देशका मुख्य शहरमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन, ‘जाग कि भाग’
काठमाडौं, जेठ २९ : कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको जनाउँदै देशका मुख्य शहरहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रद....

काठमाडौं, जेठ २९ : कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको जनाउँदै देशका मुख्य शहरहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरिएको छ।
बिहीबार राजधानी काठमाडौंसहित देशका मुख्य शहरमा युवा तथा व्यवसायीहरुले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरुले सरकार असफल भएको भन्दै नाराबाजी समेत गरेका छन्।
प्रदर्शनमा उत्रिका युवा तथा व्यवसायीले प्रधानमन्त्री ओलीलाई ‘जाग कि भाग’ भन्ने नाराबाजी गरेका छन्। उनीहरुले कोरोनाभन्दा भ्रष्टाचार खतरनाक लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्।
अत्यवाश्यक स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको, कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको र लकडाउनलाई मात्रै हतियार बनाउको आरोप लगाएका छन्। जसले गर्दा कोरोनासँगै लकडाउनबाट उत्पन्न असरले जनजीवन कष्टकर बनेको उनीहरुको भनाइ छ।
सयौं युवा तथा व्यवसायीले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन्। उनीहरु केही दिनदेखि लगातार प्रदर्शन गर्दै आएका छन्।
त्यस्तै, पूर्वको मुख्य शहर विराटनगरमा पनि आजै प्रदर्शन भएको छ। उनीहरुले कोरोनाका लागि खर्च गरिएको १० अर्बको हिसाब माग गरेका छन्। क्वारेन्टाइनमा रहेकाहरुको पीसीआर विधिबाट परीक्षण गर्न र आरडीटीबाट परीक्षण नगर्न माग गर्दै प्रदर्शन गरेका हुन्।
अर्को मुख्य शहर पोखरामा पनि प्रदर्शन भएको छ। पोखरामा त प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी पनि गरिएको छ। लकडाउनका कारण जनताले दुःख पाएको वेला सरकारले कर असुल्न खोजेको भन्दै युवा तथा व्यवसायीले प्रदर्शन गरेका हुन्।
पोखरामा प्रदर्शनमा उत्रिका सयौं युवा तथा व्यवसायीले राष्ट्रिय झण्डा बोेकेका थिए। उनीहरुले सरकारले कोरोनाविरुद्ध काम गर्न नसकेको आरोप लगाएका छन्।
तराईको केन्द्र बारामा पनि प्रदर्शन भएको छ। उनीहरुले पीसीआर बिधिबाट कोरोनाको परीक्षण गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।
फेटा गाउँपालिकाको लमही चोकमा प्रदर्शनमा उत्रिएका स्थानीय वासिन्दाले आरडीटी विधिबाट परीक्षणको विरोध गरेका छन्। क्वारेन्टाइनमा रहेका सबैको पीसीआर बिधिबाट परीक्षण गर्न माग गरेका छन्।











