भारतमा एकै दिन नौ हजार संक्रमित, रक्षासचिवलाई पनि कोरोना
काठमाडौं, जेठ २२ : भारतमा गत २४ घन्टामा नौ हजार कोरोना संक्रमित थपिएका छन्। योसँगै रक्षा मन्त्रालयका सचिवलाई पनि कोरोना संक्रमण देखिएको छ।
भ....

काठमाडौं, जेठ २२ : भारतमा गत २४ घन्टामा नौ हजार कोरोना संक्रमित थपिएका छन्। योसँगै रक्षा मन्त्रालयका सचिवलाई पनि कोरोना संक्रमण देखिएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, गत २४ घन्टामा नौ हजार तीन सय चार जनामा कोरोना देखिएको हो। यो अवधिमा दुई सय ६० जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
पछिल्लो पटक थपिएका संक्रमितमा रक्षा मन्त्रालयका सचिव विजय कुमार पनि रहेका छन्। उनी भारतमा संक्रमित हुन उच्च अधिकारी हुन्।
उनी घरमा सेल्फ क्वारेन्टाइनमा बसेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या दुई लाख १७ हजार एक सय ८७ पुगेको छ। जसमध्ये ६ हजार ८८ जनाको मृत्यु भएको छ।
सबैभन्दा बढी महाराष्ट्र र दिल्लीमा कोरोना संक्रमण देखिएको छ। त्यसपछि केराला र तमिलनाडु रहेका छन्। नेपालसँग सीमा जोडिएका राज्यमा पनि संक्रमण बढ्दै गइरहेको छ।
संसारभर बिहीबारसम्म संक्रमितको संख्या ६५ लाख ८५ हजार ६ सय ६५ पुगेको छ। जसमध्ये तीन लाख ८८ हजार दुई सय ४७ जनाको मृत्यु भएको छ। अहिलेसम्म ३१ लाख ८१ हजार एक सय ३२ जना निको भएका छन्।











