कोरोनाबाट एशियामा १२ लाख संक्रमित, ३२ हजारको मृत्यु
काठमाडौं, जेठ २२ : युरोप र अमेरिकापछि एशियामा पनि कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढिरहेको छ। झण्डै २० प्रतिशत संक्रमित एशियामा रहेका छन्।
....

काठमाडौं, जेठ २२ : युरोप र अमेरिकापछि एशियामा पनि कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढिरहेको छ। झण्डै २० प्रतिशत संक्रमित एशियामा रहेका छन्।
बिहीबारसम्म एशियामा १२ लाख ३७ हजार चार सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ। यसमध्ये ३२ हजार ६ सय १९ जनाको मृत्यु भएको छ भने अझै १४ हजार पाँच सय एक जना गम्भीर रहेका छन्।
अहिलेसम्म एशियाका ५० प्रतिशतभन्दा बढी संक्रमित निको भएका छन्। निको हुनेको संख्या सात लाख ५० हजार नौ सय ९० रहेको छ।
एशियामा सबैभन्दा बढी भारतमा दुई लाख १७ हजार पाँच सय ५४ जनामा संक्रमण देखिएको छ भने ६ हजार ९१ जनाको मृत्यु भएको छ।
दोस्रो नम्बरमा रहेको टर्कीमा एक लाख ६६ हजार चार सय २२ जनामा संक्रमण देखिएको छ भने चार हजार ६ सय नौ जनाको मृत्यु भएको छ। अहिलेसम्म टर्कीमा एक लाख ३० हजार आठ सय ३२ जना निको भएका छन्।
त्यस्तै, तेस्रो नम्बरमा रहेको इरानमा एक लाख ६० हजार ९ सय ६९ जनामा कोरोना देखिएको छ। आठ हजार १२ जनाको मृत्यु भएको छ भने एक लाख २५ हजार दुई सय ६ जना निको भएका छन्।
नेपाल कोरोना महामारी फैलिएका एशियाका देशको सूचिमा २८औं नम्बरमा रहेको छ। सबैभन्दा कम लावसमा १९ जनामा कोरोना संक्रमण देखिएको छ। त्यसमध्ये पनि १८ जना निको भइसकेका छन्।











