Kathmandu Press

चीनमा फेरि फैलिँदै कोरोना, स्कुल र मनोरञ्जन केन्द्र बन्द

काठमाडौं, असार २ : चीनमा फेरि कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ। पुनः महामारीको जोखिम बढेपछि स्कुल तथा मनोरञ्जन केन्द्र बन्द गरिएको छ।

व....

चीनमा फेरि फैलिँदै कोरोना, स्कुल र मनोरञ्जन केन्द्र बन्द
एजेन्सी

काठमाडौं, असार २ : चीनमा फेरि कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ। पुनः महामारीको जोखिम बढेपछि स्कुल तथा मनोरञ्जन केन्द्र बन्द गरिएको छ।

विज्ञहरुले चीनमा कोरोना महामारीको दोस्रो लहर आउन लागेको जनाएका छन्। जसले गर्दा पुनः लकडाउनका नियम लागू गरिएको छ। चीनको राजधानी बेइजिङमा धेरैजसो स्कुल बन्द गरिएको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, मनोरञ्जन केन्द्र पनि बन्द गरिएका छन्। त्यस्तै, खेलकुद प्रतियोगिता रोकिएका छन्।

मास्क लगाउन, दूरी कायम राख्न र भीडभाडमा नजान निर्देशन दिइएको छ। स्वास्थ्य परीक्षणलाई कडा पारिएको छ।

चीनमा गत २४ घन्टामा ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आइतबार र शनिबार पनि संक्रमण देखिएको थियो। पछिल्लो चरणमा देखिएका संक्रमितको संख्या ७९ पुगेको छ।

बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट फेरि कोरोना संक्रमण सुरु भएको हो। सिन्फाडी मार्केटमा आठ हजार नौ सय ५० जना कर्मचारी रहेका छन्। जसमध्ये एकैदिन ६ हजार कर्मचारीको कोरोना परीक्षण गरिएको छ। उनीहरु कसैमा पनि संक्रमण नदेखिएको जनाएको छ।

त्यसपछि थप कर्मचारीको कोरोना परीक्षण गर्न लागिएको जनाएको छ। उनीहरुको सम्पर्कमा आएका व्यक्तिको खोजी भइरहेको छ। करिब २० हजार जना उनीहरुको सम्पर्कमा आएको जनाएको छ। ति सबैको कोरोना परीक्षण गरिने भएको छ।

कोरोना संक्रमण देखिएको सिन्फाडी मार्केटका जनरल म्यानेजरलाई स्थानीय सरकारले हटाएको छ। सतर्कता नअपनाएको आरोपमा उनलाई बर्खास्त गरिएको हो।

चीनको वुहान शहरबाट कोरोना भाइरस फैलिएको थियो। वुहानमा कोरोना संक्रमण नियन्त्रणमा लिएपनि त्यसपछि संसारभर फैलिएको हो।

न्यूजिल्यान्ड, फ्रान्सलगायतका देशले कोरोनालाई नियन्त्रणमा लिइसकेका छन्। केही देशमा नियन्त्रणमा आउन लागेको जनाएको छ। तर, चीनमा फेरि संक्रमण फैलिन थालेपछि चिन्ता बढाएको छ।

नयाँ थपिएकासँगै चीनमा संक्रमितको संख्या ८३ हजार दुई सय २१ पुगेको छ। जसमध्ये चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ। अहिलेसम्म ७८ हजार तीन सय ७७ जना निको भएका छन् भने दुई सय १० जनाको उपचार भइरहेको छ।

प्रकाशित मिति: ११:१९ बजे, मंगलबार, असार २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्