पश्चिमी वायुको प्रभावले आज पनि वर्षाको सम्भावना
काठमाडौं, जेठ २६ : आज पनि देशका अधिकांश भू–भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्थानीय वायु र पश....

काठमाडौं, जेठ २६ : आज पनि देशका अधिकांश भू–भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्थानीय वायु र पश्चिमी वायुका साथै भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन्। गएराति विकसित भएको भारी वर्षा गराउने प्रणाली भने हटिसकेको उनले बनाइन्।
'अहिले फेरि यी चार प्रणाली विकसित भई सक्रिय अवस्थामा रहेकाले पुनः वर्षाको सम्भावना रहेको हो,' मौसमविद् बासीले भनिन्। नेपालमा मनसुन भित्रिने सरदर समय जुन १० हो, तर यस वर्ष औसत समयभन्दा केही ढिलो मनसुन भित्रिने भएको छ।
मौसमविद्का अनुसार मनसुन भित्रिनका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा प्रष्टसँग देखिनपर्ने हुन्छ। यसका साथै न्यून चापीय क्षेत्रको विकास भएर न्युन चापीय रेखा नेपालतिर परेको हुनुपर्छ।
हाल देशको बागमती प्रदेश, गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रहेको तथा प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने बताइएको छ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ।
आज सबैभन्दा कम जोमसोमको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री र सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ। (रासस)











