दिल्लीमा चार जनाको परीक्षण गर्दा एकमा कोरोना देखिँदै
काठमाडौं, जेठ २७ : भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेको छ। अहिले चार जनाकाे कोरोना परीक्षण गर्दा एक जनामा पोजि....

काठमाडौं, जेठ २७ : भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेको छ। अहिले चार जनाकाे कोरोना परीक्षण गर्दा एक जनामा पोजिटिभ देखिन थालेकाे छ।
दिल्लीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३० हजार नजिक पुगेको छ। जसमध्ये आठ सय ७४ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ११ हजार तीन सय ५७ जना निको भएको छ।
दिल्ली सरकारले जारी गरेको तथ्यांकअनुसार, अहिलेसम्म परीक्षण गरेकामध्ये २७ प्रतिशतमा कोरोना पोजिटिभ देखिएको छ। यो भनेको चार जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिन थालेको छ।
गत २४ घन्टामा गरिएको परीक्षणमा यो झन बढी देखिएको छ। दिल्लीमा गत २४ घन्टामा तीन हजार सात सय जनाको कोरोना परीक्षण गरिएको छ। जसमा एक हजार सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, एक साताभरीको परीक्षणमा पनि यहि देखिएको छ। करिब २६ प्रतिशत पोजिटिभ देखिएका छन्।
यसले कोरोना समुदायमा संक्रमण भएको देखिएको एम्स अस्पतालका निर्देशक सत्येन्द्र जैनले बताए। यो समुदायमा संक्रमण फैलिएको प्रमाण हो। कतिपय संक्रमितलाई कहाँबाट कोरोना सर्यो भन्ने पत्ता लगाउन सकिएको छैन, निर्देशक जैनले भने।
भारतमा मंगलबारसम्म दुई लाख ६७ हजार ४६ जनामा कोरोना देखिएको छ। जसमध्ये सात हजार चार सय ७३ जनाको मृत्यु भएको छ। अहिलेसम्म एक लाख २९ हजार दुई सय २९ जना निको भएका छन्।
भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमित देखिएका छन्। महाराष्ट्रमा संक्रमितको संख्या ८८ हजार पाँच सय २८ पुगेको छ। जहाँ तीन हजार एक सय २९ जनाको मृत्यु भएको छ।











