Kathmandu Press

स्वस्थ जीवनका तीन आधार

आयुर्वेदले स्वास्थ्यलाई समग्र रूपमा हेर्छ। रोग लागेपछि उपचार गर्नेभन्दा स्वस्थ व्यक्तिलाई स्वस्थ राख्ने र रोगको मूल कारण हटाउने कुरामा यसले विशेष जोड दिन्छ। आयुर्वेदअनुसार वात, पित्त र कफ सन्तुलित हुनु, पाचन शक्ति (अग्नि) राम्रो हुनु, शरीरका धातु र मलहरूको सन्तुलन कायम रहनु तथा मन र आत्मा स्वस्थ हुनु नै वास्तविक स्वास्थ्य हो।
स्वस्थ जीवनका तीन आधार

आजको अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, पर्याप्त निद्राको अभाव र लामो समयसम्म रहने मानसिक तनावका कारण मोटोपना, मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोगलगायत दीर्घकालीन स्वास्थ्य समस्या विश्वभर बढिरहेका छन्। यस्तो अवस्थामा रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने स्वस्थ जीवनशैली अपनाउनु आवश्यक देखिन्छ।

आयुर्वेदले स्वास्थ्यलाई समग्र रूपमा हेर्छ। रोग लागेपछि उपचार गर्नेभन्दा स्वस्थ व्यक्तिलाई स्वस्थ राख्ने र रोगको मूल कारण हटाउने कुरामा यसले विशेष जोड दिन्छ। आयुर्वेदअनुसार वात, पित्त र कफ सन्तुलित हुनु, पाचन शक्ति (अग्नि) राम्रो हुनु, शरीरका धातु र मलहरूको सन्तुलन कायम रहनु तथा मन र आत्मा स्वस्थ हुनु नै वास्तविक स्वास्थ्य हो।

यसका लागि आयुर्वेदले दिनचर्या (दैनिक जीवनशैली), ऋतुचर्या (मौसमी जीवनशैली), त्रयोपस्तम्भ (आहार, निद्रा र ब्रह्मचर्य), योग, पञ्चकर्म तथा रसायनजस्ता सिद्धान्तलाई महत्त्व दिएको छ। यी अभ्यासले स्वस्थ बानी विकास गर्न, दीर्घायु प्राप्त गर्न र जीवनशैलीसँग सम्बन्धित रोगको जोखिम कम गर्न सहयोग पुर्यााउन सक्छन्।

पछिल्ला वैज्ञानिक अध्ययनहरूले पनि सन्तुलित आहार, नियमित शारीरिक गतिविधि, योग, तनाव व्यवस्थापन र पर्याप्त निद्रा स्वस्थ जीवनका महत्त्वपूर्ण आधार हुन् भन्ने देखाएका छन्। यसरी हेर्दा स्वास्थ्य प्रवर्द्धन, रोगको रोकथाम र सन्तुलित जीवनशैली निर्माणमा आयुर्वेदको भूमिका महत्त्वपूर्ण देखिन्छ। स्वस्थ हुनु भनेको रोग नहुनु मात्र होइन। शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनु नै वास्तविक स्वास्थ्य हो। आधुनिक चिकित्साले आकस्मिक तथा जटिल रोगको उपचारमा उल्लेखनीय सफलता हासिल गरे पनि दीर्घकालीन रोगको रोकथाम अझै ठूलो चुनौतीका रूपमा छ। त्यसैले उपचारसँगै स्वस्थ जीवनशैली र रोगको रोकथाममा विश्वभर जोड दिन थालिएको छ।

आयुर्वेदमा रोगका लक्षण हटाउने प्रयाससँगै व्यक्ति विशेषको प्रकृति, जीवनशैली, आहार–विहार र अन्य कारणको मूल्याङ्कन गरी रोगको मूल कारण पहिचान गर्ने सिद्धान्त अपनाइन्छ।

‘स्वस्थस्य स्वास्थ्य रक्षणम्, आतुरस्य विकार प्रशमनं च ।’

अर्थात् स्वस्थ व्यक्तिको स्वास्थ्यको संरक्षण गर्नु र रोगी व्यक्तिको रोगको प्रशमन गर्नु नै आयुर्वेदको मुख्य उद्देश्य हो। आज रोगको उपचारभन्दा रोगको रोकथामलाई प्राथमिकता दिने अवधारणा महत्त्वपूर्ण बन्दै गइरहेको अवस्थामा यो सिद्धान्त अझ सान्दर्भिक देखिन्छ।

4-1788254186.jpg
 

आयुर्वेद :  जीवनको विज्ञान
‘आयुर्वेद’ शब्द संस्कृतका ‘आयुः’ (जीवन) र ‘वेद’ (ज्ञान) शब्दबाट बनेको हो, जसको अर्थ जीवनको विज्ञान हो। आयुर्वेद विश्वका प्राचीन चिकित्सा प्रणालीमध्ये एक हो। यसले शरीर, मन र वातावरणबीच सन्तुलन कायम राख्दै स्वस्थ जीवन जिउने मार्ग प्रस्तुत गर्छ। यसको उद्देश्य रोगको उपचारमा सीमित नभई स्वास्थ्यको संरक्षण, रोगको रोकथाम र दीर्घायु प्राप्तिसमेत हो।

त्रिदोष सिद्धान्त
आयुर्वेद त्रिदोष सिद्धान्तमा आधारित छ। यसअनुसार शरीरमा वात, पित्त र कफ नामका तीन दोष हुन्छन्, जसले शरीरका विभिन्न कार्य सञ्चालन गर्छन्। वातले शरीरको गति, स्नायु प्रणाली, श्वासप्रश्वास तथा विभिन्न गतिविधिलाई नियमन गर्छ। पित्तले पाचन, मेटाबोलिजम तथा शरीरको तापक्रम नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छ। कफले शरीरलाई संरचना, स्थिरता र स्निग्धता प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमतामा भूमिका खेल्छ। यी दोष सन्तुलित अवस्थामा रहँदा शरीर स्वस्थ रहन्छ भने असन्तुलन हुँदा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन्। ‘समदोषः समाग्निश्च समधातु मलक्रियः। प्रसन्नात्मेन्द्रिय मनः स्वस्थ इत्यभिधीयते॥’

यसको अर्थ, जसको वात, पित्त र कफ सन्तुलित छन्, पाचन शक्ति (अग्नि) राम्रो छ, शरीरका धातु र मलक्रिया सन्तुलित छन् तथा मन, इन्द्रिय र आत्मा प्रसन्न छन्, त्यही व्यक्ति स्वस्थ मानिन्छ।

आयुर्वेदले अग्नि अर्थात् पाचन शक्तिलाई स्वास्थ्यको आधार मान्छ। अग्निले खाना पचाउने, पोषक तत्वलाई शरीरमा उपयोग गर्ने र चयापचय प्रक्रिया सञ्चालन गर्ने काम गर्छ। अग्नि सन्तुलित हुँदा शरीरले आवश्यक पोषण प्राप्त गर्छ। अग्नि कमजोर वा असन्तुलित हुँदा आयुर्वेदले ‘आम’ निर्माण हुन सक्ने र यसलाई विभिन्न रोगको कारणमध्ये एक मान्छ।

प्रमुख सिद्धान्त
आयुर्वेदले स्वास्थ्यलाई शरीर, मन, इन्द्रिय र वातावरणबीचको सन्तुलित अवस्थाका रूपमा हेर्छ। यसले दिनचर्या, ऋतुचर्या, त्रयोपस्तम्भ, पञ्चकर्म, योग तथा रसायनजस्ता सिद्धान्तलाई स्वस्थ जीवनका आधारका रूपमा प्रस्तुत गरेको छ।

Ayurbed-1-(1)-1788254159.jpg
 

दिनचर्या
दिनचर्या भन्नाले शरीर, मन र भावनात्मक स्वास्थ्यलाई सन्तुलित राख्न अपनाइने दैनिक जीवनशैली हो। नियमित दिनचर्याले शरीरको प्राकृतिक जैविक घडीसँग जीवनशैलीलाई मिलाउन सहयोग गर्छ।

दिनचर्याका मुख्य पक्षहरू : 

  • ब्रह्ममुहूर्तमा अर्थात् सूर्योदयभन्दा करिब ९० मिनेटअघि उठ्ने।
  • उठेपछि मनतातो पानी पिउने।
  • दाँत र जिब्रो सफा गरी मुखको सरसफाइ गर्ने।
  • शरीरमा तेल मालिस (अभ्यङ्ग) गर्ने।
  • आफ्नो क्षमताअनुसार नियमित व्यायाम गर्ने।
  • दैनिक स्नान गर्ने।
  • निश्चित समयमा सन्तुलित भोजन गर्ने।
  • योग, प्राणायाम तथा ध्यान अभ्यास गर्ने।
  • राति समयमै सुत्ने र पर्याप्त निद्रा लिने।

नियमित दिनचर्याले पाचन, चयापचय र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै तनाव कम गर्न र राम्रो निद्रामा सहयोग पुर्यानउन सक्छ।

ऋतुचर्या

  • मानव शरीर मौसम परिवर्तनसँगै प्रभावित हुन्छ। त्यसैले ऋतुअनुसार आहार, विहार र दैनिक बानीमा आवश्यक परिवर्तन गर्नुपर्छ। यसलाई ऋतुचर्या भनिन्छ।
  • गर्मीमा शीतल प्रकृतिका भोजन तथा पर्याप्त पानी र तरल पदार्थ सेवन गर्ने । 
  • वर्षामा ताजा, तातो र सजिलै पच्ने भोजन गर्ने । 
  • जाडोमा पोषिलो र ऊर्जा दिने आहारसँगै नियमित व्यायाम गर्ने । 

यी अभ्यास उपयोगी मानिन्छ। मौसमअनुसार लुगा, शारीरिक गतिविधि र निद्राको समय मिलाउनु पनि आवश्यक हुन्छ। 

Ayurbed-1-(2)-1788254159.jpg
 

त्रयोपस्तम्भ : स्वास्थ्यका तीन आधारस्तम्भ

आयुर्वेदले आहार, निद्रा र ब्रह्मचर्यलाई स्वस्थ जीवनका तीन आधारस्तम्भ अर्थात् त्रयोपस्तम्भ मानेको छ।

१. आहार

आहार स्वास्थ्यको प्रमुख आधार हो। शरीरलाई आवश्यक पोषण, ऊर्जा र बल प्रदान गर्ने मुख्य स्रोत भोजन भएकाले के खाने, कति खाने र कसरी खाने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। ताजा र सफा भोजन गर्ने, मौसमी फलफूल तथा तरकारीलाई प्राथमिकता दिने, सन्तुलित र पोषणयुक्त आहार खाने तथा आफ्नो पाचन शक्तिअनुसार भोजन गर्ने बानी उपयोगी हुन्छ। अत्यधिक भोजन र प्रशोधित खाद्य पदार्थको सेवन कम गर्नु पनि आवश्यक छ।

२. निद्रा

निद्रा स्वस्थ जीवनका लागि अपरिहार्य आधार हो। पर्याप्त र गुणस्तरीय निद्राले शरीरका कोष तथा तन्तुको मर्मत, स्मरणशक्ति, सिकाइ, रोग प्रतिरोधात्मक क्षमता र हर्मोनको सन्तुलनमा सहयोग गर्छ। यसले मानसिक तथा भावनात्मक स्वास्थ्यलाई पनि राम्रो राख्न मद्दत गर्छ। पर्याप्त निद्रा नहुँदा थकान, कमजोरी, मोटोपना, मधुमेह र उच्च रक्तचापको जोखिम बढ्न सक्छ। त्यस्तै चिन्ता, मानसिक तनाव तथा एकाग्रता र स्मरणशक्ति कमजोर हुने समस्या देखिन सक्छ। त्यसैले नियमित समयमा सुत्ने र पर्याप्त निद्रा लिने बानी स्वस्थ जीवनशैलीको महत्त्वपूर्ण हिस्सा हो।

३. ब्रह्मचर्य

आयुर्वेदमा ब्रह्मचर्य भन्नाले यौन संयम मात्र बुझिँदैन। यसको व्यापक अर्थ जीवनका विभिन्न पक्षमा संयम, आत्मअनुशासन र सन्तुलित जीवनशैली अपनाउनु हो। यसअन्तर्गत नैतिक र अनुशासित जीवन, भावनात्मक सन्तुलन, स्वस्थ सामाजिक सम्बन्ध, जिम्मेवार यौन व्यवहार तथा धूम्रपान, अत्यधिक मदिरा सेवन र अन्य हानिकारक बानीबाट टाढा रहने कुरा समावेश हुन्छन्।

पञ्चकर्म
पञ्चकर्म आयुर्वेदको शास्त्रीय शोधन उपचार पद्धति हो। यसको उद्देश्य शरीरमा असन्तुलित भएका दोषलाई सन्तुलनमा ल्याउन र स्वास्थ्य पुनःस्थापनामा सहयोग गर्नु हो। यसका पाँच प्रमुख विधि हुन् । वमन, विरेचन, बस्ती, नस्य र रक्तमोक्षण।

वमन चिकित्सकीय रूपमा वान्ता गराई कफ दोषको शोधन गर्ने, विरेचन रेचक औषधिको माध्यमबाट पित्त दोषको शोधन गर्ने तथा बस्ती औषधियुक्त एनिमाका माध्यमबाट विशेषगरी वात दोष व्यवस्थापन गर्ने विधि हो।  नस्य नाकमार्फत औषधि प्रयोग गर्ने र रक्तमोक्षण आवश्यक अवस्थामा गरिने विशेष उपचार हो।

उचित अवस्थामा र योग्य आयुर्वेद चिकित्सकको प्रत्यक्ष निगरानीमा गरिएको पञ्चकर्मले केही स्वास्थ्य समस्याको व्यवस्थापनमा सहायक भूमिका खेल्न सक्छ। यो सामान्य घरेलु उपचार होइन। व्यक्तिको प्रकृति, उमेर, रोगको अवस्था र समग्र स्वास्थ्य मूल्याङ्कनपछि मात्र गर्नुपर्छ।

योग, प्राणायाम र ध्यान

आयुर्वेद र योग एकअर्काका परिपूरक प्रणालीका रूपमा हेरिन्छन्। आयुर्वेदले शरीरलाई स्वस्थ राख्न जोड दिन्छ भने योगले शरीर, मन र भावनालाई सन्तुलित बनाउन सहयोग गर्छ। नियमित योग अभ्यासले शरीरको लचकता, मांसपेशीको शक्ति, सन्तुलन र सही आसन कायम राख्न सहयोग गर्छ। तनाव कम गर्न, निद्राको गुणस्तर सुधार गर्न तथा मुटु र रक्तनलीको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्न सक्छ। ताडासन, भुजङ्गासन, वज्रासन, त्रिकोणासन र शवासन सामान्य रूपमा अभ्यास गरिने आसन हुन्।

प्राणायाम श्वासप्रश्वासलाई व्यवस्थित गर्ने अभ्यास हो। अनुलोम–विलोम, नाडीशोधन र भ्रामरीजस्ता अभ्यासले तनाव व्यवस्थापन र मानसिक शान्तिमा सहयोग पुर्योउँछन् । ध्यानले मनलाई शान्त र एकाग्र बनाउन सहयोग गर्छ। नियमित ध्यानले तनाव र चिन्ता कम गर्न तथा मानसिक र भावनात्मक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ । 

रसायन

रसायन आयुर्वेदको विशेष शाखा हो। यसको उद्देश्य स्वस्थ रूपमा दीर्घायु प्राप्त गर्नु, उमेरसँग हुने क्षयीकरणलाई सन्तुलित राख्नु, शरीरको प्रतिरोधात्मक क्षमता र समग्र जीवनशक्ति कायम राख्न सहयोग गर्नु हो। रसायन चिकित्सा औषधिमा मात्र सीमित छैन। सन्तुलित आहार, स्वस्थ जीवनशैली, नियमित व्यायाम, पर्याप्त निद्रा, योग, ध्यान तथा उपयुक्त रसायन औषधिको प्रयोग पनि यसमा समावेश हुन्छ।

परम्परागत रूपमा प्रयोग हुने रसायन द्रव्यमा आँवला (अमलकी), अश्वगन्धा, गुडुची र शतावरी पर्दछन्। यस्ता औषधि व्यक्तिको प्रकृति, उमेर र स्वास्थ्य अवस्थाअनुसार योग्य आयुर्वेद चिकित्सकको सल्लाहमा प्रयोग गर्नुपर्छ।

जीवनशैलीजन्य रोगहरूमा आयुर्वेदको भूमिका

असन्तुलित खानपान, शारीरिक निष्क्रियता, अपर्याप्त निद्रा, दीर्घकालीन मानसिक तनाव, धूम्रपान र मदिरा सेवनजस्ता कारणले मोटोपना, मधुमेह, उच्च रक्तचाप र मुटुरोगजस्ता नसर्ने रोग बढिरहेका छन्।आयुर्वेदले लामो समयसम्म असन्तुलित आहार, गलत जीवनशैली र मानसिक तनाव रहँदा शरीरमा असन्तुलन उत्पन्न हुन सक्ने दृष्टिकोण राख्छ। त्यसैले यसले व्यक्तिको प्रकृति, आहार, जीवनशैली र मानसिक अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य व्यवस्थापनमा जोड दिन्छ।

Ayurbed-1-(3)-1788254159.jpg
वैज्ञानिक प्रमाण

पछिल्ला वर्षमा आयुर्वेदप्रति वैज्ञानिक अनुसन्धान र चासो बढेको छ। सन्तुलित आहार, नियमित शारीरिक गतिविधि, योग, ध्यान, प्राणायाम, तनाव व्यवस्थापन तथा पर्याप्त निद्राजस्ता जीवनशैलीका अभ्यासलाई आधुनिक अनुसन्धानले पनि स्वास्थ्यका लागि महत्त्वपूर्ण मानेको छ। योगले शरीरको लचकता र शक्ति, सन्तुलन तथा मानसिक स्वास्थ्यमा सहयोग गर्न सक्ने देखिएको छ। ध्यान र प्राणायामले तनाव र चिन्ता कम गर्न तथा निद्रा र जीवनको गुणस्तर सुधार गर्न सहयोग गर्न सक्छन्।

अश्वगन्धा, गुडुची, बेसार र आँवलाजस्ता औषधीय वनस्पतिमाथि भएका अनुसन्धानले तिनमा एन्टिअक्सिडेन्ट तथा सूजन कम गर्न सहयोग गर्ने सम्भावित गुण देखाएका छन्। पञ्चकर्मबारे पनि विभिन्न प्रारम्भिक अध्ययन भएका छन्, तर यसको प्रभावकारिता र विभिन्न रोगमा उपयोगिताबारे अझ व्यापक र गुणस्तरीय अनुसन्धान आवश्यक छ। त्यसैले आयुर्वेदिक उपचारलाई वैज्ञानिक प्रमाण र चिकित्सकीय मूल्याङ्कनसँग जोडेर अघि बढाउनु आवश्यक हुन्छ।

चिकित्सकीय अनुभव

ललितपुरको शुद्धीग्राम नेपालमा आयुर्वेद चिकित्सकका रूपमा मैले धेरै बिरामीले नियमित दिनचर्या, सन्तुलित आहार, योग, ध्यान तथा पर्याप्त निद्रा अपनाएपछि स्वास्थ्यमा सकारात्मक परिवर्तन अनुभव गरेको पाएकी छु।धेरै बिरामीले पाचनमा सुधार, मानसिक तनाव कम भएको, ऊर्जा बढेको, निद्रा राम्रो भएको तथा समग्र स्वास्थ्यमा सकारात्मक परिवर्तन आएको अनुभव सुनाउने गरेका छन्।

आयुर्वेदले स्वास्थ्यलाई रोगको उपचारमा मात्र सीमित नराखी रोग लाग्न नदिनु र स्वस्थ जीवनशैली विकास गर्नुलाई पनि महत्त्व दिन्छ। आज जीवनशैलीजन्य रोगहरू बढिरहेको अवस्थामा स्वस्थ आहार, पर्याप्त निद्रा, नियमित शारीरिक गतिविधि, मानसिक सन्तुलन र चिकित्सकीय परामर्शमा आधारित जीवनशैली अपनाउनु नै स्वस्थ जीवनतर्फको महत्त्वपूर्ण कदम हो। 

(डा. साउद सुद्विग्राम नेपालमा कार्यरत हुनुहुन्छ ।) 

प्रकाशित मिति: १४:५० बजे, मंगलबार, भदौ १६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्