ला मासियाः <br>फुटबल खेलाडी उत्पादन गर्ने कारखाना
ला मासिया साँच्चै एक उर्वर खेत हो, जहाँ मेसीजस्ता महान् फुटबलरहरू उम्रिन्छन् । यो साँच्चै एक खानी हो, जहाँबाट जाभीजस्ता जादूगरहरूनिक्लिन्छन् ।

काठमाडौं, माघ ४ : यूरोपमा प्रायः हरेक व्यवसायिक फुटबल क्लबको आफ्नै एकेडेमी छ, जसले कुशल फुटबलरहरू जन्माउँछ । तर, वार्सिलोनासँग फुटबल एकेडेमी छैन – ला मासिया छ ।
हुन त ला मासिया फुटबल एकेडेमी नै हो । तर, यो त्योभन्दा धेरै थोक हो । यो फुटबल स्कूलमात्र होइन, एक दर्शन पनि हो । अरु एकेडेमीहरू फुटबल खेल्न सिकाउँछन् । ला मासियाले फुटबल खेल्नमात्र होइन, फुटबल बाँच्न पनि सिकाउँछ ।
अरु एकेडेमीहरू फुटबल खेल्न सिकाउँछन् । ला मासियाले फुटबल खेल्नमात्र होइन, फुटबल बाँच्न पनि सिकाउँछ ।
यसैले हो, वार्सिलोना पछिल्लो दशक ला लिगाको सबैभन्दा सफल फुटबल क्लब बनेको ।
ला मासियाले विश्वकप विजेता र च्याम्पियन्स लिगका हिरोहरू मात्र होइन, पाँच पटकसम्म ‘बेलोन डि’अर’ जित्ने लियोनल मेसीसमेत जन्माएको छ । 
स्पेनको क्याटलन भाषामा ला मासियाको अर्थ हुन्छ, खेती–घर । स्पेनिस भाषामा ला मासियालाई क्यान्टेरा अर्थात् खानी भनिन्छ । ला मासिया साँच्चै एक उर्वर खेत हो, जहाँ मेसीजस्ता महान् फुटबलरहरू उम्रिन्छन् । यो साँच्चै एक खानी हो, जहाँबाट जाभीजस्ता जादूगरहरू निक्लिन्छन् ।
ला मासियामा युवा खेलाडीले फुटबलको प्रशिक्षणबाहेक औपचारिक शिक्षा पनि पूरा गर्छन् । ला मासियाको छाप लागेका खेलाडीहरू संसारभर नै प्रभावशाली र प्रसिद्ध छन् ।
वार्सिलोनाका पूर्वखेलाडी, प्रशिक्षक तथा ला मासियाकै उत्पादन पेप ग्वोर्दिओला भन्छन, “ला मासियाबाट निस्किएका खेलाडीहरू अरूभन्दा भिन्न र प्रभावशाली हुन्छन् । बच्चैदेखि बार्सिलोनाको जर्सी लगाएर प्रतिस्पर्धा गरे मात्रै यस्तो हुन्छ ।’
ला मासियाको दा कान प्लानेस भनेर चिनिने मूल भवन सन् १७०२ मा बनाइएको एउटा प्राचीन ‘फार्महाउस’ हो । बार्सिलोनाको रंगशाला ‘काम्प नोउ’ सन् १९५७ मा खुलेको हो । यसलाई ला मासियानजिकै निर्माण गरिएको थियो । सुरुमा यो वार्सिलना क्लबको प्रधान कार्यालय थियो । यसलाई सन् १९७९ मा बार्सिलोना बाहिरका युवा खेलाडीको छात्रावासमा रूपान्तरण गरियो । कालान्तरमा यो विश्वप्रख्यात एकेडेमीमा परिणत भयो ।
सन् २०११ मा ला मासियालाई पुरानो ठेगाना करेर दा ला माटरनटबाट सान् जुवान् देस्पीस्थित ला सिउटाट इस्पोर्टिभा जुवान गाम्पर सारियो । पाँच तला र ६ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको नयाँ ट्रेनिङ कम्प्लेक्स ११ मिलियन यूरोमा बनेको हो । यहाँ ८३ जना खेलाडी अटाउँछन् । विद्यार्थीको लागि आवासबाहेक भवनमा व्यायाम कक्ष, मसाज कक्ष, श्रव्यदृश्य केन्द्र, कक्षाकोठाहरू, एउटा भान्छा र खेल मैदानजस्ता अत्याधुनिक पूर्वाधारहरू उपलब्ध छन् ।
लियोनेल मेसी सन् २००३–०४ ताका ला मासियाबाटै उदाएका हुन् । उनी अहिले वार्सिलोना टिमको राजा सरह हुन् । उनलाई नै केन्द्रमा राखेर वार्सिलोनाले हरेक खेल रणनीति बुन्छ ।
जाभी, आन्द्रेस इनिएस्टा, कार्लोस पुयोल, जेरार्ड पिके, सर्जियो बुस्केत्स र जोर्डी अल्बा पनि ला मासियाकै उत्पादन हुन् ।
फाब्रिगासले ला मासिया छाडेर आर्सनलबाट प्रिमियर लिग खेल्न गए । उनी सन् २०११ मा बार्सिलोना फर्किए । पेपे रेना, बोजन कोर्किच, भिक्टर भाल्देस, थियागो आल्कान्टारा, हेक्टर बेलेरिन र रफिन्हा पनि ला मासियाकै उत्पादन हुन् ।
वर्षौंदेखि यति धेरै स्टार खेलाडीहरू यसको आँगनबाट निस्किनु ला मासियाको महत्वको सबुत हो । सबैले काम्प नोउमा लामो क्यारियर नबनाए पनि धेरैले स्पेन र अन्य देशका क्लबहरूमा आफूलाई अब्बल सावित गरेका छन् ।
सन् २०१२ मा एउटा रोचक घटना भयो । लेभान्टेविरूद्ध वार्सिलोनाले मैदानमा पठाएका सबै खेलाडी ला मासियाका उत्पादन थिए । उक्त खेलमा ड्यानी आल्भेस घाइते भएर मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा ला मासियाबाटै प्रशिक्षित ब्राजिलका मार्टिन मोन्टोयालाई मैदानमा पठाइयो । उनीसँगै भाल्देस, अल्बा, पुयोल, पिके, बुस्केट्स, जाभी, इनियस्टा, फाब्रिगास, पेद्रो र मेसीले लेभान्टेविरूद्ध खेलेका थिए ।
ला मासिया मा भर्ना हुनु अत्यन्तै कठिन छ । एफसीबीएस्कोला कार्यक्रमअन्तर्गत क्लबले प्रत्येक वर्ष ६ देखि ११ वर्षका खेलाडी छनोट गर्छ । छनोटमा परेका युवा प्रतिभाले ला मासिया भर्ना हुन पाउँछन् ।
बार्सिलोना एउटा विश्वव्यापी उद्योग बनेको छ । स्वाभाविक रूपमा विश्वका उत्कृष्ट खेलाडी पत्ता लगाउनु क्लबको उद्देश्य हो । क्लबले अनुबन्ध गरेका खेलाडीहरू ला मासियामा बस्छन् । स्थानको अभाव भए वैकल्पिक आवासको पनि व्यवस्था छ ।
एजेन्सीको सहयोगमा
मेसीबारे रोचक तथ्य
मेसीले सन् २०१९ को लिगमा चार सयौंं गोल गरे । पहिलो गोल सन् २००५ मा अल्बासेटीविरूद्ध गरेका थिए ।
उनी ला लिगाका सबैधन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनले सन् २०११÷१२ को एउटै सिजनमा ५० गोल गरेका छन् । यो आफैंमा अर्को कीर्तिमान हो ।
मेसीले लगातार ११ सिजनसम्म १५ भन्दा धेरै गोल गरेका छन् । उनले पिचिचि अवार्ड पाँच पटक जितेका छन् । टेल्मो जार्राले सर्वाधिक ६ पटक पिचिचि अवार्ड जितेका छन् ।
तथ्यांकको आधारमा मेसी प्रतिखेल अर्थात् हरेक ९० मिनेटमा एक गोल गर्छन् । सन् २०१२÷१३ को सिजनमा उनले प्रत्येक ५७ मिनेटमा एक गोल गरेका थिए ।
लिगका चार सय गोलमध्ये मेसीले दुई सय ३१ वटा गोल काम्प नोउमा गरेका छन् । मेसीले ४९ वटा पेनाल्टी र फ्रि–किकबाट २८ गोल गरेका छन ।
मेसीलाई लुईस स्वारेजले सर्वाधिक असिस्ट गरेका छन् । मेसीले सबैभन्दा धेरै गोल सेल्भियाविरूद्ध गरेका छन् । डियगो आल्भेसले सबैभन्दा धेरै गोल खाएका छन् ।
जोसेफ ग्वार्दिओलाको प्रशिक्षक हुँदा मेसीले लिगमा सबैभन्दा धेरै गोल गरेका छन्
उनले लिगमा ३१ वटा ह्याट्रिक गरेका छन् ।
मेसीले सयभन्दा धेरै गोल खेलको ७५ देखि ९० मिनेटमा गरेका छन् ।
एजेन्सीहरुको सहयोगमा












