मुम्बईमा ४८ हजार संक्रमित, महाराष्ट्रले चीनलाई उछिन्यो
काठमाडौं, जेठ २६ : भारतको प्रख्यात शहर मुम्बईमा कोरोना भाइरस संक्रमितको संख्या ४८ हजार नाघेकाे छ। मुम्बईसहित महाराष्ट्र राज्यमा मात्रै चीनको भन्दा बढी....

काठमाडौं, जेठ २६ : भारतको प्रख्यात शहर मुम्बईमा कोरोना भाइरस संक्रमितको संख्या ४८ हजार नाघेकाे छ। मुम्बईसहित महाराष्ट्र राज्यमा मात्रै चीनको भन्दा बढी संक्रमित पुगेका छन्।
गत २४ घन्टामा मुम्बईमा एक हजार चार सय २० जना नयाँ संक्रमित भेटिएका छन्। योसँगै संक्रमितको संख्या ४८ हजार सात सय ७४ पुगेको छ।
कोरोनाबाट मुम्बईमा गत २४ घन्टामा ६१ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म मुम्बईमा मृत्यु हुनेको संख्या एक हजार ६ सय ३८ पुगेको छ। अहिलेसम्म भारतमा कोरोना भाइरसको सबैभन्दा बढी संक्रमण देखिएको शहर मुम्बई नै हो।
राजधानी मुम्बईसहित महराष्ट्र भारतको सबैभन्दा बढी प्रभावित राज्य बनेको छ। मुम्बईमा गत २४ घन्टामा मात्रै तीन हजार सात जना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या ८५ हजार नौ सय ७५ पुगेको छ।
यो कोरोना उद्गमस्थल चीनको भन्दा बढी हो। चीनमा अहिलेसम्म ८३ हजार ४० जनामा संक्रमण देखिएको छ।
त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या पनि महाराष्ट्रमा तीव्र रुपमा बढेको छ। गत २४ घन्टामा मात्रै ९१ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या तीन हजार ६० पुगेको छ।
अहिले भारतमा मुम्बईसँगै दिल्ली, तामिलनाडु, गुजरात, उत्तर प्रदेश र राजिस्थान सबैभन्दा बढी प्रभावित राज्य रहेका छन्। संक्रमितको संख्या दिल्लीमा २७ हजार र गुजरातमा २० हजार नाघेको छ।
अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या दुई लाख ५७ हजार चार सय ८६ पुगेको छ। गत २४ घन्टामा पनि १० हजारभन्दा बढी संक्रमित थपिएका छन्।
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ। दैनिक तीन सयको दरले संक्रमितको ज्यान गइरहेको छ। अहिलेसम्म मृत्यु हुनेको संख्या सात हजार दुई सय सात पुगेको छ।
कोरोनाबाट निको हुनेको संख्या पनि विस्तारै बढ्दै गएको छ। सोमबारसम्म भारतमा एक लाख २३ हजार आठ सय ४८ जना निको भएर घर फर्केका छन्।











