छलछाम गरेर संसदबाट हटायो, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं : रवि लामिछाने
‘चितवनबासीले मलाई सबैभन्दा धेरै भोट दिएर संसदमा पठाएका थिए तर छलछाम गरेर संसदबाट निकालियो। हिजो म सबैभन्दा धेरै भोट ल्याउने सांसद थिएँ, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौं,’ उनले भने।
जनकपुर, माघ ५ : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट बाहिर निकालिएको दाबी गर्दै आगामी दिनमा रास्वपालाई सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने बताएका छन्।
जनकपुरमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसद सदस्य पद गुमाउनुपरेको बताए।
‘चितवनबासीले मलाई सबैभन्दा धेरै भोट दिएर संसदमा पठाएका थिए तर छलछाम गरेर संसदबाट निकालियो। हिजो म सबैभन्दा धेरै भोट ल्याउने सांसद थिएँ, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौं,’ उनले भने।
आफूमाथि निरन्तर मुद्दा लगाइँदै आएको उल्लेख गर्दै उनले ती मुद्दाबाट नडराउने स्पष्ट पारे। ‘प्रत्येक दिन मेरो टाउकोमा मुद्दा लगाइएका छन् तर मलाई प्रवाह छैन। जनताको मुद्दा बोकेर हिँडेको मान्छे यस्ता मुद्दाहरूमा लड्दै जित्दै जान्छ। हारे हारिन्छ, जिते जितिन्छ,’ उनले भने।
उनले आफू र बालेन शाह दुवै देशको हित र जनताको चाहनाअनुसार एक ठाउँमा आएको उल्लेख गर्दै नेपालले अब गरिबी र विभेद सहन नसक्ने अवस्था आएको बताए ।