Kathmandu Press

सरकार कामभन्दा समय बिताउनेतर्फ केन्द्रित भयो : सांसद राई

सांसद राईले किसानका समस्या समाधान गर्न तथा बाँदर नियन्त्रण र व्यवस्थापनका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताए। त्यस्तै, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई लालपुर्जा तथा धनीपुर्जा दिने विषयमा सरकारले घोषणा गरेअनुसार काम हुन नसकेको उनले बताए। 
सरकार कामभन्दा समय बिताउनेतर्फ केन्द्रित भयो : सांसद राई

काठमाडौं, असोज १५ : श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले जनताका समस्या समाधान गर्न परिणाममुखी काम गर्न नसकेको आरोप लगाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले सरकारले फ्री भिसा, फ्री टिकट, किसानका समस्या, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीको समस्या, शिक्षा, सडक र महँगी नियन्त्रणलगायत विषयमा प्रभावकारी काम गर्न नसकेको बताए।

उनले लाखौँ नेपाली युवा बाध्यताले विदेशिनुपर्ने अवस्था अन्त्य गर्न सरकारले रोजगारी सिर्जना र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनुपर्ने बताए। सरकारले फ्री भिसा र फ्री टिकटको व्यवस्था गरेको भनिए पनि युवाहरूले विदेश जान लाखौँ रुपैयाँ तिर्नुपर्ने अवस्था कायमै रहेको उनले बताए। 

सांसद राईले किसानका समस्या समाधान गर्न तथा बाँदर नियन्त्रण र व्यवस्थापनका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताए। त्यस्तै, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई लालपुर्जा तथा धनीपुर्जा दिने विषयमा सरकारले घोषणा गरेअनुसार काम हुन नसकेको उनले बताए। 

उनले सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या पटक–पटक उठाए पनि त्यसअनुसार परिणाममुखी काम हुन नसकेको बताए। समय बित्दै जाँदा समस्याहरू समाधान गर्नुभन्दा दोषारोपणमा अल्झिन नहुने भन्दै उनले सरकारलाई काममा केन्द्रित हुन आग्रह गरे।

आफ्नो जिल्ला खोटाङका सडक, अलपत्र योजना तथा सञ्चार सेवाको समस्या पनि उनले सदनमा उठाए। खोटाङका कतिपय स्थानमा फोन सेवा नै नचल्ने अवस्था रहेको भन्दै उनले फोरजी सेवाको विस्तारलाई तीव्रता दिन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए।

शिक्षा क्षेत्रमा देशभर नै शिक्षक दरबन्दीको समस्या रहेको भन्दै सांसद राईले सरकारले समस्यालाई वर्गीकरण गरी प्राथमिकताका आधारमा समाधान गर्नुपर्ने बताए। सरकारी विद्यालयमा राज्यले ठूलो लगानी गरे पनि शैक्षिक गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको भन्दै उनले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न विशेष ध्यान दिन सरकारलाई आग्रह गरे।

उनले महँगी नियन्त्रणमा समेत सरकार प्रभावकारी हुन नसकेको बताए । ग्यासको अभावका कारण सर्वसाधारण लामो लाइनमा बस्नुपर्ने अवस्था देखिएको भन्दै उनले मन्त्री परिवर्तन भए पनि ग्यासको समस्या समाधान हुन नसकेको बताए।

उनले ग्यासलगायत दैनिक उपभोग्य वस्तुको समस्या तत्काल समाधान गर्न सरकारले ‘फास्ट ट्र्याक’मा काम गर्नुपर्ने माग गरे।

प्रकाशित मिति: १५:५७ बजे, बिहीबार, असोज १५, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्