बूढीगण्डकी बाढीको वास्तविक कारण पुष्टि गर्न प्राविधिक अध्ययन जरुरी : अध्येता भुसाल
‘अहिले पानी परेर बाढी आएको भन्ने कुरा छ तर पानी परेर आएको भए १२ घण्टाअघिसम्म कतै पनि पानी परेको छैन भन्ने हाइड्रोपावर कम्पनीहरुकोे भनाइ छ। त्यसैले पानीका कारण होइन भन्ने छ,’ उनले भने।
काठमाडौं, असाेज २५ : वातावरण पत्रकार एवं नदी अध्येता रमेश भुसालले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढी पहिरोले नदी केही समय थुनिएर एक्कासी खुलेका कारण आएको हुन सक्ने प्रतिक्रिया दिएका छन् ।
उनले पछिल्लो पाँच वर्षमा मेलम्ची, त्रिशूली र बूढीगण्डकी क्षेत्रमा भएका ठूला विपद्का घटनाले उच्च हिमाली क्षेत्रको नियमित अनुगमन र प्रभावकारी पूर्वसूचना प्रणालीको आवश्यकता देखाएको बताए ।
अर्थ जर्नालिजम नेटवर्कका दक्षिण एसियाली संयोजकसमेत रहेका भुसालले नेपाल न्यूज बैंकसँगको कुराकानीमा बाढी आउनुअघि पानी परेको नदेखिएकाले यसको कारण वर्षा मात्र नभएको हुन सक्ने बताए।
‘अहिले पानी परेर बाढी आएको भन्ने कुरा छ तर पानी परेर आएको भए १२ घण्टाअघिसम्म कतै पनि पानी परेको छैन भन्ने हाइड्रोपावर कम्पनीहरुकोे भनाइ छ। त्यसैले पानीका कारण होइन भन्ने छ,’ उनले भने।
उनका अनुसार बाढी आउनुको सम्भावित कारण पहिरोले नदीको बहाव रोक्नु र त्यसपछि थुनिएको पानी एक्कासी बाहिरिएको हुनसक्छ । सानो हिमताल फुटेको हुनसक्ने सम्भावना पनि रहेकाले घटनाको वास्तविक कारणबारे थप अध्ययन आवश्यक रहेको उनले बताए।
उनले भने,‘प्रारम्भिक अनुमान अनुसार पहिरो गएर त्यसले नदी केहीबेर थुनियो र त्यसपछि पानी एक्कासी खुलेको हुनसक्ने एउटा सम्भावना छ । अर्को चाहिँ सानो हिमताल फुट्यो कि भन्ने हो। तर अहिलेसम्म आएको जानकारीअनुसार पहिरोले थुनिएर आयो भन्ने नै हो ।’
उनले पछिल्लो पाँच वर्षमा करिब १०० किलोमिटरको हवाई दूरीभित्र रहेका मेलम्ची, त्रिशूली र बूढीगण्डकी क्षेत्रमा ठूला बाढी तथा विपद्का घटना भएको उल्लेख गर्दै यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए ।
भुसालले यस्ता घटना वर्षा र मनसुनसँग मात्र जोडेर हेर्न नहुने बताए । उनका अनुसार उच्च हिमाली क्षेत्रमा पहिरो, चट्टान खस्ने, हिमपहिरो जाने तथा अन्य प्राकृतिक प्रक्रियाले पनि ठूलो विपद् निम्त्याउन सक्छन्।
उनले भने,‘रसुवा र अहिलेको घटनालाई हेर्दा पानी नपरेको अवस्थामा पनि ठूला दुर्घटना भइरहेका छन् । मनसुनजन्य कारण नभएर मनसुनबाहेकका अरू कारणले गर्दा पनि ठूला घटना हुन थाले । ढुङ्गा, चट्टानै खसिरहेका छन् । रसुवा र मेलम्चीमा पनि ठूलो पानी परेर होइन ी, त्यस्तै भएको छ।’
उनले उच्च हिमाली क्षेत्रमा भइरहेका परिवर्तनबारे पर्याप्त जानकारी नहुनु, आवश्यक स्रोतसाधनको अभाव हुनु तथा पानी पर्ने र नपर्ने विषयमा मात्र बढी ध्यान केन्द्रित हुनु पनि चुनौती रहेको बताए।
भुसालले विपद् हुनुअघि त्यसको सम्भावित कारण र जोखिम पहिचान गर्न सके मात्र प्रभावकारी पूर्वसूचना दिन सकिने बताए । त्यसका लागि उच्च हिमाली क्षेत्रमा अनुगमन गर्ने प्रणाली र जोखिमबारे तत्काल जानकारी दिने संयन्त्र आवश्यक रहेको उनको भनाइ छ ।
उनका अनुसार बाढीको कारण पहिचान गर्न नदीको माथिल्लो तटीय क्षेत्र, साना सहायक नदी तथा खोलामा पहिरो गएर बहाव अवरुद्ध भएको थियो कि थिएन भन्ने विषयमा अध्ययन गर्नुपर्छ।
उनले बूढीगण्डकी बाढीको वास्तविक कारण पुष्टि गर्न थप प्राविधिक अध्ययन आवश्यक रहेको उल्लेख गर्दै उच्च हिमाली क्षेत्रमा भइरहेका परिवर्तनको नियमित अनुगमन, जोखिमको पूर्वपहिचान र प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।










![हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1791704315.jpg)
