‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’
प्रदेश सरकार विपद् व्यवस्थापन र उद्धारकार्यमा संलग्न रही सबै सुरक्षा निकायसँग सहकार्य गर्दै विपत्ति प्रतिरोधी समाज निर्माण गर्न तयार रहेको मुख्यमन्त्री यादवको भनाइ छ।
सर्लाही, जेठ २२ : मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सबैसँग सहकार्य गरी विपद् प्रतिरोधी समाज निर्माण गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन्।
हसर्लाहीको बागमती नगरपालिका-११ कर्मैयास्थित वाग्मती नदीकिनारमा आयोजित अभ्यास हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकार्य र समन्वयमार्फत विपद्प्रतिरोधी समाज निर्माण गर्ने प्रतिबद्धता जनाए।
प्रदेश सरकार विपद् व्यवस्थापन र उद्धारकार्यमा संलग्न रही सबै सुरक्षा निकायसँग सहकार्य गर्दै विपत्ति प्रतिरोधी समाज निर्माण गर्न तयार रहेको मुख्यमन्त्री यादवको भनाइ छ। उनले मधेसले विगतमा भोगेका प्राकृतिक विपत्ति र त्यसबाट जनधनमा पुगेको क्षतिको विश्लेषण गरी आगामी कार्ययोजना तयार गर्ने दाबी गरे।
मुख्यमन्त्री यादवले नेपाली सेनाले विगतमा आमनागरिकको जनधनको क्षति न्यूनीकरणमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए। सरकारले नीतिगत निर्णय गर्ने गरेको भए पनि त्यसको कार्यान्वयनको तहमा सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाई छ।
कार्यक्रममा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नागरिकको जनधनको सुरक्षाका लागि सरकार चनाखो रहेको बताए।












