गाउँमा हिड्दा कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट
डोटी, जेठ २१ : डोटीको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ।
डोटी, जेठ २१ : डोटीको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ।
गाउँको बाटो हिँड्ने क्रममा कोरोना सङ्क्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले उनलाई गालीगलौज गर्दै ढुङ्गामुढा प्रहार गरी घाइते बनाएका हुन्। स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै बिनाकारण आफूमाथि आक्रमण गरेको घाइते अहेब कुँवरले बताए।
आक्रमण गर्ने तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले बताए। पक्राउ पर्नेमा शिखर नगरपालिका–७ का नवीन खत्री, रोशन खत्री र तेज लुहार छन्।
स्थानीयवासीको कुटपिट तथा आक्रमणबाट गम्भीर घाइते भएका स्वास्थ्यकर्मी कुँवरलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाएको थियो। डडेल्धुरामा उपचार सम्भव नभएपछि काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए।
स्वास्थ्य सामग्री लिएर दानकोट स्वास्थ्यचौकी जाँदै गरेका कुवँरमाथि उनीहरुले आक्रमण गरेका थिए। स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बोहराले बताए।
कोरोना महामारी नियन्त्रणका लागि आफ्नो ज्यानको परवाह नगरी दैनिक नागरिकको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको यहाँका स्वास्थ्यकर्मीले विरोध गरेका छन्। नेपाल स्वास्थ्यकर्मी सङ्घ डोटीले विज्ञप्ति प्रकाशित गरी घटनाको घोर भत्र्सना गर्दै दोषीलाई तत्काल कानुनी कारबाही गर्नुपर्ने माग गरेको छ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि आफ्नो कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटले समग्र स्वास्थ्य क्षेत्रमा असर पर्ने भएकाले तत्काल दोषीलाई कारबाही नगरे आन्दोलन गरिने संघले जनाएको छ। (रासस)











