भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री
उनले नेपाल बाढी, पहिरो, आगजनी, हिमताल बिस्फोट, महामारी लगायतका विपद्बाट हरेक वर्ष प्रभावित हुने गरेको भन्दै इतिहासबाट पाठ सिक्दै आगामी दिनमा यसप्रकारको क्षति न्यूनीकरण गर्ने संकल्पको लागि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको बताए।
काठमाडौं, माघ २ : गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्प प्रतिरोधि संरचना निर्माणको लागि सरकारी निकाय, निजी क्षेत्र र गैर सरकारी संस्थाको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन्।
शुक्रबार २८औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने भन्दै त्यसको लागि सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, निर्माण व्यवसायी र समुदाय स्तरमा पूर्वतयारी, प्रतिकार्य र पुननिर्माणको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए।
‘आगामी दिनमा भूकम्प प्रतिरोधि संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाएर लानुपर्ने आवश्यकता छ। सरकारी निकाय, निजी क्षेत्र, गैर सरकारी संस्था, निर्माण व्यवसायी र समुदायी स्तरमा पूर्व तयारी, प्रतिकार्य र पुननिर्माणको क्षमता अभिवृद्धि गर्नुपर्ने छ,’ उनले भने, ‘आवश्यक उपकरणको प्रबन्ध गर्न र अति आवश्यक सामग्रिहरुको भण्डारनलाई प्रभावकारी बनाउन सबै प्रदेश र स्थानिय तहमा आपतकालिन गोदामघरको व्यवस्थापन गर्नुपर्ने छ।’
भूकम्पबाट सुरक्षित घर, समुदाय एंव राष्ट्र निर्माण सबैको जिम्मेवारी भएको भन्दै उक्त जिम्मेवारी पूरा गर्न सबैको प्रतिबद्धता आवश्यक रहेको पनि उनको भनाई छ।
उनले नेपाल बाढी, पहिरो, आगजनी, हिमताल बिस्फोट, महामारी लगायतका विपद्बाट हरेक वर्ष प्रभावित हुने गरेको भन्दै इतिहासबाट पाठ सिक्दै आगामी दिनमा यसप्रकारको क्षति न्यूनीकरण गर्ने संकल्पको लागि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको बताए।
‘नेपाल बाढी, पहिरो, आगजनी, डढेलो, चट्याङ, हिमताल बिस्फोट र महामारी लगायतका विपद्बाट हरेक वर्ष प्रभावित हुने गरेको छ। यस अतिरिक्त हामीलाई केही वर्षको अन्तरालमा भूकम्पले झस्काई रहेको छ र जनधनको क्षति गराइरहेको छ,’ उनले भने, ‘इतिहासबाट पाठ सिक्दैँ आगामी दिनमा यस प्रकारको क्षति न्यूनीकरण गर्ने संकल्प गर्ने उद्देश्यले २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउदैँ आएका छौं।’












