Kathmandu Press

लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, जेठ २८ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लामो लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको छ।

प्रधानमन्त्री केपी....

लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै
फाइल फाेटाे

काठमाडौं, जेठ २८ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लामो लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकमा लकडाउनको मोडालिटीबारे निर्णय हुने जनाएको छ।

आज लकडाउनको ७९औं दिन हो। गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन पछिल्लो पटक बढाएर जेठ ३२ गतेसम्म पुर्याइएको छ। लामो लकडाउनका कारण जनजीवन कष्टकर भएपनि यसको स्वरुप फेर्ने विषयमा निर्णय हुने जनाएको छ।

लकडाउनको स्वरुप फेर्न कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिले सिफारिस गरेका छन्। असोर १ गतेदेखि लकडाउनको स्वरुप फेर्नुपर्ने दुवै समितिको निष्कर्ष छ।

सीसीएमसीले असार १ देखि लकडाउन खुकुलो बनाउनुपर्ने योजना अघि सारेको छ। जसमा आन्तरिक हवाइसेवा सुरु गर्नुपर्ने, कृषि उच्पादनसँग जोडिएका क्षेत्र तथा व्यवसायलाई सञ्चालन गर्नदिनु पर्ने उल्लेख छ।

त्यस्तै, दूरी कायम गरेर खेतीपाती गर्न लगाउनुपर्ने सुझाव छ। दैनिक उपभोगइ सामग्रीको बिक्री वितरण हुने मल, किराना पसल, खाद्य भण्डार, पानी तथा ग्यास डिपो खोल्न दिनुपर्ने पनि जनाएको छ।

उच्चस्तरीय समन्वय समितिले पनि असार १ गतदेखि लकडाउन खुकुलो बनाउनुपर्ने राय दिएको छ। यस अघिको मन्त्रिपरिषद्को बैठकमा पनि लकडाउन खुकुलो बनाउन मन्त्रीहरुले जोड दिएका थिए। तर, प्रधानमन्त्री ओलीले तत्काल खुकुलो गर्न नहुने तर्क गरेपछि निर्णय हुन सकेको थिएन।

अहिले भने प्रधानमन्त्री ओली पनि लकडाउन खुकुलो गर्ने विषयमा सकारात्मक रहेको जनाएको छ। जसले गर्दा आजको बैठकमा केही निर्णय हुन सक्ने एक मन्त्रीले बताए।

प्रकाशित मिति: १०:४८ बजे, बुधबार, जेठ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्