सहज वातावरणमा निर्वाचन हुनु नै लोकतन्त्रको जित हो : दाहाल
निर्वाचन सफलतापूर्वक सम्पन्न हुन लागेकोमा आफू निकै उत्साहित र खुसी रहेको उनले बताए। लोकतान्त्रिक अभ्यासलाई सफल पार्नु सबै राजनीतिक दल र नागरिकको साझा जिम्मेवारी भएकोमा उनको जोड थियो।
चितवन, फागुन २१ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘ले मुलुकमा सहज वातावरणमा निर्वाचन हुनु नै लोकतन्त्रको जित भएको बताएका छन्।
बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका–१४, शान्तिपुरस्थित नेपाल प्रहरी स्कुलको मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेका हुन्।
संयोजक दाहालले सुरुदेखि नै आफ्नो नेतृत्वको पार्टीले निर्वाचनको विकल्प नभएको अडान राख्दै आएको स्मरण गराए । यो निर्वाचनलाई उनले ‘सामान्य’ मात्र नभई ‘असामान्य’ र ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्।
निर्वाचन सफलतापूर्वक सम्पन्न हुन लागेकोमा आफू निकै उत्साहित र खुसी रहेको उनले बताए। लोकतान्त्रिक अभ्यासलाई सफल पार्नु सबै राजनीतिक दल र नागरिकको साझा जिम्मेवारी भएकोमा उनको जोड थियो।
संयोजक दाहालले सम्पूर्ण मतदाताहरूलाई ढुक्क भएर र उत्साहका साथ मतदान प्रक्रियामा सहभागी भई आफ्नो भविष्यको फैसला गर्न आग्रह समेत गरेका छन्।
उनले मुलुकमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने आँकलन गर्दै आए तापनि निर्वाचनले राजनीतिक स्थिरताका लागि बाटो खोल्ने विश्वास व्यक्त गरे।












