पहिरोमा पुरिएका बालकको शव भेटियो, मृत्यु हुनेको संख्या नौ पुग्याे
पर्वत, असार ३ : पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ। योसँगै पहिरोमा प....

पर्वत, असार ३ : पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ। योसँगै पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या नौ पुगेको छ।
पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गत शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय थिए।
गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर मङ्गलबार दिनभरसमेत खोजी गरिएको थियो। आज बिहान भने स्थानीय वासिन्दाले शव फेला पारेको स्थानीय प्रभु गुरुङले बताए।
पहिरोमा परी तुलबहादुर थापाको परिवारका चार र कमला विकको परिवारका तीन जनाको मृत्यु भएको हो। यस अघि शव भेटिएका ६ जनाको कालीगण्डकी र मोदी नदीको सङ्गम मोदीवेणीमा सोमबार सामूहिक अन्त्येष्टि गरिएको थियो। तुलबहादुरकी छोरी र नातिको बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको थियो।
दुर्लुङमा गत शनिबार राति दुई घन्टासम्म परेको मुसलधारे वर्षापछि गएको पहिरोमा परेर ५३ वर्षीय तुलबहादुर थापा, उनकी पत्नी ५२ वर्षीया मीनाकुमारी, छोरी ३४ वर्षीया दिर्पा, नातिनी ११ वर्षीया विविशा, नातिहरु १५ वर्षीय सम्राट र १७ वर्षीय विवेक थापाको मृत्यु भएको थियो।
यसैगरी पहिरोमा परेर २८ वर्षीया कमला विक, उनकी आठ वर्षीया छोरी प्रमिशा र १४ वर्षीय छोरा जेनिशको मृत्यु भएको थियो।











-1792413548.jpeg)