Kathmandu Press

श्रीलंकाबाट नेपालीको उद्धार गरिँदै  

काठमाडौं, असार २ : विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले मंगलबारदेखि उद्धार चार्टर्ड उडान गर्दैछ। हिमालयको पूर्वनिर्धारित त....

श्रीलंकाबाट नेपालीको उद्धार गरिँदै  

काठमाडौं, असार २ : विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले मंगलबारदेखि उद्धार चार्टर्ड उडान गर्दैछ। हिमालयको पूर्वनिर्धारित तालिका अनुसार आज श्रीलंकाबाट नेपालीको उद्धार हुनेछ।

सोही प्रयोजनका लागि हिमालय एयरलाइन्सको न्यारोबडी जहाज आज बिहान कोलम्बो उडेको छ। नेपालबाट ४१ यात्रु लिएर कोलम्बो उडेको जहाज आजै उताबाट नेपाली लिएर फर्कने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

हिमालयकै अर्को न्यारोबडी जहाज कार्गो उडानका लागि चीनको चाङ्सा उडेको छ। अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालयको जहाज चाङ्सा गएको विमानस्थलले जनाएको छ। 

विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सोमबार सार्वजनिक गरेको थियो। उक्त एयरलाइन्सले जुन १६ देखि २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउने चार्टर्ड उडानको तालिका बनाएको छ ।

निगमको दुबई र दोहा उडान स्थगित
    
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को पूर्वनिर्धारित तालिका अनुसार आज हुने भनिएको दुबई र दोहा गन्तव्यको चार्टर्ड उडान स्थगित भएको छ। निगमले दुबै उडान रद्दबारे आज बिहान विमानस्थललाई अवगत गराएको थियो। निगमको सोमबार मलेसिया र माल्दिभ्सको उडान पनि स्थगित भएको थियो। निगमको वाइड बडी जहाजले जुन १४ तारिखमा बंगलादेशको ढाकाबाट उद्धार उडान गरी २५८ नेपाली ल्याएको थियो। निगमले जुन १४ देखि २५ सम्म चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरिसकेको छ। 

अष्ट्रेलियाको उद्धार उडान सर्‍यो
    
नेपाल एयरलाइन्सले जुन १७ तारिखमा अष्ट्रेलियाको सिड्नीमा हुने भनिएको उद्धार उडान पनि सरेको छ। आगामी जुन २३ मा पहिलो र जुन २६ मा दोस्रो उडान हुने जनाइएको छ। प्राविधिक कारण उद्धार उडान सार्नुपरेको निगमले उल्लेख गरेको छ। निगमका प्रवक्ता अर्चना खड्काले संस्कृति, पर्यटन मन्त्रालयबाट उद्धार चार्टर्ड उडानको तालिका परिमार्जित भएर आएकाले पूर्वनिर्धारित तालिकामा उडान नभएको जानकारी दिइन्। 

मन्त्रालयले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्ने गरी अनुमति दिएको थियो। त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ। 

यसैबीच कोरियन एयरको जहाजले २३५ यात्रुलिएर दक्षिण कोरियाको सिओल उडेको छ। जहाजमा कोरिया जाने नेपाली कामदार रहेको बताइएको छ।

प्रकाशित मिति: १५:१६ बजे, मंगलबार, असार २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्