Kathmandu Press

कोरोना विकृति : स्थानीय तहले बाँड्न थाले आरडीटी परीक्षणको प्रमाणपत्र 

काठमाडौं, जेठ २४ : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको प्रमाणपत्र वितरण गरेको छ। 

विदेशबा....

कोरोना विकृति : स्थानीय तहले बाँड्न थाले आरडीटी परीक्षणको प्रमाणपत्र 
फाइल

काठमाडौं, जेठ २४ : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको प्रमाणपत्र वितरण गरेको छ। 

विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरी नगरपालिकाले चार अधिकारीको हस्ताक्षर गरेर प्रमाणपत्र वितरण गरेको छ। कोरोनाका कारण मुलुक आर्थिकमन्दीतर्फ धकेलिरहेका बेला एकातिर स्थानीय तहले फजुल खर्च गरेको छ भने अर्कोतर्फ विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्न भनेको आरडीटीबाट कोरोना नभएको प्रमाण पत्र बाँडेको छ।

क्वारेन्टाइनमा बस्नेहरुको आरडीटी परीक्षण गर्ने र ल्याव टेक्निसियनदेखि प्रमुख प्रशासकीय अधिकृतसम्मले हस्ताक्षर गरेर प्रमाणपत्र वितरण गरेको भेटिएको छ। नगरपालिकाले शुक्रबार आरडीटी नेगेटिभ आएका १ सय ७१ जनालाई प्रमाणपत्र वितरण गरेको छ। 

खासगरी नगरपालिकाले क्वारेन्टाइनमा बसेकाहरुको विश्वसनीय विधिबाट परीक्षण गर्ने र उपचार गर्नेमा ध्यान दिनुपर्ने हो। तर, नगरपालिकाले भरपर्दो नमानिएको आरडीटी विधिबाट परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएको प्रमाणपत्र थमाउँदै घर पठाएको छ। कतिपय विज्ञहरुले आरडीटीबाट कोरोना नेगेटिभ भएको भन्दै घर पठाउनु ‘घर घरमा कोरोना पठाउनु’ भन्दै पनि टिप्पणी गरेका छन्। 

आरडीटीको विश्वसनीयतामाथि प्रश्न उठिरहेकै बेला नगरपालिकाले वितरण गरेको प्रमाणपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरैले नगरपालिकाले फजुल खर्च गरेको भन्दै आलोचना गरेका छन्। तर, नगरपालिकाले भने फजुल खर्च नभएको दाबी गरेको छ। 

उक्त नगरका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले प्रमाणपत्र वितरण गरेर नगरपालिकाले फजुल खर्च नगरेको बताए। ‘अफिसकै प्रिन्टरमा कागज ल्याएर प्रमाणपत्र बनाएका हौं। एउटा प्रमाणपत्रको मूल्य तीन रुपैयाँ भन्दा बढी परको छैन,’ ज्ञवालीले काठमाडौं प्रेससँग भने, ‘क्वारेन्टाइनमा बसेकाहरुले बाहिरबाट आएर क्वारेन्टाइनमा बसेको र परीक्षण गरेको प्रमाण दिन माग गरेपछि प्रमाणपत्र दिएका हौं।’ 

बाहिरबाट आएका मानिसहरुलाई बाटो छेक्ने र दुव्र्यवहार समेत गर्ने क्रम बढेपछि प्रमाणपत्र दिने नगरपालिकाको बाध्यता भएको ज्ञवालीको भनाइ छ। ‘समाजमा बहिष्कारको अवस्था नआओस् भनेर आरडीटी परीक्षण गरेका हौं र प्रमाणपत्र दिएर सात दिन होम क्वारेन्टाइनमा बस्ने शर्तसहित घर पठाएका हौं,’ उनले भने, ‘हाम्रै ल्याब टेक्सिसिनहरुले रिपोर्ट प्रमाणित गर्नुभएको हो। आरडीटी नेगेटिभ आएकाहरु पनि संक्रमित हुन सक्छन् भन्नेमा हामी सचेत छौं। लक्षण देखिएमा तुरुन्तै पीसीआर परीक्षण गर्नेछौं।’

सन्धिखर्क नगरपालिकाको क्वारेन्टाइनमा बसेका ६२४ मध्ये शुक्रबार १८० जनाको आरडीटी परीक्षण गरिएको थियो। ती मध्ये १७१ को रिपोर्ट नेगेटिभ आएपछि प्रमाणपत्र दिएर नगरपालिकाले घर पठाएको छ। ९ जनाको पोजेटिभ आएकाले पीसीआर परीक्षण गर्ने तयारी भइरहेको ज्ञवालीले जानकारी दिए।
 

प्रकाशित मिति: १२:५४ बजे, शनिबार, जेठ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्