Kathmandu Press

बढी भाडा लिने ट्राभल एजेन्सीको लाइसेन्स खारेज हुने

काठमाडौं, असार ३ : चार्टर्ड उडानमा अनियन्त्रित ढंगले भाडा उठाउने ट्राभल एजेन्सीको लाइसेन्स खारेज हुने भएको छ। 

राष्ट्रियसभाको आजको बैठक....

बढी भाडा लिने ट्राभल एजेन्सीको लाइसेन्स खारेज हुने

काठमाडौं, असार ३ : चार्टर्ड उडानमा अनियन्त्रित ढंगले भाडा उठाउने ट्राभल एजेन्सीको लाइसेन्स खारेज हुने भएको छ। 

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत पर्यटन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चार्टर्ड उडानमा ट्राभल एजेन्सीले अनियन्त्रित ढंगले भाडा उठाएको प्रमाणित भए लाइसेन्स खारेज गरिने बताए।

“केही ट्राभल एजेन्सीले बढी भाडा उठाएर यात्रु लगेको भन्ने गुनासो आएको छ।सरकारको निर्णयविपरीत यदि कसैले त्यस्तो गल्ती गरेको सप्रमाण फेला परे उनीहरुको लाइसेन्स खारेज गरिन्छ”, उनले भने।

उनले विदेशबाट नेपाली ल्याउन कमभन्दा कम भाडादर कायम गरी चार्टर्ड उडानको व्यवस्था मिलाइएको जानकारी दिँदै सकेसम्म सञ्चालन खर्च उठ्ने गरी मात्रै हवाई भाडा निर्धारण गरिएको बताए।
    
उनले मंगलबार मात्रै कोरियन एयरलाइन्सले एक हजार डलरमा उडानका लागि प्रस्ताव गरेकामा मन्त्रालयले भाडा घटाउन आग्रह गरेपछि ६२५ डलर प्रस्ताव गरेको र यसमा पनि ६०० डलरमा उडान गर्न आग्रह गरिएको बताए। गत सोमबार एयर अरेबियाले ५०० डलरमा उडान गर्ने प्रस्ताव गरेकामा पर्यटनमन्त्री भट्टराईले उक्त प्रस्ताव अस्वीकार गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) कोभन्दा कम मूल्यमा उडान गर्न आग्रह गरिएको जानकारी दिए।

निगमले युएईबाट नेपाल ल्याउने यात्रुका लागि ३६० डलर भाडादर निर्धारण गरेको छ । बंगलादेशको १६५, कतारको ३६५ डलर कायम गरेको छ।

विभिन्न मुलुकमा अलपत्र परेका कस्ता नेपालीलाई पहिलो प्राथमिकता दिने भनी तोकिएको छ। सोही आधारमा सम्बन्धित मुलुकमा रहेको दूतावास र कूटनीतिक नियोगले यात्रुको नामावली तयार गरी नेपालको परराष्ट्र मन्त्रालयमा पठाउने र मन्त्रालयले आवश्यक छानबिन गरी स्वीकृति दिनेछ।
    
कुनै पनि कम्पनीले काम गरिरहेका श्रमिकलाई निःशुल्क काठमाडौं उतार्न सक्नेछन् । कतिपय कम्पनी र देशले पनि नल्याउने नेपालीलाई उनीहरुको आर्थिक अवस्था कमजोर भएको खण्डमा सरकारले उद्धार उडान गरी ल्याइदिनसक्ने व्यवस्था छ। खर्च जुटाउन सक्नेले सरकारले तोकेको सस्तो हवाई भाडादरमा टिकट काटेर आउन सकिने पनि कार्यविधिमा उल्लेख छ।
    
मन्त्री भट्टराईले असहज अवस्थामा विदेशबाट आउने र नेपालबाट जाने यात्रुलाई कष्ट भएकाले सरकारले सहजीकरणको भूमिका खेलिरहेको बताए। उनले श्रम सम्झौताअनुरुप सम्बन्धित मुलुकले सकुशल मानवीय व्यवहार गर्ने सम्बन्धित देशको दायित्व भए पनि यस विषयमा कसैको ध्यान जान नसकेको बताए।

कतिपय देशले आफ्ना नागरिक नेपालबाट लगेको र त्यसमा यात्रुले महंगो भाडा तिर्न बाध्य भएको अवस्थामा सरकारले सस्तो भाडादर कायम गरेको उनले बताए। विदेशी वायु कम्पनीले अमेरिका जाँदा करिब तीन हजार डलर, क्यानडाको तीन हजार २००, जापान एक हजार ५०० डलरसम्म जहाजको भाडा लिएको दृष्टान्त प्रस्तुत गर्दै पर्यटनमन्त्री भट्टराईले तीनै मुलुकमा उडानका लागि सरकारले कम भाडा तोकेको बताए।

प्रकाशित मिति: १९:५७ बजे, बुधबार, असार ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्