Kathmandu Press

एक घर एक पीसीआर परीक्षण गर्न असम्भव : मुख्यमन्त्री पोखरेल

काठमाडौं, जेठ ३० : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोभिड १९ को संक्रमण नियन्त्रण, परीक्षण र उपचारमा अहिलेसम्म भएको खर्चको पारदर्शीताका ....

एक घर एक पीसीआर परीक्षण गर्न असम्भव : मुख्यमन्त्री पोखरेल

काठमाडौं, जेठ ३० : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोभिड १९ को संक्रमण नियन्त्रण, परीक्षण र उपचारमा अहिलेसम्म भएको खर्चको पारदर्शीताका नाममा उठाइएका मागले जनसमुदायलाई नै भ्रमित बनाइरहेको र परीक्षण तथा उपचारमा प्रतिकूल असर पुर्‍याइरहेको बताएका छन्।

उनले अहिले नै खर्च बढी भयो भनेर अविश्वास पनि गर्ने र एकघर एक पीसीआर परीक्षणको माग आउनु आँफैमा विरोधाभाषपूर्ण देखिएको टिप्पणी गरेका छन्। उनले एक घर एक पीसीआर परीक्षण गर्दा परीक्षणमा मात्रै न्यूनतम ५० देखि ६० अर्ब खर्च लाग्न सक्ने भन्दै रातारात त्यत्रो खर्चको व्यवस्थापन गर्ने प्राविधिक जनशक्ति र सामर्थ्य सम्भव नभएकाले यस्ता अव्यावहारिक कुरा गर्न नहुने बताएका छन्।

सरकारले अहिलेसम्म गरेको खर्चका विषयमा नागरिकस्तरमा उठेका प्रश्नका विषयमा मुख्यमन्त्री पोखरेलले आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कोरोना महामारीमा अहिलेसम्म भएको खर्चका बारेमा अविश्वास गर्ने र प्रश्न उठाउने पङ्क्ति फराकिलो देखिँदै जाँदा यसले परीक्षण र उपचारमा समेत जटिलता पैदा गरिरहेको बताए।

उनले सामाजिक सञ्जालमार्फत आज सार्वजनिक गरेको धारणामा खर्च पारदर्शी र विधिसम्मत हुनुपर्ने भन्ने विषयमा कुनै छुट हुन नसक्ने तर, संकटका समयमा सामान्य अवस्थाको जस्तो प्रक्रियामा अल्झने अवस्था पनि नरहेकाले अहिलेको समय भनेको खर्च गर्ने जिम्मेवार बन्ने र वाचडगको भूमिकामा रहेकाले धैर्य गर्नु नै हो भनेका छन्।

उनले अहिले जति खर्च भएको छ त्यो संकटको सापेक्षतामा निकै कम रहेको र सार्वजनिक भएको हिसाब पनि अनुमान मात्र रहेको स्पष्ट पारे। मुख्यमन्त्री पोखरेलले विदेशबाट स्वदेश फर्कनेको संख्या वृद्धिसँगै कोरोना परीक्षण र उपचारमा खर्च हुने शुरु हुने अवस्था आएको बताउँदै यतिबेला सरकारले अझै ठूलो खरिद गरेर थप तयारी गर्नुपर्ने अवस्था आएको बताएका छन्। अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहले खर्चको व्यवस्थापन गरेका छन्। 

उनले वास्तविक खर्च भुक्तानी भएसँगै सरकारी लेखामा देखिने बताएका छन्। यसका साथै उपचार र परीक्षणमा संलग्नले पाउनुपर्ने जोखिम भत्ता अहिले नै पाइनसकेको त्यो जोडिँदा अहिलेको खर्च अझै बढ्न सक्ने अनुमान उनले गरेका छन्।

प्रकाशित मिति: १९:४७ बजे, शुक्रबार, जेठ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्