सुमेग ट्राभल्सका संचालक केसीको काठमाडौंप्रेसलाई धम्की, ‘समाचार किन लेखेको? सिध्याइदिन्छु’
काठमाडौं, जेठ ३२ : चार्टर्ड उडानमा महँगो भाडा असुलेको समाचार प्रकाशन भएपछि सुमेग ट्राभल एजेन्सीका सञ्चालक मेघ केसीले काठमाडौं प्रेसका प्....

काठमाडौं, जेठ ३२ : चार्टर्ड उडानमा महँगो भाडा असुलेको समाचार प्रकाशन भएपछि सुमेग ट्राभल एजेन्सीका सञ्चालक मेघ केसीले काठमाडौं प्रेसका प्रबन्ध सम्पादक गोविन्द परियारलाई सिध्याइदिन्छु भन्दै धम्की दिएका छन्।
आइतबार बिहान ११ : ५ बजे केसीले ९८५१०८२५१२ नम्बरको मोबाइलबाट फोन गरी मेरो विषयमा किन समाचार लेखेको म ‘सिध्याइदिऊ’ भन्दै धम्की दिएका हुन्। केसीले ‘समाचार के आधारमा लेखियो, प्रमाण के छ भने’ परियारले भने, ‘समाचारको तथ्यमा हामी विश्वस्त छौं, अझै चित्त नबुझे कानुनी उपचारको विधि छ भनेर मैले जवाफ दिए, त्यसपछि अपशव्द प्रयोग गर्दै सिध्यादिन्छु भन्दै धम्की दिए।’
गत जेठ २५ गते काठमाडौं प्रेसले पर्यटनमन्त्रीकै संरक्षणमा चार्टर्ड उडानमा ब्रम्हलुट! शीर्षकमा समाचार प्रकाशन गरेको थियो। यस्तै २६ गते क्यानले रोक्न निर्देशन दिएपछि पनि धमाधम चार्टर्ड उडान गर्दै ट्राभल एजेन्सी र ३० गते छानबिनमा तानिएको ट्राभल्स एजेन्सीसँग मन्त्रीको दबाबमा फेरी चार्टर्ड उडानको सम्झौता शीर्षकमा समाचार प्रकाशित गरेको थियो।
समाचारमा कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएको अवस्थामा ट्राभल एजेन्सीहरुले यात्रुहरुसँग तीन गुणा महँगो भाडा असुलेको उल्लेख छ। सुमेग ट्राभल्ससँगै हार्भेस्ट मुन र सिरिन ट्राभल्स लगायतले चार्टर्ड उडानमा महँगो शुल्क असुलेको उल्लेख छ।
चार्टर्ड फ्लाइटमा महँगो भाडा लिएको गुनासो आएको भन्दै जेठ २४ गते नै नागरिक उड्ययन प्राधिकरणले कुटनीतिक च्यानलबाट बाहेक निजी एजेन्सीलाई चार्टर्ड उडनको अनुमति दिन रोक लगाउने निर्णय गरिसकेको छ। यस्तै २८ गते पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले चार्टर्ड फ्लाइटमा महँगो भाडा लिएको विषयमा छानबिन गर्न सह–सचिव सुरेश आचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।











