विभिन्न बिमानले त्रिभुवन बिमानस्थललाई तिर्नुपर्ने साढे २ अर्ब अझै उठेन
काठमाडौं, चैत ३ : नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न बिमान कम्पनी र बिमानस्थलका पसलहरुले तिर्नुपर्ने झण्डै साढे दुई अर्ब रुपैयाँ बक्यौता अझै....
काठमाडौं, चैत ३ : नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न बिमान कम्पनी र बिमानस्थलका पसलहरुले तिर्नुपर्ने झण्डै साढे दुई अर्ब रुपैयाँ बक्यौता अझै उठाउन सकेको छैन ।
संसदको सार्बजनिक लेखा समितिले प्राधिकरणले उठाउन नसकेको बक्यौता रकम २ अर्ब ४७ करोड ९३ लाख २७ हजार ७ सय ३९ रुपैयाँ रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्राधिकरणले विमानस्थलभित्र विभिन्न एयरलाइन्स, ड्युटी फ्रि पसल तथा अन्य निकायहरुबाट उठाउनु पर्ने बक्यौता बर्षौंदेखि उठाउन बाँकी रहेको हो ।
नेकोन एयरको ४ करोड ६३ लाख, कस्मिक एयरको ३ करोड ३३ लाख, उडान बन्द गरेको गल्फ एयरको २ करोड २२ लाख, पाकिस्तान एयरलाइन्सको २ करोड ६८ लाख, एयर एसियाको १४ करोड ८० लाख, हिमालय एयरलाइन्सको ११ करोड ४८ लाख र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको २७ करोड रुपैयाँ बक्यौता विमानस्थललाई तिर्न बाँकी छ ।
लेखा समितिले तत्काल उक्त बक्यौता उठाउन त्रिभुवन बिमानस्थल कार्यालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आईतबार निर्देशन दिएको छ ।
हाल संचालनमै नरहेका ५८ कम्पनीको समेत बक्यौता उठाउन विमानस्थल कार्यालय असफल भएको छ । कति कम्पनीको विषयमा त बिमानस्थल कार्यालयनै बेखबर छ । बन्द भइसकेका नेकोन, कस्मिक, एयर काष्ठमन्डपलगायत एयरलाइन्स कम्पनीको समेत करोडौं बक्यौता बाँकी छ ।
नेकोन एयरको मात्रै ४ करोड ६३ लाख बक्यौता रहेको छ । त्यस्तै कस्मिक एयरको ३ करोड ३३ लाख बक्यौता छ । आइतबार लेखा समितिमा उपस्थित भएका विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बक्यौता उठाउन ताकेता गरिरहेको जवाफ दिएका थिए । तर समितिका सांसदहरुले ताकेता मात्रै गर्ने हो कि बक्यौता उठाउने पनि हो? भनेर प्रति प्रश्न गरेका थिए ।
अन्तर्राष्ट्रियतर्फ नेपाल उडान छाडिसकेको गल्फ एयरले पनि बर्षौंदेखिको २ करोड २२ लाखभन्दा बढी रकम तिर्न बाँकी छ । चार वर्ष अगाडी उडान बन्द गरेको पाकिस्तान एयरलाइन्सको पनि २ करोड ६८ लाख रुपैयाँभन्दा बढी बक्यौता छ । त्यस्तै, नेपालमा उडान छाडेको एयर एसियाको मात्रै १४ करोड ८० लाखभन्दा बढी बक्यौता बाँकी छ ।
हाल उडान गरिरहेको हिमालय एयरलाइन्सको पनि ११ करोड ४८ लाख रुपैयाँ बक्यौता छ । सबैभन्दा बढी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको २७ करोड रुपैयाँ बक्यौता रहेको छ । अधिकांश हाल उडान गरिरहेका आन्तरिक र अन्तर्राष्ट्रिय सबै एयरलाइन्सका बक्यौता करोडौं रुपैयाँ थुप्रिएको छ । जुन बिमानस्थल कार्यालय र प्राधिकरणले उठाउन नसक्दा राज्यको ढुकुटीमा दाखिला हुन सकेको छैन ।