Kathmandu Press

असार ७ गते आइतबार खण्डग्रास सूर्यग्रहण, कुन प्रदेशबाट कतिखेर देखिन्छ ?

काठमाडौं, असार २ : असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्....

असार ७ गते आइतबार खण्डग्रास सूर्यग्रहण, कुन प्रदेशबाट कतिखेर देखिन्छ ?

काठमाडौं, असार २ : असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ। मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देखिने उनले बताए।

शास्त्रीय मान्यता अनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामी बाहेक अरुलाई भोजन निषेध गरिएको छ। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ। ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी र सो सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। ग्रहणका बेला गर्नु हुने र नहुने अन्य कामलाई ग्रन्थमा उल्लेख गरिएको छ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् समेत रहेका गौतमले बताए। सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ। 
 
असार ७ गतेको सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए।

सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ।

मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्नुहुन्छ। यस वर्ष नेपालबाट देखिने असार ७ गतेको सूर्यग्रहण मात्र रहेको समितिले जनाएको छ । 

कुन प्रदेशबाट कतिखेर देखिन्छ सूर्यग्रहण ?

खगोल विज्ञानका क्षेत्रमा काम गरिरहेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले संघीय राजधानीसहित सातै प्रदेशका राजधानीबाट सूर्यग्रहण देखिने समयसमेत सार्वजनिक गरेको छ । काठमाडौंबाट बिहान १०ः५३ः५८ मा शुरु, १२ः४१ः०२ मा मध्य र १४ः२४ः३५ मा अन्त्य हुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जारी दिए।

प्रदेश नं. १ को विराटनगरबाट बिहान १०ः५८ः४५ शुरु, मध्याह्न १२ः४७ः०४ मा मध्य र अपराह्न १४ः२९ः२९ मा अन्त्य हुने छ।

यसैगरी प्रदेश नं. २ को जनकपुरबाट बिहान १०ः५५ः०१ शुरु, मध्याह्न १२ः४२ः५० मा मध्य र अपराह्न १४ः३६ः२० मा अन्त्य हुनेछ। 

वागमती प्रदेशको हेटौँडाबाट बिहान १०ः५२ः५२ मा शुरु, मध्याह्न १२ः३९ः५८ मा मध्य र अपराह्न १४ः२३ः५५ मा अन्त्य हुने सोसाइटीले जनाएको छ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट बिहान १०ः५०ः४५ मा शुरु, मध्याह्न १२ः४१ः५९ मा मध्य र अपराह्न १४ः२१ः१४ मा अन्त्य हुनेछ।

प्रदेश नं. ५ को बुटवलबाट बिहान १०ः४८ः५० मा शुरु, मध्याह्न १२ः३५ः०६ मध्य र अपराह्न १४ः२०ः०२ मा अन्त्य हुने जनाइएको छ। 

कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरबाट बिहान १०ः४५ः२४ मा शुरु, मध्याह्न १२ः३०ः१८ मध्य र अपराह्न १४ः१५ः४२ मा अन्त्य हुनेछ।

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट बिहान १०ः४२ः४६ मा शुरु, मध्याह्न १२ः२६ः५२ मा मध्य र अपराह्न १४ः१२ः४२ मा अन्त्य हुने अध्यक्ष भट्टराईले बताए।

वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरीकाले सबैले ग्रहण हेर्न सकिने पनि सोसाइटीले जनाएको छ।

प्रकाशित मिति: १६:५६ बजे, मंगलबार, असार २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्