दुई दिल्लीको कथा : धनीलाई शुद्ध हावा, गरीबलाई दूषित
इको–इटरी!
एउटा आलिशान ‘फुड कोर्ट’ छ। ‘भर्टिकल गार्डेन’ले भित्ताहरू छपक्कै छन्। यहाँ हावा पनि विशेष किसिमका ‘फिल्टर’....
इको–इटरी!
एउटा आलिशान ‘फुड कोर्ट’ छ। ‘भर्टिकल गार्डेन’ले भित्ताहरू छपक्कै छन्। यहाँ हावा पनि विशेष किसिमका ‘फिल्टर’ भएर आउँछ। बाहिरको धुलो–धुँवाले केही फरक पार्दैन क्या गज्जब!
सफा र शुद्ध हावाबाहेक यहाँ आधुनिक ‘मेन्यु’ पनि उपलब्ध छ। तर यस्ता ‘इको–इटरी’ अर्थात् वातावरणमैत्री रेस्टुरेन्टको आनन्द जोकोहीले लिन सक्दैनन्।
हो, असाध्यै महँगा छन्। वर्षैभरि धुलो र धुँवाको कुइरीमण्डलले ढाकिने शहरमा प्रदूषणबाट उम्किने कुनै उपाय नभएका गरिबको पहुँचभन्दा बाहिर छन्।
लान्सेट प्लानेटरी हेल्थले गरेको अध्ययन अनुसार वायु प्रदूषणले प्रत्येक वर्ष दश लाख भारतीयको ज्यान लिन्छ। नयाँ दिल्ली सबैभन्दा ‘विषाक्त’ शहरमध्ये एक हो। यहाँ विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तोकेको मापदण्डभन्दा बढी प्रदूषण छ।
तर के गर्नु ? रामावतार सिंह यो प्रदूषणबाट भागेर कहाँ जाऊन्! शहरका अधिकांश गरिबजस्तै उनी पनि बाहिरै खान्छन्, सुत्छन् र काम गर्छन्।
‘म दिनमा छदेखि आठ घण्टा काम गर्छु । छोराछोरी पनि धेरैजसो बाहिरै खान्छन् र सुत्छन्,’ पाँच सन्तानका पिता सिंहले भने। उनी सडकछेउको ठेलामा दालभात खाँदै थिए।
सिंह रिक्साचालक हुन्। दिल्लीको एउटा कुनादेखि अर्काे कुनासम्म कहिले यात्रु बोक्छन्, कहिले मालमत्ता ढुवानी गर्छन्! कठोर परिश्रम गर्छन्। त्यही परिश्रम गरेर काम गर्दा उनको फोक्सोमा भने हानिकारक कण प्रवेश गरिरहेका हुन्छन्।
साह्रै धमिलो दिनहरूमा बढी भए एउटा टालोले अनुहार छोप्लान्। उनीजस्ता लाखौं मजदुर र रिक्सा चालकसँग भएको सस्तो उपाय नै कपडाको टालो हो। तर यसले उनीहरूको रगतमा ती खतरनाक प्रदूषकलाई पस्नबाट रोक्न सक्दैन।
‘स्मग’ अर्थात् धुलो र धुँवाको कुहिरो। अक्टोबरदेखि फेब्रुअरीसम्म दिल्लीको स्मग डब्ल्युएचओको पिएम २.५ मापदण्डभन्दा बढी हुने गर्छ। कहिलेकाहीँ त सुरक्षित मानकभन्दा २० गुणा बढी पनि हुन्छ। पिएम अर्थात् ‘पार्टिकुलेट म्याटर’ आँखाले देख्न नसकिने हावामा मिसिएका मसिना कण हुन् जसले स्वास्थ्यमा ठूलो जोखिम निम्त्याउँछ।
प्रदूषित हावामा लामो समय बस्नु विनाशकारी हुने विशेषज्ञहरूले चेतावनी दिएका छन्। यसले दीर्घरोग निम्त्याउँछ। कतिपय अवस्थामा त अल्पायुमै ज्यान पनि जानसक्छ।
छिटोमीठो ‘अक्सिन शट’
शहरको अर्काे कुनामा अभिमन्यु मवतलाल ‘लञ्च’ खान बसेका छन्। उनी वल्ड मार्क एरोसिटीको एउटा फुड कोर्टमा छन्। यो एउटा भव्य व्यावसायिक केन्द्र हो। यहाँ ‘प्युरिफाइड’ हावा पाइन्छ।
रिक्साचालक सिंहको मासिक परिश्रमिकले यहाँ एक छाक खान धौ–धौ हुन्छ। तर मवतलाल यो मुल्य चुकाउन तयार छन् किनभने बाहिरको स्मग ‘खतरनाक’ स्तरमा छ।
‘मलाई यहाँ खान मनपर्छ । यहाँ आउनु भनेको छिटोमीठो ‘अक्सिजन शट’ लिए बराबर हो,’ मवतलालले भने। उनी एउटा कार्यालयमा काम गर्छन्। उनी बसेको रेस्टुरेन्ट वरिपरि हरिया लहराहरू बेरिएका छन्। एउटा कृत्रिम खोलो पनि बगिरहेको छ। महँगा फिल्टरबाट हावा सञ्चार भइरहेको छ।
‘कंक्रिटको यो जंगलमा हरियाली ल्याउन र सबैका लागि ताजा हावामा सास फेर्ने स्थान सिर्जना गर्न आवश्यक छ,’ भारती रियाल्टीका, प्रमुख कार्यकारी अधिकृत एस.के सयालले जोड दिए । वल्डमार्क एरोसिटी यही कम्पनीको स्वामित्वमा छ।
दिल्लीका धनाढ्यहरू प्रदूषणको खतराबारे बढी सुसूचित छन्। उनीहरू बाहिर निस्कदाँ पनि घरमा भएजस्तो सुरक्षा खोज्छन्।
महँगा रेस्टुरेन्ट, बार र सिनेमाघरले उनीहरूको माग पूरा गर्न थालेका छन्। हावा शुद्धिकरण गर्ने विद्युतीय उपकरण जडान हुँदैछ। हावामा भएको ‘टक्सिन’ शुद्धिकरण गर्न हरियाली सिर्जना भइरहेको छ।
तर सिंहजस्ता भारतीयका लागि यस्तो स्थानसम्म पुग्नु सपना मात्रै हो किनभने प्रत्येक पाँचमध्ये एक भारतीय दैनिक दुई अमेरिकी डलरभन्दा थोरै खर्चमा जीविका चलाउँछन्।
‘एक छाकमै सबै कमाइ उडाएँ भने म के गर्नु ? परिवारलाई के ख्वाउनु ?’ सिंह भन्छन् । उनी मासिक करिब बाह्र सय भारतीय रूपैयाँ अर्थात् १७ अमेरिकी डलर जति कमाउँछन्।
घरपरिवार सुरक्षित राख्न उनी विदेशमा बनेका, दिल्लीका ‘एलिट’, ‘एक्सप्याट’ र कर्मचारीले रूचाएका महँगा ‘एयर प्युरिफायर’ किन्न सक्दैनन्। सिंहको वार्षिक कमाइले पनि पुग्दैन।
‘धनी र गरिब दुवैले त्यही एउटै विषाक्त हावामा सास फेर्नुपर्छ । तर प्रदूषणको मारमा गरिब नै धेरै छन्,’ ग्रिनपिस इन्डियाका अभियन्ता सुनिल दहिया भन्छन्।
‘विषाक्त हावाले स्वास्थ्यमा पारेको प्रभावबारे उनीहरूलाई पत्तो हुँदैन । गरिब सुमदाय नै बढी जोखिममा छन्।’
जततउकस्ररधधध।बाउ।अयmरभलरलभधकरडद्दटरतबभि(तधय(मभजिष्क(मभबमथि(बष्च(भहउयकभक(चष्अज(उययच(मष्खष्मभ(मयअ(ज्ञाछठष्ज्ञिरुादअष्मि.क्ष्धब्च्घएक्ष्ब्ठउक(थ्उढ)डकध्ज्ञब्द्धपढध्बऋतग्द्दह्ग्न्मवकःभ्ख्उडनम्एढह्)भ्टनश्ध्ग्प्श्पिगऊण्