दोस्रो टेस्टमा इंग्ल्यान्ड ११३ रनले विजयी
काठमाडौं, साउन ६ : म्यान्चेस्टरमा भएको वेस्टइन्डिजविरुद्धको दोस्रो टेस्टमा इंग्ल्यान्ड विजयी भएको छ। अन्तिम दिन ३१२ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजला....

काठमाडौं, साउन ६ : म्यान्चेस्टरमा भएको वेस्टइन्डिजविरुद्धको दोस्रो टेस्टमा इंग्ल्यान्ड विजयी भएको छ। अन्तिम दिन ३१२ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजलाई १९८ रनमा अलआउट गर्दै इंग्ल्यान्ड ११३ रनले विजयी भएको हो।
यो जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिज १–१को बराबरीमा ल्याएको छ। साउथह्याम्पटनमा भएको पहिलो टेस्ट वेस्टइन्डिजले ४ विकेटले जितेको थियो। अन्तिम टेस्ट म्यान्चेस्टरमा जुलाई २४ मा सुरु हुनेछ।
३१२ को ठूलो लक्ष्य पछ्याएको वेस्टइन्डिजलाई सस्तैमा समेट्ने क्रममा स्टुआर्ड ब्रोडले ३ विकेट लिए भने वेन स्टोक्स, डम बेस र क्रिस वोक्सले समान २ विकेट लिए। वेस्टइन्जिडका साम्स ब्रुक्स र जर्मेइन ब्ल्याकउडले अर्धशत बनाए। ब्रुक्सले सर्वाधिक ६५ रन बनाए भने ब्ल्याकउडले ५५ रन बनाए।
पहिलो इनिङमा बेन स्टोक्स र डम सिब्लेले शतक मद्दतमा इंग्ल्यान्डले ४६९÷९ को स्थितिमा रनमा इनिङ समाप्तिको घोषणा गरेको थियो। स्टोक्सले ३६५ बलमा १७६ र सिब्लेले ३७२ बल खेल्दै १२० रन बनाएका थिए। वेस्टइन्डिजका रोस्टन चेसले सर्वाधिक ५ विकेट लिएका थिए।
वेस्टइन्डिज भने पहिलो इनिङमा २७८ रनमै अलआउट भयो। उसका ब्रेथवेटले सर्वाधिक ७५ रन बनाए भने ब्रुक्सले ६८ र रोस्टन चेसले ५१ रन बनाएका थिए। इंग्ल्यान्डका ब्रोड र वोक्सले समान ३ विकेट लिएका थिए।
पहिलो इनिङमै १८२ रनको अग्रता लिएको इंग्ल्यान्डले दोस्रो इनिङमा तीन विकटको क्षतिमा १२९ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो। उसका ओपनिङमा आएका स्टोक्सले ५७ बलमा ७८ रन बनाए भने कप्तान जो रुटले २२ रन बनाए । वेस्टइन्डिजका केमर रोचले २ विकेट लिए।











