अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने रोनाल्डोको घोषणा
रोनाल्डोले पोर्चुगलका लागि खेल्ने अवसर आफ्नो जीवनकै गौरवपूर्ण अनुभव भएको उल्लेख गर्दै अब प्रतिष्ठित सात नम्बरको जर्सी अर्को पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन्।
काठमाडौं, कात्तिक २० : पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । उनले बिहीवार सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सन्देश सार्वजनिक गर्दै पोर्चुगल राष्ट्रिय टोलीबाट आफ्नो २३ वर्ष लामो अन्तर्राष्ट्रिय करियर अन्त्य गर्ने बताएका हुन् ।
रोनाल्डोले पोर्चुगलका लागि खेल्ने अवसर आफ्नो जीवनकै गौरवपूर्ण अनुभव भएको उल्लेख गर्दै अब प्रतिष्ठित सात नम्बरको जर्सी अर्को पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन्। उनले यो निर्णय भावनात्मक भए पनि आफ्नो अन्तर्राष्ट्रिय यात्राको स्वाभाविक अन्त्य भएको बताएका छन्।
सन् २००३ अगस्टमा कजाखस्तानविरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका रोनाल्डोले त्यसपछि पोर्चुगलको राष्ट्रिय टोलीको नेतृत्वसमेत गरे।
२३ वर्षको अन्तर्राष्ट्रिय करियरमा उनले २३४ खेल खेल्दै १४६ गोल गरेका छन् । पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने दुवै कीर्तिमान रोनाल्डोकै नाममा छन्।
उनको नेतृत्वमा पोर्चुगलले सन् २०१६ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यस्तै, सन् २०१९ मा यूईएफए नेसन्स लिगको उपाधिसमेत जितेको थियो । रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय करियरमा युरोपियन च्याम्पियनसिपका ६ र फिफा विश्वकपका ६ संस्करण खेलेका छन् । किशोर उमेरमा राष्ट्रिय टोलीमा प्रवेश गरेका उनी पोर्चुगल फुटबल इतिहासकै सर्वाधिक सफल खेलाडीमध्ये एक बनेका छन्।





