राष्ट्रियसभाको बैठक : नागरिकको खाद्य अधिकार सुनिश्चित गर्न माग
काठमाडौं, जेठ २० : राष्ट्रियसभाको बैठकमा सांसदले कोराना भाइरसको रोकथाम नियन्त्रण गर्दै नागरिकको खाद्य अधिकार सुरक्षा सुनिश्चित गर्न सुझाव दिएका छ....

काठमाडौं, जेठ २० : राष्ट्रियसभाको बैठकमा सांसदले कोराना भाइरसको रोकथाम नियन्त्रण गर्दै नागरिकको खाद्य अधिकार सुरक्षा सुनिश्चित गर्न सुझाव दिएका छन्।
राष्ट्रियसभाको आजको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की इन्दु कडरियाले कोरोना भाइरसका जोखिमबाट बचाउन गरिएको बन्दाबन्दीमा नागरिकले आर्थिक संकटका साथै खाद्यान्न्न नपाएको बताइन्।
'बन्दाबन्दीका बेलामा पैसा नहुँदा खाना किन्न पाएका छैनन्, नागरिकलाई खाद्य सुरक्षा गर्दै आर्थिक धराशायी हुनबाट बचाउनुपर्छ,' सांसद कडरियाले भनिन्, 'कोरानाबाट बचाउँदै नयाँ रणनीति बनाएर जनजीवन सामान्य बनाउनुपर्छ। '
'नेकपाकै सांसद कोमल ओलीले प्रदेश नं ५ का १२ जिल्लामध्ये १० जिल्लामा ६४२ संक्रमित भइसकेको र दाङमा ६ हजार जना क्वारेन्टाइनमा बसेको उल्लेख गर्दै कोरोना भाइरसको परीक्षणका लागि आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।
सोही दलकी उदया शर्मा पौड्यालले कोरोना महामारीका बेला संसद् सचिवालयलगायत सबै क्षेत्रमा काम गर्ने कर्मचारीको मनोबल उच्च पार्नुपर्ने सुझाव दिइन्। उनले विपद्का बेलामा रोजीरोटी कटौती गर्ने गरी कर्मचारी कटौती गर्न नहुने पनि बताइन्।
नेकपाका खिमकुमार विकले रकुम (पश्चिम)को घटनाका विषयमा सरकारले बनाएको उच्चस्तरीय अनुसन्धान समितिलाई सत्यतथ्य सार्वजनिक गर्न ध्यानाकर्षण गराए। सोही दलका चक्रप्रसाद स्नेहीले छोटो समयमा देशभरि नै दलितमाथि बर्बरतापूर्ण घटना भएको जनाउँदै त्यसतर्फ सरकारलाई ध्यान दिन आग्रह गरे।
नेपाली कांग्रेसकी तारादेवी भट्टले सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम बढ्दै गएको तर स्वास्थ्य सामग्री कम भएको हुँदा त्यसको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।











