Kathmandu Press

सर्पले डसेका बिरामीको कोरोना पोजेटिभ आउँदा...

सुर्खेत, जेठ २८ : बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टाइनमा सर्पले टोकेका ५० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ। ....

सर्पले डसेका बिरामीको कोरोना पोजेटिभ आउँदा...

सुर्खेत, जेठ २८ : बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टाइनमा सर्पले टोकेका ५० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ। 

क्वारेन्टाइनमा रहँदा सर्पले टोकेका ती पुरुषलाई मंगलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो। सर्पले टोकेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीले उनलाई उपचारका लागि प्रदेश अस्पतालमा सिफारिस गरेका थिए। सर्पको टोकाईबाट बिरामी परेका पुरुष आकस्मिक कक्षमा ल्याएपछि चार चिकित्सक उनको उपचारमा खटिएका थिए। 

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार सर्पले टोकेको बिरामी क्वारेन्टाइनमा रहेको भन्नेबारेमा अस्पताललाई कुनै पनि औपचारिक रूपमा जानकारी भएको छैन।

'बिरामी क्वारेन्टाइनमा रहेको भन्नेबारेमा थाहा नै नदिएर उनलाई लिएर आएकाहरुले ती पुरुषलाई सिधै अस्पतालभित्र छिराए र उपचार गर्न लगाए', उनले भने, 'क्वारेन्टाइनमा बसेको र कोरोना संक्रमित हुन् भन्ने थाहा नहुँदा उपचारमा एक्सपोजर भएका चार चिकित्सकमा अहिले आतंक फैलिएको छ।'

उनले भने, 'बिरामीको आरडिटी रिपोर्ट पनि पोजेटिभ रहेछ। उनलाई क्वारेन्टाइनमा  ल्याइएको हो भन्ने अगाडि थाहा पाएको भए चिकित्सक पनि पिपिइ सेट लगाएर बिरामीको उपचारमा लाग्थे तर बिरामी ल्याउनेले र गाउँपालिकाले कुनै पनि जानकारी नदिँदा उपचारमा संलग्न चिकित्सकले सामान्य तरिकाले उपचार गर्नु भएछ।'

निर्देशक डा खड्काले यसरी झुक्याएर बिरामीलाई अस्पतालमा ल्याउँदा उपचारमा खटिने चिकित्सक समस्यामा परेको भन्दै सबैबाट यस्तै व्यवहार भएमा अस्पतालले दिइरहेको सबै सेवाहरु बन्द हुनसक्ने चेतावनी दिए। क्वारेन्टाइनमा खटिएका चिकित्सक र गाउँपालिकाले सही सूचना नदिँदा यो समस्या उत्पन्न भएको जनाउँदै उनले यो विषम परिस्थितिमा सत्यतथ्य सूचना दिएर सहयोग गर्न सबैलाई अनुरोध गरेका छन्।

बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिनुपर्नेमा जानकारी नदिएको बारेमा कमजोरी भएको स्वीकारेका छन्। बिरामीको पीसिआर रिपोर्ट पोजेटिभ हुनुले चिकित्सकदेखि उनको उपचारमा संलग्न सबैमा कोरोना संक्रमण फैलिने सम्भावना छ।

प्रकाशित मिति: १३:२३ बजे, बुधबार, जेठ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्