‘मोबाइलसँग बोल्छन्, हामीसँग बोल्दैनन्’
वसन्त आचार्य
तुलसीपुर, चैत ९ : तुलसीपुर उपमहानगरपालिका– ८, कटकुइयाकी ८३ वर्षीया भागिरथी पाण्डेलाई नातिनातिनासँग ....
वसन्त आचार्य
तुलसीपुर, चैत ९ : तुलसीपुर उपमहानगरपालिका– ८, कटकुइयाकी ८३ वर्षीया भागिरथी पाण्डेलाई नातिनातिनासँग बोल्न र रमाइलो गर्न मन लाग्छ। तर, उनले भनेजस्तो नातिनातिनाले उनलाई पछ्याउँदैनन्।
‘सधै उनीहरु मोबाइलमा झुम्मिएका हुन्छन्। मसँग बोल्छन् कि भन्यो सधै मोबाइलमै ध्यान हुन्छ,’पाण्डेले दुःख पोखिन्। आफ्नो बालापनमा हजुरबा हजुरआमा भनेपछि हुरुक्कै हुने कुरा सम्झेर अहिले उनका आँखा रसाउँछन्। ‘आफ्नो मान्छेभन्दा पनि प्यारो लाग्ने यो मोबाइल कस्तो रहेछ?,’ उनले गुनासो पोख्दै भनिन्,‘यो मोबाइल नहुने ठाउँमा जान पाए पनि हुन्थ्यो।’
सोही ठाउँकै ८६ वर्षका चुडामणी चौधरी अहिलेसम्म तुलसीपुरबाहेक अन्यत्र कहीँ पनि गएका छैनन्। ‘कहीँ जाने काम नै परेन किन जाने?,’उनले प्रश्न गरे। चौधरीले ०४२ सालमा नागरिकता बनाउन एक पटकमात्रै घोराही गएको बताए। ‘राजाको गाउँ जाने मन थियो कसले लैजान्छ र?,’उनले मनको रहर पोखे। दुईवटा श्रीमती विहे गरेका चौधरीका ८ छोरा र ३ छोरी छन्। अझै दिनभर खेतमा काम गर्ने चौधरीलाई मनको बह पोख्ने कोही नहुँदा दिकदार लाग्छ।
१५ वर्षको उमेरमा विवाह गरेकी तुलसीपुर–८ चुकिलेकी दण्डकुमारी कुँवर अहिले ७४ वर्षकी भइन्। २ छोरा र १ छोरीकी आमा कुँवरको साथमा अहिले कोही पनि छैनन्। ‘सानामा पालेर ठूलो बनाए हातखुट्टा लाग्ने भएपछि एक्लो पारे,’ कुँवर अहिले नातिसँग बस्छिन्। जीवनको किनारामा रहेकी कुँवरसँग अहिले पीडै पीडा छ तर, पोख्ने ठाउँ भने कतै पनि छैन।
प्युठानबाट दाङ बसाइ सरेर तुलसीपुर आएकी शिवाकुमारी उपाध्यायका ६ छोरा र ३ छोरी छन्। कान्छो छोरोसँग बस्ने उपाध्यायसँग बस्ने कोही पनि छैनन्। ‘सबैका आ–आफ्ना ध्यानमा हुन्छन्। कसले पो सुन्छ र मेरा कुरा?,’उनको गुनासो पनि उस्तै छ। फुर्सदका समयमा घाँस काट्ने र वत्ती कात्ने उपाध्यायलाई आफ्ना पुराना कुरा सुनिदिने कोही भइदिए हुन्थ्यो जस्तो लाग्छ।
ज्येष्ठ नागरिकका दुःखेसा र अनुभव सुनेर उनीहरुलाई सोही अनुसार परामर्श दिने उद्देश्यका साथमा तुलसीपुर उपमहानगरपालिकाले सुरुवात गरेको ‘मेरो जीवन मेरो कथा’ अभियानको सुरुवातका क्रममा तुलसीपुरको कृष्ण मन्दिरमा ज्येष्ठ नागरिकहरुले शनिबार बेस्सरी मन पखाले। तुलसीपुर–३ का ८५ वर्षीय भुपाल गिरीले आफूजस्तै दुःख भोगिरहेका अरुलाई देख्दा मन केही हुलुका भएको बताए। ‘ज्येष्ठ नागरिकलाई केराको बोक्रा जस्तै काम नलाग्ने मान्छन्। तर, त्यही बोक्राले केरालाई जोगाएको हुन्छ भन्ने कुरा वुझ्नु आवश्यक छ,’उनले भने। उनले आफूहरुसँग भएको अनुभवलाई उपमहानगरपालिकाले सुन्न चाहेकोमा खुसी समेत व्यक्त गरे।
ज्येष्ठ नागरिकलाई सम्मानका साथै उनीहरुका अनुभवलाई सबैका सामू पुर्याउनका लागि उपमहानगरपालिकाले अभियानको सुरुवात गरेको स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए। उनले कतिपय ज्येष्ठ नागरिक विक्षिप्त भएको समेत पाइएको भन्दै मनोपरामर्श समेत गरिएको बताए। ‘ज्येष्ठ नागरिकहरुका स–साना कुरामा मन दुखाउने वाणी हुन्छ हामीले त्यस्तालाई मनोवैज्ञानिक ढंगले परामर्श समेत गर्नेछौँ,’ डा. दाहालले भने। उनले सरसफाइ सामग्री राखिएको बाकस वितरण गर्नुका साथै सुगर र मृगौला रोगको समेत परीक्षण गरिने जानकारी दिए।
अभियानको सुरुवात गर्दै उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले ज्येष्ठ नागरिकको अनुभव राष्ट्रको सम्पत्ति भएको बताउँदै नयाँ र पुराना पुस्तालाई जोडेर पुस्तान्तरण समेत कम गरिने बताए। प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले पुराना पुस्ताका अनुभवहरु नयाँ पुस्ताका लागि प्रेरक हुने बताए। कार्यक्रममा ज्येष्ठ नागरिक सरोकार केन्द्रका भोलानाथ योगीले ज्येष्ठ नागरिक भएकै आधारमा कसैले पनि हेला गर्न नहुने बताए।
उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गरिने अभियानको सुरुवातमा वडा नम्वर ३, ८ र ९ का ८३ जना ज्येष्ठ नागरिकको सहभागिता रहेको डा. दाहालले बताए।