Kathmandu Press

लुम्बिनी प्रदेश सरकारबाट बाहिँदै कांग्रेस

कांग्रेसले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने र समर्थन फिर्ता लिने निर्णय गरेको छ। कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मन्त्री तथा प्रमुख नेताहरूको बैठक बोलाएका छन्। 
लुम्बिनी प्रदेश सरकारबाट बाहिँदै कांग्रेस

दाङ, असार ३२ : नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकारलाई पनि धक्का लाग्ने भएको छ। लुम्बिनी प्रदेश सरकार हाल एमालेका चेतनारायण आचार्यको नेतृत्वमा छ।

कांग्रेसले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने र समर्थन फिर्ता लिने निर्णय गरेको छ। कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मन्त्री तथा प्रमुख नेताहरूको बैठक बोलाएका छन्। 

आजै दिउँसो ३ बजे बस्ने बैठकले सरकारमा रहने वा बाहिरिने विषयमा औपचारिक निर्णय गर्ने कांग्रेस एक सांसदले बताए।  

हाल आचार्य नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, आर्थिक मामिलामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरणमन्त्री देवकरण कलवार सहभागी छन्।

८७ सदस्यीय प्रदेशसभामा हाल ८३ सांसद कायम छन्। तीमध्ये एमालेका २९, कांग्रेसका २७ र नेकपाका १३ सांसद छन्। 

कांग्रेस र नेकपा एक ठाउँमा उभिए ४० सांसद पुग्ने भए पनि सरकार गठनका लागि आवश्यक ४२ मत पुर्‍याउन थप दुई सांसदको समर्थन आवश्यक पर्नेछ । यस्तो अवस्थामा राप्रपाका चार, जसपा नेपालका दुई र जनमत पार्टीका तीन सांसदको भूमिका निर्णायक बन्ने देखिएको छ।

प्रकाशित मिति: १४:५७ बजे, बिहीबार, असार ३२, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्