आर्सनलका पूर्वप्रशिक्षक एम्री भिल्लारियलका प्रमुख प्रशिक्षकमा नियुक्त
काठमाडौं, साउन ८ : स्पेनिस क्लब भिल्लारियलले युनाई एम्रीलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ। भिल्लारियलले तीन वर्षका लागि एम्रीलाई मुख्य प्रशिक्ष....

काठमाडौं, साउन ८ : स्पेनिस क्लब भिल्लारियलले युनाई एम्रीलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ। भिल्लारियलले तीन वर्षका लागि एम्रीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो।
एम्रीलाई आर्सनलले २०१९ को नोभेम्बरमा बर्खास्त गरेको थियो। त्यसयता बेरोजगार रहेका एम्री पुनः प्रशिक्षणमा फर्किएका हुन्।
‘क्लबले युनाई एम्रीसँग आगामी तीन सिजनका लागि मुख्य प्रशिक्षककारुपमा सम्झौता गरेको छ। एम्री विश्वफुटबलमा अनुभवी प्रशिक्षक हुन्। उनले पिएसजी, आर्सनल जस्ता शीर्ष स्तरका क्लब सम्हालिसकेका छन्। उनले ला लिगालाई राम्ररी बुझेका छन्। उनी सेभिल्ला र भ्यालेन्सियाका समेत प्रशिक्षक बनिसकेका छन्,’ क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
२००७–०८ सिजनमा एम्री भ्यालेन्सियाको प्रशिक्षक थिए। उनले भ्यालेन्सियामा चार सिजन बिताएका थिए। जहाँ उनले तीन सिजन तेस्रो स्थानमा रहँदै लिग सकाएका थिए। उनले क्लबलाई प्रत्येक सिजन च्याम्पियन्स लिगमा छनौट गराएका थिए।
सन् २०१३ मा उनले सेभिल्लाको बागडोर सम्हालेका थिए। उनले लगातार तीन युईएफए यूरोपा लिग जितेर किर्तिमानसमेत बनाएका थिए।
सेभिल्लापछि पिएसजी पुगेका उनले एक लिग वान, २ कोपा डि फ्रान्स जितेका थिए। पिएसजीपछि आर्सनल पुगेका उनले क्लबलाई २०१८–१९ को सिजनमा यूरोपा लिगको फाइनलसम्म पर्याएका थिए। तर, फाइनलमा आर्सनल चेल्सीसँग पराजित बन्न पुग्यो।
भिल्लारियलले ला लिगाको पाँचौ स्थान रहँदै यो सिजन सकाएको थियो। आगामी सिजनमा भिल्लारियलले यूरोपा लिग खेल्नेछ।











