट बिग्रिएका भल्भको निःशुल्क शल्यक्रिया गरेको थियो । तर, यो सुविधा १५ वर्षभन्दा मुनिका र ७५ वर्षभन्दा माथिका मुटु रोगीलाई मात्रै उपलब्ध थियो । दुई वर्षअघि गगन थापा स्वास्थ्य मन्त्री भएको बेला सरकारले सबैका लागि यो सुविधा निःशुल्क ग-यो ।

बाथ मुटु रोगीको भल्भको शल्यक्रियाका लागि सरकारले वार्षिक ३० करोड रुपैयाँ खर्च गर्दै आएको छ । तर, रोगको रोकथाममा चाहिँ एक पैसा खर्च गरेको छैन ।

“यो त सरकारले जनतालाई मुटु बिग्रेपछि मात्रै मकहाँ आऊ र त्यसपछि मात्रै म तिम्रो उपचार गर्दिन्छु भनेजस्तो भयो,” डा.रेग्मी भन्छन् ।

वार्षिक एक करोड रुपैयाँमात्रै रोकथाममा खर्चिन हो भने बाथ मुटु रोगीको संख्या आउँदो १० वर्षमा ५० प्रतिशतले घट्ने उनको भनाइ छ । 

प्रकाशित मिति: १३:०६ बजे, बिहीबार, माघ १०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्