स्वाब संकलन रोकिँदा कोरोना परीक्षण मेसिन पनि बन्द
धनगढी, असार ३ : सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन रोकिएको छ। स्वाब नभएपछि धनगढीस्थित कोरोना परीक्षण मेसिन पनि बन्द भएको छ।<....

धनगढी, असार ३ : सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन रोकिएको छ। स्वाब नभएपछि धनगढीस्थित कोरोना परीक्षण मेसिन पनि बन्द भएको छ।
थ्रोट स्वाब राख्ने भाँडो अर्थात् भिटिएम नहुँदा स्वाब सङ्कलन पुनः रोकिएको हो। थ्रोट स्वाब राख्ने भाइरल ट्रान्सफर मिडिया (भिटिएम) नभएपछि कोरोना परीक्षणका लागि आवश्यक स्वाब सङ्कलन पूर्णरूपमा रोकिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले बताए।
सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भिटिएमको मौज्दाता सकिएपछि अहिले पूर्णरूपमा स्वाब सङ्कलनको रोकिएको उनले बताए। भिटीएम सङ्घीय सरकारले खरिद गर्ने भएकाले पठाइदिन अनुरोध गरेको उनले बताए।
भिटीएम सकिएपछि शङ्कास्पद र कोरोना सङ्क्रमितको सम्पर्कमा आएकाहरुको समेत स्वाब सङ्कलन हुनसकेको छैन।
त्यसैले धनगढीको पशु अन्वेषण प्रयोगशालामा जडान गरिएको आरडिटी–पिसीआर मेसिनमा स्वाब नभएर परीक्षण बन्द भएको जनाइएको हो। यसअघि चाप बढी हुँदा सङ्कलन गरिएका दुई हजार ६६ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जेठमा प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन गरिएको भन्दै पाँच दिनका लागि स्वाब सङ्कलन रोकेको थियो। स्वाब सङ्कलन शुरु भएको एक सातामै फेरि भिटिएम सकिएपछि स्वाब सङ्कलन बन्द भएको हो।











-1792413548.jpeg)