मनपरी शुल्क लिएर भएका चार्टर्ड उडान तत्काल बन्द गर : एनआरएनए
काठमाडौं, जेठ ३१ : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले चार्टर्ड उडानका नाममा भैरहेको मनपरी शुल्क लिने काम तत्काल बन्द गर्न नेपाल सरकारसँग माग गरेको छ ।&n....

काठमाडौं, जेठ ३१ : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले चार्टर्ड उडानका नाममा भैरहेको मनपरी शुल्क लिने काम तत्काल बन्द गर्न नेपाल सरकारसँग माग गरेको छ ।
शुक्रबार संघका विभिन्न क्षेत्रका संयोजकहरुले सयुक्त विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपालीहरु रोजगारी गुमाएको र पेशा तथा व्यवशाय पनि कोरोनाका कारण चौपट भएका बेला केही ट्राभल्स एजेन्सीलाई पोस्ने गरी चार्टर्ड उडान गरेर चर्को शुल्क लिएकोप्रति गम्भीर आपत्ती जनाएको हो।
‘मध्यपूर्व यूरोप, अफ्रिका र बिश्वका अन्य विभिन्न देशहरुमा रहेका नेपालीहरुको यथाशीघ्र उद्धार गरी अभिभावकीय भुमिका निर्वाह गर्नुपर्ने बेलामा आफु निकटका ट्राभल एजेन्सीहरुको छनौट गरी उनीहरुले नै तोकेको चार्टर्ड फ्लाईटमा महंगो भाडादर तिर्नुपर्ने वातावरण बन्नु अत्यन्त दुखदायी बिषय हो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘कठिनतामा आफ्ना नागरिकहरुलाई सहजता दिनुको सट्टा नेपाल सरकारले महंगो जहाज भाडा कायम गरी विदेशमा रहेका पिडित आफ्ना नागरिकहरुलाई विदेश मै कष्टकर जीवन विताउन बाध्य पार्न खोजेको हामीलाई महशुष भएको छ। विदेशमा कामगर्ने नेपालीहरूले नै पठाएको रेमीट्यान्सको ताकतमा उभिएको सरकारले बिपतको घडिमा यसरी गैरजिम्मेवार बन्नु बिदेशिएका हामी नेपालीहरूका लागी अत्यन्त दःखद कुरा हो।’
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका अमेरिका क्षेत्र संयोजक राजन त्रिपाठी, यूरोप क्षेत्र संयोजक नारायण आचार्य, मध्यपूर्व क्षेत्र संयोजक प्रविण गुरुङ र अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले सयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा पैसा तिरेर नेपाल आउन नसक्नेहरुलाई सरकारले निशुल्क रुपमा फिर्ता गर्नुपर्ने पनि उल्लेख गरिएको छ।
‘समय, परिस्थिति र बाध्यताले बिदेशिएका नेपालीहरु कोरोनाको कहरसँगै बिदेशमा भएको आफ्नो रोजगारीका अवसरहरु गुमाएर पुन: स्वदेश मै फर्कनु पर्ने अवस्था आएको छ। तीन महिना लामो लकडाउन साथै बिना कमाईको बिदेश बसाईले बिहान बेलुकाको खानाको खर्च धान्न समेत मुश्किल भएर यतिखेर हजारौं हजार नेपालीहरु दोहोरो तेहोरो पिडामा बॉंच्न बिवश छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘ढिलासुस्त गतिमा काम गर्ने सरकारी निति र कोरोनाको महामारी लाई आफ्नो द्रब्य आर्जन गर्ने अवसरको रुपमा लिने केही अमुक व्यक्तिहरूको प्रभावमा सरकार परेर थप आहत बनाएको छ।’
उनीहरुले नेपाल सरकारले आफ्ना नागरिकहरुको उद्धारमा गर्ने कुनैपनि बाहनाबाजी स्विकार्य नहुने बताउँदै आफ्नै पैसा तिरेर स्वदेश फर्कन चाहाने र हवाई खर्च जुटाउन नसक्नेहरुको लागी पनि सँगसँगै उद्धार ब्यबस्थापन गर्न सरकारसँग माग गरेका छन् ।
‘देशको अर्थतन्त्रको लगभग एक तिहाई योगदान पुर्याउने बैदेशिक रोजगारमा रहेका धेरै श्रमिकहरु कोरोनाको महामारीको कारणले बिपतमा छन्। बैदेशिक रोजगारमा जानु अगाडी श्रमिकले जम्मा गरेको कल्याणकारी कोषमा छ अर्ब भन्दाबढी रुपियॉं थन्किएर बसेको छ। उक्त कोषको संचालन ऐनमा उल्लेख भएको ब्यवस्थाअनुसार बिदेशमा महामारीको अबस्थामा उद्दारको लागि प्रयोग गर्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसै बिषयमा गैरआबासीय नेपाली संघले सरकारलाई बुझाएको सहयोग रकम प्रयोग गरेर राहत तथा उद्दार गर्नुपर्ने माग राखेपनि सरकार चाँही महँगो भाडा तोक्नमै व्यस्त छ। हामी यथासक्य चाँडो अलपत्र परेका नेपालीहरूलाई नेपाल फर्काउने उचित प्रबन्ध मिलाउन नेपाल सरकार र सरोकारवाला सबैमा यसै बिज्ञप्ति मार्फत जोडदार माग गर्दछौ।’











