Kathmandu Press

विदेशमा अलपत्र परेका नेपाली ल्याउन उडान तालिका सार्वजनिक

काठमाडौं, जेठ २९ : विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक ग....

विदेशमा अलपत्र परेका नेपाली ल्याउन उडान तालिका सार्वजनिक

काठमाडौं, जेठ २९ : विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णयअनुरुप सरोकारवालासँग बुधबार छलफल गरी नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो। त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिने तालिका मन्त्रालयले तय गरेको छ।
 
नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारोबडी जहाज छन्। दुवै एयरलाइन्सले पूर्ण क्षमताका साथ विदेशबाट नेपाली बोक्नेछन्। नेपाल एयरलाइन्सको मात्रै चार जहाजले दैनिक एक हजार ६०० यात्रु ल्याउन सक्ने क्षमता छ। त्यस्तै हिमालयले करिब एक हजार यात्रु ल्याउन सक्छन्।

विदेशस्थित कोभिड महामारीका कारण आफ्नो देश फर्कन चाहनेले अहिलेसम्म आ–आफ्नो देशस्थित राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिसकेको छ। निगमका अपरेशनल विभागका प्रमुख दीपु जुहार्जनका अनुसार नेपाल एयरलाइन्सले जुन महिनामा मात्रै दुई दर्जन उडान गर्दैछ। जसअनुरुप जुन १४ तारिखमा बंगलादेशको ढाका, जुन १५ मा माल्दिभ्सको माले र मलेशियाको क्वालालम्पुरमा उडान हुनेछ।

त्यसैगरी जुन १६ मा दुबई र कतारको दोहा, जुन १७ मा अष्ट्रेलियाको सिङ्नी, थाइल्याण्डको बैंकक र बहराइनबाट नेपाली ल्याइनेछ । जुन १८ मा साउदी अरेबियाको रियाद र दुबइ, जुन १९ मा जापानको नारिता र कुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ ।

त्यसैगरी जुन २१ मा दक्षिण कोरियाको सोल र ओमानको मस्कट, जुन २२ मा सम्भावित मेल्बर्न, बैंकक, जुन २३ नारिता र माले, जुन २४ मा सम्भावित साउदी अरबको जेद्दह, कुवेत र जुन २५ तारिखका दिन सम्भावित अमेरिकाको लसएन्जल्स या डालस उडान गर्ने योजना रहेको निगमले उल्लेख गरेको छ।

जुन महिनाका विभिन्न मितिमा हिमालय एयरलाइन्सले बगडलादेश, श्रीलङ्का, मलेशिया, कतार, साउदी अरब, युएई, कुवेतलगायत मुलुकबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याउनेछ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले विदेशबाट नेपाली ल्याउन जहाज तयारी अवस्थामा रहेको जानकारी दिए। सरकारले गरेको निर्णयअनुरुप चार्टर्ड उडानका लागि सबैखाले तयारी थालिएको उनले बताए।

प्रकाशित मिति: १३:५१ बजे, बिहीबार, जेठ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्