त्रिरिण–मुक्ति धाम: जहाँ पितृ, ऋषि र देव ऋण तिर्ने सङ्कल्प गरिन्छ
हिन्दू धर्मशास्त्रीय मान्यताअनुसार प्रत्येक मानिसले पितृ ऋण, ऋषि ऋण र देव ऋण गरी तीन प्रकारका ऋण बोकेको हुन्छ। यही मान्यतालाई केन्द्रमा राखेर परिकल्पना गरिएको त्रिरिण–मुक्ति धाममा तीनवटै ऋणको स्मरण र पूजालाई विशेष महत्त्व दिइएको छ।
स्याङ्जा, मंसिर ७ : सामान्यतया मानिसहरू मन्दिरमा धन, सम्पत्ति, सुख, शान्ति, सन्तान र ग्रहदशा निवारणको कामना लिएर पुग्ने गर्छन् । तर स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६, मुसुरबारीमा स्थापित नवग्रहेश्वर महादेव तथा त्रिरिण–मुक्ति धामले धार्मिक आस्थालाई याचना र कामनाभन्दा माथि उठाउँदै कृतज्ञता, कर्तव्यबोध र आत्मसुधारको मौलिक सन्देश दिएको हो ।
यस धामको मूल अवधारणा भगवान्सँग केही माग्नुभन्दा आफूले जीवनमा पाएका अवसर, संस्कार, ज्ञान र प्रकृतिप्रति कृतज्ञ हुँदै जन्मजात ऋण तिर्ने तथा असल कर्म गर्ने सङ्कल्प लिनु हो। नवग्रहेश्वर महादेवको धार्मिक मान्यताले नवग्रहका प्रभावलाई भगवान् शिवको परम चेतना र कल्याणकारी शक्तिसँग जोड्दै ग्रहलाई दोष दिनुभन्दा आफ्नो कर्म र व्यवहार सुधार्न प्रेरित गर्छ।
हिन्दू धर्मशास्त्रीय मान्यताअनुसार प्रत्येक मानिसले पितृ ऋण, ऋषि ऋण र देव ऋण गरी तीन प्रकारका ऋण बोकेको हुन्छ। यही मान्यतालाई केन्द्रमा राखेर परिकल्पना गरिएको त्रिरिण–मुक्ति धाममा तीनवटै ऋणको स्मरण र पूजालाई विशेष महत्त्व दिइएको छ।
पितृ ऋणअन्तर्गत जन्मदिने आमाबुबा, पुर्खा तथा वंशपरम्पराप्रतिको सम्मान, सेवा र कृतज्ञतालाई प्राथमिकता दिइएको छ। जीवित आमाबुबाको सेवा गर्नु, दिवङ्गत पितृहरूको स्मरण गर्नु र पुर्खाले स्थापित गरेका असल संस्कारलाई निरन्तरता दिनु यसको मुख्य सन्देश हो। विशेषगरी वृद्ध आमाबुबा एक्लिँदै गएको वर्तमान सामाजिक परिवेशमा यस अवधारणाले जीवित छँदै मातापिताको सम्मान र सेवाको महत्त्व उजागर गरेको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
त्यसैगरी, ऋषि ऋणले शिक्षा, ज्ञान, सीप र संस्कार प्रदान गर्ने गुरु तथा अग्रजहरूप्रतिको सम्मान र कृतज्ञतालाई समेट्छ। आफूले प्राप्त गरेको ज्ञान र सीपलाई व्यक्तिगत स्वार्थमा मात्र सीमित नराखी समाजको हित, सत्य र मानवकल्याणमा प्रयोग गर्नुपर्ने सन्देश यसले दिन्छ।
देव ऋण तथा भूत ऋणअन्तर्गत प्रकृति, जल, वायु, माटो, वनस्पति, पशुपक्षी र समस्त जीवप्राणीप्रतिको जिम्मेवारीलाई महत्त्व दिइएको छ। धाममा जलकुण्ड, वर, पीपल, तुलसी, अमला, गौ तथा पञ्चतत्त्वको पूजा र सम्मानमार्फत प्रकृति संरक्षण तथा जीवप्राणीप्रतिको करुणाभाव जागृत गराउने अवधारणा रहेको छ।
यस धामको अर्को महत्त्वपूर्ण पक्ष आत्मशुद्धि र आत्मनिरीक्षण हो। आफ्ना गल्तीप्रति पश्चात्ताप गर्ने, गल्ती स्वीकार गर्ने, पुनः त्यस्ता कार्य नगर्ने सङ्कल्प गर्ने तथा क्षमा र परोपकारमार्फत सुधारको बाटो रोज्ने कुरालाई धार्मिक जीवनको अभिन्न अङ्गका रूपमा प्रस्तुत गरिएको छ।
धार्मिक उपासना केवल पूजापाठ र कर्मकाण्डमा सीमित हुनुहुँदैन, त्यसले मानिसको सोच, व्यवहार र आचरणमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यता यस अवधारणाको केन्द्रमा छ। अरूलाई दोष दिनुभन्दा आफ्ना कमजोरी सुधार्ने, परिवारमा बिग्रिएका सम्बन्ध सुधार्ने र समाजप्रतिको जिम्मेवारी पूरा गर्ने प्रेरणा यसले दिन खोजेको छ।

नेपालकै पहिलो नवग्रह मन्दिरका रूपमा प्रस्तुत गरिएको अर्जुनचौपारी–६, मुसुरबारीस्थित नवग्रहेश्वर महादेव तथा त्रिरिण–मुक्ति धामले धार्मिक आस्थालाई सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गरेको छ। यो मन्दिर परिसमै अर्जुनचौपारी गाउँपालिकाले नेपालमै पहिलोपटक धार्मिक होमस्टे समेत समेत निर्माण गरेको छ । जुन होमस्टेमा भक्तजनहरुले बास बस्न पाउँछन् ।
मन्दिरमा पुगेर वरदान माग्नु मात्र धर्म होइन, आफूलाई जन्म दिने आमाबुबाको सम्मान गर्नु, ज्ञान दिने गुरुको कदर गर्नु, प्रकृतिको संरक्षण गर्नु र समाजका लागि असल कर्म गर्ने सङ्कल्प लिनु पनि धर्म हो भन्ने सन्देश यस धामको मूल दर्शन बनेको छ।






