बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो, मानवीय क्षति छैन
धादिङमा हालसम्म मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन्। गौतमले बाढीको सूचना प्राप्त भएपछि जिल्लाका सबै सुरक्षाकर्मी परिचालन गरिएको बताइन्।
गाेरखा, असाेज २५ : गोरखाको बूढीगण्डकी नदीमा आएका बाढी धादिङसम्म पुगेको छ । बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुल बगाएको छ भने नदी किनारका खेत तथा जग्गा कटान गरेको छ।
धादिङमा हालसम्म मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन्। गौतमले बाढीको सूचना प्राप्त भएपछि जिल्लाका सबै सुरक्षाकर्मी परिचालन गरिएको बताइन्।
स्थानीय तहसँगको समन्वयमा माइकिङ तथा सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गरी जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको उनले जानकारी दिइन्।
‘बाढीको सूचना प्राप्त भइसकेपछि सबै सुरक्षाकर्मी परिचालन गरेका छौँ। स्थानीय पालिकाहरूले माइकिङ गरेर र सामाजिक सञ्जालबाट पनि प्रचारप्रसार गरेर सबै नागरिकहरुलाई सुरक्षित स्थानतर्फ लगिएको छ,’ उनले भनिन् ।
उनका अनुसार बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुल बगाएपछि गोरखा जाने तथा चितवनलगायतका क्षेत्रसँगको सडक सम्पर्क प्रभावित भएको छ ।
‘पुल बगाएपछि गोरखालगायत विभिन्न ठाउँ र चितवनतिर जाने सबै कनेक्सन टुट्यो,’ उनले भनिन्।
बाढीमा लेदोसहित ठूला चट्टान बगेर आएको उनले बताइन् । ‘बाढी ठूलै आएको छ । लेदोसहित घरजत्रा ठूला चट्टान बगाएर ल्याएको अवस्था छ,’ उनले भनिन्।
बाढी धादिङ पार गरेर त्रिशूली नदीमा मिसिइसकेको पनि गौतमले जानकारी दिइन् । उनका अनुसार बाढीको बहाव घट्ने र फेरि बढ्ने क्रम जारी छ ।
धादिङमा नदी किनारका खेत तथा जग्गामा कटान भए पनि अन्य ठूलो भौतिक क्षतिको विवरण प्राप्त नभएको उनले बताइन् । गोरखामा भने बाढीले बस्तीसमेत बगाएको प्रारम्भिक जानकारी आएको र त्यहाँको पछिल्लो अवस्थाबारे सम्पर्क हुन नसकेको उनले उल्लेख गरिन् ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता र उद्धारसम्बन्धी तयारीलाई निरन्तरता दिएको छ।










