Kathmandu Press

रेड जोनमा दैलेख, ८७ संक्रमित पाँचदिनदेखि गाउँमै

दैलेख, जेठ २५ : कोरोना भाइरस संक्रमण बढ्न थालेपछि दैलेख उच्च जोखिममा परेको छ। कोरोना संक्रमण देखिएका ८७ जना पाँचदिनदेखि गाउँमै रहेकाले समुदायमा फैलिने....

रेड जोनमा दैलेख, ८७ संक्रमित पाँचदिनदेखि गाउँमै
रासस

दैलेख, जेठ २५ : कोरोना भाइरस संक्रमण बढ्न थालेपछि दैलेख उच्च जोखिममा परेको छ। कोरोना संक्रमण देखिएका ८७ जना पाँचदिनदेखि गाउँमै रहेकाले समुदायमा फैलिने खतरा रहेकाे जनाएकाे छ।

दैलेखका जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय वासिन्दाले प्रदेश र केन्द्र सरकारलाई तत्काल संक्रमण रोकथामको कदम चाल्न आग्रह गरेका छन्।  शुक्रबार जिल्ला प्रशासन कार्यालयले नारायण नगरपालिका र दुल्लु नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ।

भारतबाट भित्रिएका नागरिकमा कोरोना पुष्टि भइरहेको छ तर सङ्क्रमितहरुको व्यवस्थापन र उपचारमा ध्यान नदिँदा कोराना समुदायस्तरसम्म फैलिनसक्ने खतरा बढ्दै गएको छ। नगरभित्रका ११३ मा एकैपटक सङ्क्रमण भएपछि सुरक्षा चिन्ता बढेको हो।

शनिबार दुल्लु नगरपालिकामा २६ र महाबु गाउँपालिकामा पाँचमहिने बालिकासहित १०७ सङ्क्रमित देखिएका छन्। दैलेखमा संक्रमितको संख्या ३५२ पुगेको छ।
एक जनाको क्वारेन्टिनमै मृत्यु भइसकेको छ भने एक जना निको भएर घर फर्किसकेका छन्।

गत बिहीबार सङ्क्रमण देखिएका ११३ मध्ये ८७ जना गाउँमै छन्। उनीहरुको स्वास्थ्य अवस्था हेरेर आइसोलेसन अस्पतालमा ल्याउने  छलफल चलिरहेको छ।

जिल्ला सुरक्षा समितिले नारायण नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेकालाई एक साता कटेपछि पिसीआर परीक्षण गर्न स्वाब सङ्कलन गरेर सुर्खेत पठाएको थियो।

नतिजा आउन ढिलाइ भएपछि उक्त स्वाब जुम्ला गयो। जुम्लाबाट रिपोर्ट आउन ढिला भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेर क्वारेन्टाइनमा बसेकाको पुनः आरडिटी गरेर नेगेटिभ रिपोर्ट आएका जतिलाई घर पठायो।

घर पुगेको तीन दिन के बितेको थियो, नगरभित्रका ११३ मा सङ्क्रमण पोजेटिभ भनेर रिपोर्ट आयो। तर, क–कसको नाम हो भनेर बिहीबार साँझसम्म आएन। जिल्ला सुरक्षा समितिले आपतकालीन बैठक राख्यो, तर सङ्क्रमित अधिकांश घर पुगेका थिए।

बुधबारदेखि उनीहरू घरमै छन्। अहिले दैलेखको नारायण नगरपालिकाका विभिन्न वडामा ८७ सङ्क्रमित घरमै बसेका छन्। समस्या केही नभएका कारण उनीहरुलाई घरमै सुरक्षित राख्नेतर्फ जिल्ला सुरक्षा समिति र स्वास्थ्य कार्यालय दैलेख लागेको छ।

स्थानीय राजनीतिक दलले सङ्क्रमितमार्फत अन्य वृद्ध र बालबालिकामा सङ्क्रमण फैलिने र दैलेखको अवस्था भयावह हुने भन्दै तत्काल जिल्लाका गाउँपालिका, नगरपालिका सबै सिल गर्नुपर्ने र परीक्षणको दायरा बढाउनुपर्ने माग गरेका छन्। जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले यस्तो महामारी रोगलाई पनि सामान्यरूपमा हेरिनुले जनताको स्वास्थ्यमा खेलबाड भएको बताए। केन्द्र र प्रदेश सरकारले तत्काल दैलेखका बारेमा गम्भीर हुनुपर्ने समन्वय प्रमुख थापाले बताए।

'भारतबाट ४२ हजार आउने अनुमान छ। अहिले १२ हजार आइसकेका छन्। यही तथ्याङ्कलाई आधार मान्ने हो भने दैलेखमा धेरैमा सङ्क्रमण देखिन सक्ने जोखिम बढेको छ,' उनले भने, 'हामीले बारम्बार सरकारलाई यो कुरा जानकारी गराएका छौँ।'

अहिले कुन वडामा कति जना सङ्क्रमित पुगेका हुन्, क–कसलाई भेटे भन्नेबारेमा वडाध्यक्षलगायतलाई सुरक्षा चुनौती थपिएको छ। पिसीआर परीक्षणमा भएको ढिलाइकै कारण विभिन्न वडा र घरसम्म कोरोना सङ्क्रमण पुगिसकेको छ।

सदरमुकामको नारायण नगरपालिकामा मात्रै १९५ मा सङ्क्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा.निरञ्जन पन्तले सङ्क्रमितलाई कुनै पनि लक्षण नदेखिएको अवस्थामा घरमै सुरक्षित बस्न र फोनबाट स्वास्थ्यकर्मीले उनीहरूको अवस्था बुझ्ने काम भएको बताए। स्वास्थ्य मन्त्रालयले पनि त्यस्तै निर्देशिका जारी गरेर पठाएकाले यो विषयमा जिल्लामा छलफल भइरहेको उनको भनाइ छ।

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले प्रदेश सरकारको लापरवाहीका कारण दैलेख कोरोना ‘सेन्टर’ बन्न पुगेको बताए। “स्थानीय सरकारले क्षमताले भ्याएसम्म गरेकै हो, तर हाम्रा भौतिक पूर्वाधारको अवस्थानुसार कतिपय स्थानमा कोचाकोच गरेर राख्नुपर्ने भयो। अहिले सङ्कट उत्पन्न भएको छ, उनले भने। (रासस)

प्रकाशित मिति: १०:४८ बजे, आइतबार, जेठ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्