प्रधानसेनापति र सशस्त्र महानिरीक्षक कालापानी क्षेत्र प्रस्थान
काठमाडौं, असार ३ : प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल दार्चुलाको कालापानी क्षेत्र प्रस्थान गरेका छन्।....

काठमाडौं, असार ३ : प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल दार्चुलाको कालापानी क्षेत्र प्रस्थान गरेका छन्।
उनीहरु आज बिहान भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) छाङरु र सेनाको अस्थायी बेस निरीक्षणका लागि गएका हुन्। वैशाख ३१ गते दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरिएको छ।
कालापानी क्षेत्रको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बीओपी र दार्चुला–तिंकर सडक निर्माणका लागि नेपाली सेनाको अस्थायी बेस स्थापना गरिएको हो। प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल दुवै युनिट निरक्षणका लागि बुधबार बिहान कालापानी क्षेत्र प्रस्थान गरेका हुन्।
उनीहरु बुधबार बिहान काठमाडौंबाट सेनाको स्काई ट्रकबाट धनगढी पुगेका छन्। त्यहाँबाट सेनाको हेलिकप्टरमा छाङरु जाने जनाएको छ। उनीहरुले दार्चुलामा प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखसँग जानकारी लिनेछन्।
भारतले कालापनी क्षेत्र अतिक्रमण गरेर सुरक्षाफौज राखेको छ। कालापानी क्षेत्रसँगै अपि नाम्पा संरक्षण क्षेत्रमा सेनाको टोली राख्नेबारे पनि छलफल गरिने जनाएको छ।
यस्तै, नेपाल–चीन व्यापारिक नाका तिंकर भञ्ज्याङमा पनि सशस्त्र प्रहरीको बीओपी स्थापना गर्ने पनि तयारी भइरहेको छ। त्यसबारे पनि दुवै सुरक्षा निकाय प्रमुखले जानकारी लिनेछन्।
चीन र भारतबीच तनाव बढेपछि कालापानी क्षेत्रमा पनि भारतीय सुरक्षाकर्मी थपिने अनुमान गर्न थालिएको छ। त्यसलाई पनि ध्यानमा राख्दै दुवै सुरक्षा निकाय प्रमुखले छलफल गर्ने जनाएको छ।











-1792413548.jpeg)