Kathmandu Press

चीन–भारतसँगै अमेरिकी र युरोपेली बहुराष्ट्रिय कम्पनी आउँदै

काठमाडौं, चैत १४ : नेपालमा लगानी जुटाउन सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा ४० देशका ६ सय ३० भन्दा बढी लगानीकर्ता सहभागी हुने भएका छन् । काठमाड....

चीन–भारतसँगै अमेरिकी र युरोपेली बहुराष्ट्रिय कम्पनी आउँदै
काठमाडौं प्रेस

काठमाडौं, चैत १४ : नेपालमा लगानी जुटाउन सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा ४० देशका ६ सय ३० भन्दा बढी लगानीकर्ता सहभागी हुने भएका छन् । काठमाडौंको होटेल सोल्टीमा शुक्रबार बिहान सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ७७ परियोजनामा ३० खर्ब लगानी गर्न आह्वान गर्ने छन्।

उत्पादकत्व, रोजगारी र पूँजीवृद्धिका लागि लगानी सम्मेलन गर्न लागिएको जनाएको छ । सम्मेलनमा लगानीकर्तासँगै ६ सयकै संख्यामा स्वदेशी पनि सहभागी हुनेछन्।

सम्मेलनमा लगानीकर्ता, कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि स्वदेशी र विदेशी गरी एक हजार दुई सयभन्दा बढी प्रतिनिधि सहभागी हुने लगानी बोर्डले जनाएको छ।

Hardik ivf

प्रधानमन्त्री केपी शर्मा ओलीले सोल्टी होटलमा शुक्रबार बिहान ९ बजे सम्मेलनको उद्घाट्न गर्ने कार्यक्रम छ । ओलीले नेपालमा लगानी गर्न आह्वान गर्ने छन्।

चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेनलको सम्पूर्ण तयारी पूरा भएको सरकारले जनाएको छ । शुक्रबार र शनिवार सम्मेलन हुने भए पनि बुधवारदेखिनै काठमाडौंमा विदेशी पाहुना भित्रिन थालेका हुन्।

अधिकाँस विदेशी पाहुनाहरू बिहीबार साँझसम्ममा काठमाडौं अवतरण गरिसक्ने छन् । केही लगानीकर्ताहरू भने बुधवारदेखिनै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूसँग नेपालका लगानीका क्षेत्रहरू विषयमा औचपारिक र अनौपचारिक छलफल गरिरहेका छन्।

लगानी बोर्डका उपाध्यक्ष तथा अर्थमन्त्री डा.युवराज खतिवडाले बुधवार निजी क्षेत्रसहित सम्पूर्ण सरोकारवाला निकायलाई सहयोग गर्न अपीलसमेत गरेका थिए।

३० खर्ब बढीको लगानी सूची

लगानी बोर्डले कृषि, पर्यटन, उर्जा, पूर्वाधार गरेर २६ अर्ब ५१ करोड ५० लाख अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ ३० खर्बभन्दा बढीको लगानी आह्वानको सूचि तयार पारेको छ । जसमा ५० वटा सार्वजनिक परियोजनाको रुपमा लगानी आह्वान गर्ने तयारीे छ । निजी क्षेत्रतर्फबाट २७ वटा परियोजनामा लगानी आह्वान गर्ने तयारी गरिएको बोर्डले जनाएको छ।

बोर्डले लगानी सम्मेलनका अन्तिम दिन अर्थात शनिवार १२ वटा परियोजनामा दुई पक्षीय लगानी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम समेत तयार पारेकोे छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले सम्मेलनका सिलसिलामा ११÷१२ वटा काउन्टर पार्टसँग मिटिङ पनि राखिने जानकारी दिए । उनले भने, ‘हामीले परियोजनाहरूको लागतका विषयमा विज्ञ टोली बनाएर नै निकालेका हौँ ।’ परियोजनाको अनुमानित लागत मात्रै निकालेकाले सम्झौता भएपछि विस्तृत अध्ययन गरेर छुट्टै लागत अनुमान निकाल्नेसमेत अधिकारीले बताए।

परियोजनाका अवसर र चुनौतीबारे १० वटा सत्रमा छलफल गर्ने तयारी गरिएको छ । जसमा पहिलो दिन शुक्रबार पाँच वटा विषयमा छलफल हुनेछ।

छलफलमा नेपालका निजी क्षेत्रका प्रतिनिधिसहित मन्त्रीहरू र विदेशी विज्ञहरूले आफ्नो अनुभव र अवसरबारे छलफल गर्नेछन् । पहिलो दिन ‘नेपालमा लगानीका अवसर’ विषयक छलफल सत्रमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित अर्थ मन्त्रालयका राजस्व हेर्ने सचिव लालशंकर घिमिरे र उद्योग–वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले छलफलमा भाग लिने छन्।

‘आर्थिक रुपान्तरणका लागि ऊर्जा उत्पादन’ विषयक अर्को सत्रमा उर्जामन्त्री वर्षमान पुनसहित मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर सागरराज गौतम, योजना आयोगका सदस्य कृष्णप्रसाद ओली र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफ्ना विचार राख्ने छन । त्यस सत्रमा भारतका केन्द्रीय विद्युत् नियमन आयोगका सचिव सनोजकुमार झा, पावर चाइनाका महाप्रबन्धक सङ डोङसेन र उर्जा प्रबद्र्धक ज्ञानेन्द्रलाल प्रधान पनि सहभागी हुने कार्यक्रम छ।

सूचना प्रविधिसम्बन्धी अर्को सत्रमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासहित मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्र, अमेजन इन्डियाका प्रमुख चन्द्र बलानी र सुमिटोमाका महाप्रबन्धक महासिरो मियासिटालगायत छलफलमा सहभागी हुनेछन् । सोही सत्रमा माइक्रोसफ्ट एसिया प्रशान्तकी महानिर्देशक सोनिया वासिर कविर र आशुतोष तिवारीले पनि भाग लिने कार्यक्रम छ।

‘नेपालमा पर्यटनको अवसर’ शीर्षकमा योजना आयोगका सदस्य रामकुमार फुयालसहित नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, प्राध्यापक ग्लेन म्याककार्ट्नी, सिल्भर हेरिटेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभर र द्वारिकाज ग्रुप अफ होटल्सकी प्रबन्ध निर्देशक संगीता श्रेष्ठले छलफल गर्ने छन्।

‘उद्योग स्थापनाको अवस्था र सम्भावना’बारे उद्योगमन्त्री मात्रिका यादव, सचिव यमकुमारी खतिवडा, सूर्य नेपालका महाप्रबन्धक अभिमन्यु पोदार, गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छा, हवासिङ सिमेन्टका उपाध्यक्ष छु गाङ र पञ्चकन्या ग्रुपका महाप्रबन्धक प्रदीपकुमार श्रेष्ठले छलफलमा सहभागिता जनाउने छन्।

उद्घाटन सत्रमा एक दर्जन वक्ता

उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित म्यानमारका लगानी तथा वैदेशिक आर्थिक सम्बन्धमन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टविग स्याफरले विचार राख्ने छन् । सम्मेलनमा निजी र वित्तीय निकायका प्रतिनिधिलाई वक्ताका रुपमा निम्त्याइएको छ।

एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंकअन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभूतिसम्बन्धी निकायका प्रमुख कार्यकारी केइको होन्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लङेस, एसियाली पूर्वाधार लगानी बैंकका लगानी उपाध्यक्ष डोङ लीले पनि बोल्ने कार्यक्रम छ।

सबैभन्दा धेरै चीनियाँ

लगानी सम्मेलनमा ४० देशका ६ सय ३० लगानीकर्ता सहभागी हुदैँछन् । लगानी बोर्डका अनुसार चीनबाट सबैभन्दा बढी दुई सय नौ जना लगानीकर्ता आउने छन्।

त्यस्तै भारतबाट एक सय १० जना सहभागी हुनेछन् । म्यानमारबाट २८ जना सहभागिता सम्मेलनमा जनाउने छन् । म्यानमारका विदेशमन्त्रीले लगानी सम्मेलनमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै, जापानबाट २०, दक्षिण कोरियाबाट १५, ओमानबाट १३, अमेरिकाबाट ११, श्रीलंकाबाट १०, क्यानडाबाट नौ, बेलायतबाट नौ र मलेसियाबाट नौ जना सहभागी हुने छन् । सिंगापुरबाट समेत नौ जना र अन्य देशबाट ६५ जना सहभागी हुने टुंगो लागेको छ।

 

 

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, चैत १४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्