रुकुम घटनामा थप तीन पक्राउ, हिरासतमा पुगे २८ जना
रुकुम, जेठ २९ : रुकुम पश्चिमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरि भएको घटनामा थप तीन जनालाई पक्राउ गरिएको छ। अहिलेसम्म पक्राउ पर्नेको संख्या २८ पुगेको ....

रुकुम, जेठ २९ : रुकुम पश्चिमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरि भएको घटनामा थप तीन जनालाई पक्राउ गरिएको छ। अहिलेसम्म पक्राउ पर्नेको संख्या २८ पुगेको छ।
गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी–८ सोतीगाउँ पुगेका नवराज विकसहित १८ जनामाथि स्थानीय वासिन्दाले आक्रमण गरेका थिए। जेठ १० गते भएको घटनामा नवराजसहित ६ जनाको ज्यान गएको थियो।
त्यस घटनामा रुकुम प्रहरीले थप तीन जनालाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, पक्राउ पर्नेमा चौरजहारी-८ का घमण्ड मल्ल, विष्णु मल्ल र सविन पुन रहेका छन्।
उनीहरुलाई पीडितको उजुरी र यस अघि पक्राउ परेकाहरुको बयानका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए।
यस घटनामा पटकपटक गरि अहिलेसम्म २८ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा युवतीसहित उनका आमाबुवा र चौरजहारी-८ का वडाध्यक्ष समेत रहेका छन्। यस अघि २५ जना पक्राउ परेका थिए।
घटनाको अनुसन्धान भइरहेको डीएसपी केसीे बताए। उनको अनुसार, अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
यस घटनाको छानविनका लागि संसद्ले पनि छानविन समिति गठन गरेको छ। सांसद् देवेन्द्र पौडेलको नेतृत्वमा गठन गरिएको संसदीय छानविन समितिले पनि आफ्नो कार्य सुरु गर्ने जनाएको छ।
यसअघि गृह मन्त्रालयले पनि छानविन समिति गठन गरेको थियो। गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन गरिएको छानविन समिति पनि घटनास्थल पुगिसकेको छ।
त्यस्तै, जिल्ला प्रहरीको टोलीसँगै प्रदेश प्रहरीको टोली पनि घटनाको अनुसन्धानमा जुटेको छ। केन्द्रबाट सीबीआईको टोली पनि खटिएको छ।











