नागरिकता विधेयक पारित गर्न संसदीय समिति बैठक बस्दै
काठमाडौं, असार ७ : दुई वर्षदेखि विवादमा रहेको नागरिकता विधेयक पारित गर्न आज संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको छ।
आज....

काठमाडौं, असार ७ : दुई वर्षदेखि विवादमा रहेको नागरिकता विधेयक पारित गर्न आज संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको छ।
आज दिउसो २ बजे समितिको बैठक बोलाइएको छ। सकभर आजकै बैठकबाट बहुमतका आधारमा विधेयक पारित गर्ने तयारी रहेको छ।
नागरिकता विधेयकका विषयमा सहमति नहुँदा दुई वर्षदेखि संसदीय समितिमै अड्किएको छ। यसमा नेकपा एकातिर छ भने कांग्रेस र जसपा अर्कोतिर छन्।
संविधान तथा नागरिकतासम्बन्धी ऐन, २०६३ अनुसार नै नागरिकता दिनुपने व्यवस्था गर्नुपर्ने कांग्रेस र जसपाको अडान छ। जसमा नेपाली नागरिकसँग विहे गरेर आएकी विदेशी महिलाले त्यहाँको नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेको जानकारी दिएपछि नेपाली अंगीकृत नागरिकता पाउने व्यवस्था छ।
तर, नेकपा भने त्यसबाट पछि हटेको छ। शनिबार बसेको नेकपा सचिवालय बैठकले नेपाली पुरुषसँग विहे गरेर आउने विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ। यसले महिला अस्तित्व नस्वीकारेको भन्दै चर्को विरोध भइरहेको छ।
यहि विवादबीच आज राज्य व्यवस्था समिति बैठक बस्न लागेको हो। यसअघि असार २ गते बसेको बैठकमा कांग्रेसले छलफलका लागि समय मागेको थियो। त्यसपछि असार ३ गतेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सहमतिका लागि समय मागेका थिए।
यो विधेयक २०७५ साउन २२ गते संसद्मा दर्ता भएको थियो। ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५’ त्यसयता संसदीय समितिमै अड्किएको छ।
आजको बैठकमा बहुमतबाट पारित गर्ने तयारी छ। संसदीय समितिमा नेकपाको बहुमत छ। नेकपाका १५, कांग्रेसका ६, जनता समाजवादी पार्टीका चार, नेपकिपाका एक र एक स्वतन्त्र सांसद रहेका छन्।











-1792413548.jpeg)