के तपाईं तौल घटाउन घण्टौं उभिनुहुन्छ ? यो पढ्नूस् !
काठमाडौं, पुस २२ : धेरैलाई लाग्छ – जति उभियो, त्यति नै क्यालोरी बर्न हुन्छ । यसैले, कतिपय मानिस सकेसम्म धेरै उभिन खोज्छन् ।
तर, क....

काठमाडौं, पुस २२ : धेरैलाई लाग्छ – जति उभियो, त्यति नै क्यालोरी बर्न हुन्छ । यसैले, कतिपय मानिस सकेसम्म धेरै उभिन खोज्छन् ।
तर, के साँच्चै उभिँदा वा उभिएर काम गर्दा धेरै क्यालोरी बर्न हुन्छ त ? हुन्छ, तर आम मानिसले सोचे जति चाहिँ हुँदैन । एक नयाँ अध्ययनले यस्तै सङ्केत गरेको छ ।
बेलायतको युनिभर्सिटी अफ बाथ र क्यालिफोर्नियास्थित वेस्टमाउन्ट कलेजका वैज्ञानिकहरुले हालै एक अध्ययन गरेका छन्, जसको निचोड छ – बसेरभन्दा उभिएर काम गर्दा धेरै क्यालोरी बर्न त हुन्छ, तर खासै धेरै होइन । यसैले, धेरैभन्दा धेरै घण्टा उभिएर धेरैभन्दा धेरै क्यालोरी बर्न गर्ने र तौल घटाई स्वस्थ हुने आम मानसिकतामै सन्देह प्रकट भएको छ ।
यो निचोड निकाल्ने वैज्ञानिकहरुले सामान्य वजन भएका ४६ जना महिला र पुरुषमा एक अध्ययन गरेका थिए । अध्ययनमा सहभागीमध्ये १० जना अमेरिकी र बाँकी बेलायती थिए । अध्ययनमा सहभागीहरूले दैनिक रुपमा बर्न गर्ने क्यालोरीको हिसाब गरिएको थियो ।
अध्ययनले सुत्दाभन्दा बस्दा करीब ३ प्रतिशत धेरै क्यालोरी बर्न हुने र बस्दाभन्दा उठ्दा करीब १२ प्रतिशत धेरै क्यालोरी खपत हुने देखायो ।
बस्दा र उठ्दा बर्न हुने क्यालोरीको मात्रामा खासै धेरै अन्तर नरहेकोले धेरैभन्दा धेरै समय उभिएर दुब्लाउने सोंच बनाएका मानिसको चाहना पूरा नहुने भनाई युनिभर्सिटी अफ बाथका प्रोफेसर जेम्स बेट्सको छ । उनले नै यो अनुसन्धानको नेतृत्व गरेका हुन् ।
सबैभन्दा रोचक चाँहि सहभागीमध्ये केहीले बसेर र उभेर नै अरुभन्दा बढी क्यालोरी खपत गरेका थिए । त्यसरी बस्दा वा उभिदाँ हलचल वा चलमलाउनु नै मुख्य कारण भएको वैज्ञानिकहरुले बताएका छन् । ती सहभागीहरुले नियमित रुपमा व्यायाम पनि गर्ने गरेका छन् ।
“शारीरिक रुपले तन्दुरुस्त र सक्रियहरु बढी हलचल गर्ने सम्भावना धेरै हुनसक्छ,” डा. बेट्सले भने ।
बेट्स भन्छन्, “उभिएर वजन घट्छ भन्नु त भ्रममात्रै हो । तर, उभिँदा थप तौल बढ्ने सम्भावना चाहिँ कम हुन्छ ।”
एजेन्सीको सहयोगमा